Monday, February 6, 2012

मेरी प्रेयसी, म गद्दार होइन

प्रेयसी सिर्जना,
कुन सम्बन्धले सम्बोधन गरौँ खै आज तिमीलाई,
हाम्रो लामो प्रेमयात्रा आज आएर
बीचबाटोमा नै अड्किन पुगेको यो क्षणमा न त
तिमीलाई आफ्नै
प्रेयसीका नाममा प्रेमका पुष्पगुच्छाहरु नै
सुम्पिन सक्ने अवस्थामा छु, न त तिमीलाई
प्रेयसी नै सम्बोधन गर्न सक्ने अवस्थामा छु ।
तिमीले हाम्रो प्रेमको अस्तित्वलाई
धरापमा पारी मलाई नै
गद्दारको उपमा दिएर
हिँडिरहेको बेला कसरी सम्बोधन गरौँ,
असमञ्जसमा छु यद्यपि मेरो हृदयमा तिम्रो नै
बास
भएको अवस्थामा फेरि पनि मेरो मनको हृदयबाट
लाखौँलाख शुभकामना है !
प्रेयसी, तिमीले गाउँघरमा सिर्जन गद्दार
भयो भन्दै हिँड्न थालेकी छौ रे ! मेरो नामलाई
आजभोलि सुन्न पनि चाहन्नौ भन्ने
हाम्रो बालसखा सुलभबाट थाहा पाएँ, साह्रै
नमज्जा लाग्यो ।
हिजो दुश्मनका कयाँै ट्रेञ्चहरु
कब्जा गर्दा जोडिएको हाम्रो प्रेम
त्यति फितलो थियो जस्तो त मलाई
लागेको थिएन, यद्यपि आज किन तिमीले मलाइ
गद्दार भन्दै हिँडेकी छौ; मैले बुझ्न सकेको छैन ।
त्यो देउराली, त्यो भञ्ज्याङको याद
तिमीलाई पनि अझै ताजै होला ।
मुक्ति या मृत्युको शपथ खाएर युद्धका अनेक
मोर्चामा मृत्युसँग पौँठेजोरी खेल्दै
हिँड्दा गाँसिएको हाम्रो प्रेम यति कमजोर त
पक्कै थिएन । तिमीले मलाई
लगाएका आरोपमा कति सत्यता छन्, ती त
समयले नै देखाउने छन् तर पनि म तिमीलाई
यही पत्रमार्फत आग्रह गर्न चाहन्छु
कि हाम्रो प्रेमको सफलता हेर्न
नचाहनेहरुलाई तिम्रा हरेक क्रियाकलापहरुले
साथ दिइरहेका छन् ।
ख्याल गर सिर्जना जब हामीले
वर्गयुद्धमा प्रेमको शपथ लिएका थियौँ,
हामीले
त्यतिबेला भनेका थियाँै कि हामी वर्गीय
मुक्तिसँगै हाम्रो प्रेमलाई पनि अन्तिम
सफलतासम्म पु¥याउने छाँै र
यो पनि भनेका थियौँ कि हामीमा जति धेरै
तिक्तता आए पनि हाम्रो प्रेममा त्यसले कुनै
असर गर्ने छैन तर आज यी सब वाचाहरु
कता हराए, मलाई जवाफ चाहिएको छ
मेरी प्रेयसी ।
तिम्रो आरोप छ कि म सहर पसेर
तिम्रो भावनामाथि खेलवाड गरँे र
वर्गयुद्धका उपलब्धिहरुलाई भुलेर
दक्षिणपन्थी भासमा फसँे । सिर्जना, म
यस्तो कदापि होइन । न त म
दक्षिणपन्थी भासमा फस्न सक्छु, न त म
हाम्रो प्रेमको कसम खाँदै जनतासँग
गरेका वाचाहरुलाई नै भुलेको छु । तिमीलाई
थाहै होला, युद्ध मैदानबाट फर्कंदा थकाइले
लखतरान् भएका हामीलाई मकै भुटेर
ती बूढीआमाले मोहीसँग खान दिएको !
यो पनि त भुलेकी छैनौ होला नि तिमीले
ती आमाले छुट्टिने बेलामा भनेको कुरा– ‘बाबु,
तिम्रो यात्रा सफल होस् र अब त तिमीहरुले
शान्ति पनि त ल्याउनुपर्छ ।’
हो सिर्जना, त्यस्तै
बूढीआमाका आस्थाका केन्द्र हौँ हामी, तिनै
बूढीआमाको भोटले म आज यहाँ आएको छु । युद्ध
रोकिएपछि तिमी गाउँ पस्यौ, म
राजनीति गर्न सहर पसँे । तिमीलाई
यसमा पनि शंका भयो, कतै तिम्रो सिर्जन
सहरको फोहोरबीच हरायो भनेर तर
तिम्रो प्रेम त्यति कमजोर थियो र
सिर्जना ? म कदापि पनि गद्दार हुन सक्दिनँ,
किनकि मलाई ती बूढीआमाले
ख्वाएको मकैको ऋण तिर्न बाँकी छ ।
युद्धमैदानमा लड्दालड्दै
ढलेका ती सहयात्री साथीहरुको रगतको मूल्य
तिर्नुछ । मैले भुलेको छैन प्रेयसी, ती बूढीआमाले
मलाई बिदाइ गर्दा आँसु झार्दै भनेको कुरा ।
उनले भनेकी थिइन्– ‘बाबु, तिमीले
गरिबको पसिनाको मूल्य दिनुपर्दछ ।’
सिर्जना, हो म त्यसैका लागि लडिरेहको छु तर
यसमा तिम्रो पनि त साथ चाहिन्छ नि ।
तिम्रो साथबिना म एक्लै कहाँ यी सब
वाचाहरु पूरा गर्न सक्छु र ?
यो बेलामा सिर्जना तिमी र ममा फाटो आउनु
भनेको हामीले ती बस्तीमाझ गरेका सम्पूर्ण
वाचा, कसममाथि तुषारपात गर्नु हो ।
हाम्रो बिछोड चाहनेहरु यतिबेला सर्वत्र
लागिपरेका बेला तिमी र म मिल्नुको विकल्प
म देख्दिनँ ।
आऊ सिर्जना,
हाम्रा कमीकमजोरीको आत्मसमीक्षा गराँै र
हाम्रो एकताको सन्देश संसारलाई बाँडौँ ।
संसारले हाम्रो प्रेमलाई
नमुनाका रुपमा हेरिरहेको अवस्थामा हाम्रो
सफल प्रेमको नवीन उदाहरण दिनुछ । संसारभर
रहेका लाखाँै उत्पीडित प्रेमीप्रेमिकालाई
मिलनको सन्देश दिनुछ । हाम्रो मिलनले नै
संसारले नवीन प्रेमकथा पाउने छ ।
त्यसैले आऊ प्रेयसी, एक पटक
फेरि हामीबीचको तिक्तताको हिलोलाई
पखाली सफल प्रेम–कहानीको रचना गराँै ।
ल त सिर्जना आजलाई यत्ति नै,
फेरि पनि नयाँ–नौलो भए यो सहरको चार
दिवारबाट पत्र अवश्य नै कोर्नेछु, अहिलेलाई
बिदा !
असीम प्रेमका साथ उही तिम्रो
प्रिय सिर्जन

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी