न उपलब्धीमुलक काम, न फुर्सद
काठमाडौं । संविधानसभा भंग भएपछिका बितेका १५ दिनमा दलका नेताहरुले देखिने गरी एउटा पनि उपलव्धीमुलक काम गरेका छैनन् । तर उनीहरु केही नगरी चुप लागेर बसेका पनि होइनन् । १४ गते मध्यरातमा मलामीबाट फर्केको मूड बनाएर सुत्न हिंडेका उनीहरु भोलिपल्ट बिहानैदेखि दौडधूपमा व्यस्त छन् । तर यो दौडधूप जेठ १४ अघिका दिनमा जस्तो सहमति र संविधान निर्माणका काममा होइन, एकअर्का बिरुद्ध मोर्चाबन्दी र आरोपप्रत्यारोपमा खर्च भएको छ । पहिले पार्टीका आन्तरिकभन्दा सामुहिक भेटवार्तामा व्यस्त भएका उनीहरुलाई पार्टीभित्र अल्झेर बसेका समस्या केलाउने समय पनि यहीबेला जुरेको छ । त्यसैले दुई धु्रवमा बाँडिएका दल र नेताहरु एकअर्काको आरोपप्रत्यारोप सँगै पार्टीभित्रको आन्तरिक काममा व्यस्त छन् ।को के गर्दैछन् ?
जेठ १४ अघि सहमति खोज्न सिंहदरबार, बालुवाटार, बानेश्वर र बिभिन्न रिसोर्ट होटल चाहार्ने मुख्य दलका शीर्ष नेताहरु यतिबेला दुई कित्तामा बाँडिएका छन् । मुख्य चारदलमध्ये एकीकृत नेकपा माओवादी र मधेसी मोर्चा एकातिर तथा कांग्रेस र एमाले अर्कातिर छन् । संविधान बन्न नसक्नुको दोष एकअर्कालाई लगाइरहेका दुवै थरीले आआफ्नो कित्ता बलियो बनाउन उसैगरी मोर्चाबन्दी बलियो बनाएका छन् । मुख्य सबै दलभित्र आन्तरिक समस्या पनि उत्तिकै गहिरो छ । त्यसैले फुर्सदमा खुलामञ्च र अरु सभासमारोहमा पुगेर उनीहरु एकअर्कालाई धित मर्नेगरी गाली गर्छन् । फेरि आफ्नै पार्टीको आन्तरिक छलफलमा व्यस्त हुन्छन् ।
बिघटित संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले कुटनीतिक, राजनीतिक भेटसँगै पार्टीको अन्तरबिरोध मिलाउने काममा बढी व्यस्त हुनुहुन्छ । संविधान निर्माणको बेला केही नरम देखिएका प्रचण्ड अहिले फेरि विपक्षी दलहरुलाई मुखमा आएजति गाली गर्ने काममा पनि लाग्नुभएको छ । केही दिनअघि उहाँले राजधानीको एउटा कार्यक्रममा यसैगरी कांग्रेस-एमालेलाई गाली गर्नुभयो । अब शुक्रबार राजधानीमा हुने पार्टीको आमसभामा पनि यसैगरी विपक्षी दलको हुर्मत लिने तयारीमा रहनुभएको उहाँ निकट स्रोतले जनाएको छ । यससँगै पार्टीभित्रको आन्तरिक समस्याले पनि उहाँलाई निकै पिरोलेको छ । झण्डै वर्षदिन अघिदेखि पार्टीभित्र प्रतिपक्षको भूमिका निभाउँदै आएको उपाध्यक्ष मोहन वैध किरण पक्षधर छुट्टै पार्टी खोल्ने तयारीमा लागेकाले सकभर मिलाउने प्रयासमा प्रचण्डको ध्यान यतिबेला यसतर्फ पनि केन्दि्रत भएको छ ।
कांग्रेस र एमालेका शीर्ष नेताहरु पनि पार्टीभित्रको आन्तरिक समस्या हल गर्ने काममा बढी व्यस्त छन् । एमालेका असन्तुष्ट जनजाति र मधेसी नेताहरु पार्टी फुटाएरै हिंड्ने प्रयासमा लागेपछि शीर्ष नेताहरु उनीहरुलाई मनाउने र फकाउने अभियानमा छन् । यसै अनुसार आउँदो असार ४ र ५ गते कार्यकर्ता भेला बोलाइएको छ । भेलाअघि अहिले दिनहुँजसो पार्टीभित्र छलफल भैरहेको छ । अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेताहरु माधवकुमार नेपाल र केपी ओली लगायतका नेताहरुको ध्यान अहिले यतैतिर बढी केन्दि्रत भएको छ । माओवादी र सरकार बिरुद्ध हुने छलफल र कार्यक्रम पनि उनीहरुले छुटाएका छैनन् ।
नेपाली कांग्रेसभित्रको अवस्था पनि यही हो । बल्ल फुर्सद भएजस्तो संयुक्त बैठक बसेर भ्रातृसंस्था सम्बन्धी पुरानो विवाद हल गर्ने काममा सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र नेता शेरबहादुर देउवा लगायतका नेताहरु लागेका छन् । एमालेमा जस्तै उनीहरुलाई पनि सरकार र माओवादी बिरुद्धका कार्यक्रममा पनि ध्यान दिनुपर्ने बाध्यता छ ।
विपक्षी दलहरुसँग सल्लाह नै नगरी एकतर्फी रुपमा अर्को चुनाव घोषणा गरेको भनेर आरोप खेप्दै आएका प्रधानमन्त्री डा. बाबुराम भट्टराई आफ्नो कदम ठीक थियो भन्ने पुष्टी गर्न राजनीतिक र कुटनीतिक पहलमा व्यस्त हुनुहुन्छ । पूर्व प्रधानमन्त्री सहित विपक्षी दलका मुख्य दलका नेताहरुलाई एकसरो भेटेर पनि खासै उपलव्धी हासिल नभएपछि सोमबार उहाँले बिभिन्न देशका राजदूतलाई भेट गर्नुभयो । विपक्षी दलले राजीनामाको लागि दबाब दिएपनि आफ्नै नेतृत्वमा सहमतीय सरकार गठन गरेर मंसिर ७ मै चुनाव गराउने अभियानलाई उहाँले निरन्तरता दिने प्रधानमन्त्रीको तयारी छ । यतिबेला बजेट र अरु कामको लागि अध्यादेश बनाउने कामले पनि उहाँलाई हैरान बनाएको छ ।
सरकारमै रहेका मधेसी मोर्चाका नेताहरुमध्ये उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई अरुलाई भन्दा बढी धपेडी छ । माओवादीकै बोलीमा हो मा हो मिलाउँदै कांग्रेस-एमालेलाई आलोचना गर्नुपर्ने एकातिर, सरकारको काम अर्कोतिर । त्यसमाथि शरतसिंह भण्डारी लगायतका पार्टी नेताहरु चोइटिर हिंडेको अर्को पीर । संविधानसभा भंगले सबैभन्दा बढी घाटा आफूलाई परेको गच्छदारको बुझाई छ ।
संविधानसभा भंगसँगै पद गुमाएका निवर्तमान सभामुख सुवासचन्द्र नेम्वाङ यतिबेला फुर्सदिलो हुनुहुन्छ । स्रोतका अनुसार संविधानसभा पुनस्र्थापना होला कि भन्ने झिनो आशा उहाँसित बाँकी नै छ । उहाँ अहिले पनि सरकारी निवास बालुवाटारमै हुनुहुन्छ । सरकारले उहाँलाई केही दिन त्यहीँ बस्न भनेको छ । तर उहाँले मान्नुभएको छैन । उहाँ निकट स्रोतका अनुसार नेम्वाङ यतिबेला भाडाको घर खोज्दै हुनुहुन्छ । तर भनेजस्तो घर भेट्नुभएको छैन । एमालेले उहाँलाई कुनै एक महत्वपूर्ण जिम्मेवारी दिने तयारी गरेपनि त्यो के हुने हो भन्ने अझै निक्र्योल हुन सकेको छैन । संविधानसभाको अर्को चुनाव हुने पक्का भयो भने उहाँ एमालेको राजनीतिमा फेरि सकृय हुने तयारीमा हुनुहुन्छ ।
ऊबेला संविधान निर्माणको काममा सकृयमध्ये एक संवैधानिक समितिका सभापति निलाम्बर आचार्यलाई सबैभन्दा बढी फुर्सद मिलेको छ । ‘म त घरमै आराम गरेर र अध्ययन गरेर दिन बिताइरहेको छु’ अनलाइनखबरको जिज्ञासामा आचार्यले भन्नुभयो ।
सभासद कोही घरतिर, कोही अलमलमै
संविधानसभा भंगसँगै महिनामा झण्डै ५० हजारको आम्दानी गुमेको छ, सभासदहरुको । यो महिनासम्म त बिग्रेको छैन । अर्को महिनादेखि भने त्यसै राजधानीमा बस्न नसकिने भएपछि केही सभासद पोकोपुन्तुरो बोकेर जिल्ला फर्किसकेका छन् । ‘मैले त सबै सामान चितवनस्थित घरमा पुर्याइसकें’ नेकपा मालेबाट सभासद भएकी पार्वती महतोले भन्नुभयो -’अब घरमै बसरे घरायसी कामसँगै समाजसेवा र राजनीतिमा सकृय हुन्छु ।’
राजधानीमा अरु कुनै कामधन्दा र व्यापार व्यवसाय नभएका तथा पार्टीमा ठूलो पदमा पनि नरहेको प्रायः सबै सभासदको अवस्था यस्तै हो । कोही पार्टी कामको सिलसिलामा राजधानी भएपनि धेरैजना आफ्नो क्षेत्र फर्किसकेका छन् । ‘म त अब पार्टीको संगठनभित्र काम गर्ने हिसाबले आफ्नै कार्यक्षेत्र हेटौंडा फर्किसकें’ एकीकृत नेकपा माओवादीबाट सभासद भएकी कुमारी मोक्तानले भन्नुभयो ।
संविधानसभामा आउनुअघि राजनीति भन्दा अरु नै काममा व्यस्त भएकाहरुलाई न राजनीति छाड्न सजिलो छ, न राजनीतिमा लागेर टिक्न । ‘अब राजनीति छाड्ने कुरा पनि भएन, त्यसैले राजनीतिसँगै पहिले गर्ने गरेको समाजसेवालाई पनि निरन्तरता दिन्छु’ एमालेबाट सभासद भएकी दाङकी शान्ता चौधरीले भन्नुभयो ।
कोही सभासदलाई भने अझै संविधानसभा पुनस्र्थापना हुन्छ कि भन्ने झिनो आशा बाँकी नै छ । त्यसैले एकथरी काम नभएपनि राजधानीमै छन् । त्यसमाथि पार्टीभित्र आन्तरिक छलफल र बैठक पनि भएकाले केही दिन राजधानीमै बस्ने र अवस्था हेरेर जिल्ला र्फकने पूर्व सभासदहरुको योजना छ । यीमध्ये सबैले राजनीति नछाड्ने बताएपनि आयआर्जनको लागि धेरैले व्यापार व्यवसाय गर्ने मनस्थिति बनाएका छन् ।
No comments:
Post a Comment
Thanx for your comment