Friday, August 31, 2012

हेटौँडा अस्पतालमा विशेषज्ञ चिकित्सक अभाव

हेटौँडा । मकवानपुर जिल्लास्थित हेटौँडा अस्पतालमा दरबन्दीअनुसारको विशेषज्ञ चिकित्सक उपलब्ध नहुँदा जिल्लाको दुर्गम क्षेत्रबाट स्वास्थ्योपचार गर्न आएका बिरामीले यहाँ निकै कठिनाइ बेहोर्नुपरेको छ ।
अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टसहित सात चिकित्सकको दरबन्दी रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टबाहेक केही वर्षदेखि छजना चिकित्सक रिक्त रहँदैआएको थियो ।
सो अस्पतालमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एक, बालरोग विशेषज्ञ एक एवम् मेडिकल अधिकृत चार गरी छ चिकित्सकको अभाव हुनाले बिरामीको उपचारमा कठिनाइ भएको हो ।
जिल्लाका विभिन्न गाविसबाट स्वास्थ्योपचारका लागि अस्पतालमा आएका अधिकांश बिरामी विशेषज्ञ चिकित्सकको सेवाको अभावमा थप स्वास्थ्योपचारका लागि भरतपुर, वीरगन्ज र काठमाडौँतर्फ जान बाध्य भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका परिवार नियोजन अधिकृत डा गणेश पौडेलले बताउनुभयो । उक्त अस्पतालमा अधिकांश बालबालिका, शिशु, महिलाका विभिन्न रोग, प्रसूति सेवा, पेट, छाती र टाउको दुख्ने बिरामी आउने गरेका छन् ।
अस्पतालमा अहिले सरकारी अनुदानबाट ५० शय्या तथा हेटौँडा अस्पताल विकास समितिद्वारा स्थापना गरिएको ५० शय्यासहित १०० शय्या छन् । समितिद्वारा हाल तीनजना चिकित्सक करारमा राखिएको अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो ।
जिल्ला अस्पतालमा अहिले काठमाडौँबाट प्रशिक्षार्थी चिकित्सकका रूपमा पाँचजना केही महिनायता खटिएका छन् । ती चिकित्सक पनि हेटौँडा अस्पतालबाट काजमा अन्य अस्पतालमा खटिने गरेकाले हेटौँडा अस्पतालमा उपचारमा थप जटिलता आएको जिल्ला स्वास्थ्य कार्यालयबाट थाहा भएको छ ।
पूर्वपश्चिम राजमार्ग एवम् त्रिभुवन राजपथमा बढ्दो सवारी चापका कारण दैनिकजसो सडक दुर्घटनामा परी घाइते भएका अधिकांश यात्रु स्वास्थ्योपचारका लागि हेटौँडा अस्पताल आउने गरेका छन् । चिकित्सकको पर्याप्त अभावमा अस्पतालमा तत्कालै सामान्य उपचार मात्र गरेर थप स्वास्थ्योपचारका लागि भरतपुर र काठमाडौँतर्फ पठाउने गरिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख डा सञ्जीव सिंहले बताउनुभयो ।
हाल हेटौँडा अस्पतालमा प्रसूति सेवामा आएका बिरामीलाई अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सिंहले प्रसूति सेवा पु¥याइरहनुभएको अस्पतालले जनाएको छ ।
जिल्लाको एक मात्र हेटौँडा अस्पतालमा दरबन्दीअनुसारका विशेषज्ञ चिकित्सकसहित अन्य चिकित्सक यथाशीघ्र उपलब्ध गराइदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागमा जिल्ला प्रशासन कार्यालय र जिविस मकवानपुरमार्फत तीव्र पहल भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा सिंहले राससलाई बताउनुभयो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी