Friday, August 3, 2012

पहिराले घर पुरिँदा चारको मृत्यु

गुल्मी । पहिराले पुरेर गुल्मीमा चार जनाको मृत्यु भएको छ । ठूलोलुम्पेक गाविस–२ ढुङ्गाचाल्ने निवासी घनश्याम विकको घरको माथिबाट पहिरो जाँदा विकका श्रीमती र छोराछोरी गरी चार जनाको मृत्यु भएको हो । घटनामा दुईजना घाइते भएका छन् ।
बिहीबारदेखि परेको अविरल वर्षाका कारण घरमाथिबाट गएको पहिराले पुरेर घनश्यामकी ३९ वर्षीया श्रीमती भूमि, १३ वर्षका छोरा सन्तबहादुर तथा छोरीहरु नौ वर्षीया मुना र पाँच वर्षकी विपनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घनश्याम र अर्का एक छोराको भने जीवितै उद्धार गरिएको स्थानीय नेत्र रानाले जानकारी दिनुभयो । उनीहरु बाहिर काम गरी बिहान करिब ८ बजे बिहानको खाजा खान घरभित्र छिरेका थिए ।
ठूलोलुम्पेक सदरमुकाम तम्घासबाट ३६ किलोमिटर टाढाको दुर्गम गाविस हो । घटनाको जानकारी आएलगत्तै इलाका प्रहरी कार्यालय रिडी र मजुवा प्रहरीचौकीबाट प्रहरी टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घटनास्थलमा मोटरबाटो पनि नभएको र अति नै दुर्गम भएकाले प्रहरी टोली पुग्न समय लाग्ने बताइएको छ ।
बाढीले बगाएर बालकको मृत्यु
यसैबीच अविरल वर्षासँगै आएको बाढीले बगाउँदा शुक्रबार फलेवासस्थित देवीस्थान गाविसमा एक बालकको मृत्यु भएको छ ।
बाढीले बगाउँदा देवीस्थान गाविस–६ का चन्द्रबहादुर सुनारका पाँच वर्षीय छोरा प्रवेशको मृत्यु भएको हो । दिउँसो १२ बजे दोविल्ला फलेवास सडकको नालीमा आएको बाढीले बालकलाई बगाएको र सोही गाविस धारापानीमा उनलाई मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय, पर्वतले जनाएको छ ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी