Sunday, September 2, 2012

कपडा सिलाउने मजदुरको सङ्कट

कावासोती । कपडा सिलाउने सीप भएका मजदुर बजारमा नपाइँदा यस व्यवसायमा दक्ष मजदुरको सङ्कट परेको छ ।
रोजगारीका लागि हजारौँ युवा विदेश जाने गरेपनि स्वदेशमै रोजगारीका लागि ध्यान नहुँदा दक्ष व्यक्ति पाउन मुस्किल भएको नेपाल कपडा तथा सिलाइ व्यवसायी सङ्घ नवलपरासीका अध्यक्ष रूपेशकुमार नेपालीले बताउनुभयो ।
सरकारी तथा गैरसरकारी निकायले सीपमूलक तथा आयआर्जनका लागि दिइने तालिम प्रमाणपत्र लिनका लागिमात्र भएकाले बजारमा दक्ष जनशक्ति नपाइने गरेको हो । नेपाली चोली, दौरा सुरूवाल सिलाउन जान्नेको सङ्ख्या जिल्लामा पाउनै मुस्किल भएको उहाँले बताउनुभयो ।
आफ्नै पोसाक सिलाउने सीप नहुँदा आयातित रेडिमेट कपडामा रमाउने अवस्था आएको छ  । नवलपरासीमा रहेका ४०० सिलाइकटाइ केन्द्रहरुमध्ये आधामा दक्ष जनशक्तिको अभावमा काम गर्न कठिनाइ भएको नेपाल कपडा तथा सिलाइ व्यवसायी सङ्घले जनाएको छ ।
जिल्लामा सिलाइका क्षेत्रमा झन्डै चार हजार मजदुरमध्ये सीपमा निखार भएका व्यक्ति कम हुँदा ग्राहकको चाहना पूरा गर्न सकिएको छैन सङ्घका सचिव मन्सुर अलीले भन्नुभयो, ‘टेलिभिजन र पत्रपत्रिकाको विज्ञापन हेरेर त्यस्तै अपेक्षा लिने ग्राहक पसलमा आउँदा दक्ष जनशक्तिको अभावमा सेवा दिन सक्दैनौँ ।’
‘सीप सिकेपछि विदेश पलायन हुन्छन्’ नवलपुर टेलर्सका सञ्चालक शिवराम थनेतले भन्नुभयो । विदेशबाट रेमिट्यान्स भित्रिए पनि त्यो पैसा विदेश नै जाने गरेको उहाँ भन्नुहुन्छ ।
विदेशबाट रेडिमेट कपडा आउँछ त्यसैलाई महँगोमा किनेर लगाउनुपर्छ कसरी राष्ट्रको उन्नति हुन्छ अध्यक्ष नेपालीले  भन्नुभयो ।
घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला विकास समिति र गाविसहरुले दिने सिलाइको तालिम प्रभावकारी बनाउन सकेमात्र पनि केही सीप भएका मजदुर पाइनेछ । थोरै सीप जानेकालाई मात्र दक्ष बनाउनका लागि तालिम दिने गरेको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका प्रमुख श्रीधर पन्थीले बताउनुभयो ।
‘सिलाइमा सीप भएका मजदुर भए जिल्लामा दुई हजार खपत हुने अवस्था रहेको छ’, उहाँले भन्नुभयो, ‘कामदारको अभावमा भनेका बेला तयारी माल दिन सकेका छैनौँ ।’

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी