Wednesday, May 2, 2012

‘विद्यालय जाऔं’ अभियानमा तीव्र विवाद

अखिल क्रान्तिकारीमा पार्टी गुटको प्रभाव   
 विधुर ढकाल
भरतपुर । ‘जनताका छोराछोरी सबै अखिल क्रान्तिकारी’ भन्ने नारा लिएर सबै विद्यार्थीलाई एउटै झण्डामुनि गोलबन्द गर्छाैं भन्दै हिँड्ने अखिल क्रान्तिकारी चितवनमा अहिले गुट उपगुटका कारण पानी बाराबारको स्थिति उत्पन्न भएको छ । एकीकृत नेकपा माओवादीभित्र देखिएका तीन गुटको प्रभाव यसको भ्रातृ संगठनमा पनि परेको हो ।
पछिल्लो समयमा बुधबारबाट अखिल क्रान्तिकारीको केन्द्रीय निर्णयअनुसार सुरू गर्ने भनेको ‘विद्यालय जाऔं’ अभियानले संगठनभित्र झन् झगडाको बीउ छर्ने काम गरेको छ । जसका कारण जिल्लामा एकै समिति रहे पनि अभियान भने फरकफरक गुटले छुट्टाछुट्टै लैजाने भएका छन् ।
मंगलबार भरतपुरको नारायणी उच्च माविबाट ‘प्रचण्ड’ पक्षीय विद्यार्थीहरुले अभियान सुरू गर्दा वैद्य समूहका विद्यार्थीहरु त उपस्थित भएनन् नै प्रचण्डनजिक बाबुराम भट्टराई पक्षीय विद्यार्थीले समेत बहिस्कार गरेको जनाएका छन् ।
बाबुराम पक्षीय जिल्ला सदस्य विनोद पौडेलले भने, ‘प्रचण्ड पक्षका साथीहरुले एकलौटी ढङ्गले कार्यक्रमअगाडि बढाउने निर्णय गर्नुभयो, हाम्रो त्यसमा विमति हो, हामीले छलफल गरिरहेका छौं ।’
अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष रुद्र भट्टराईको समूहले पनि अभियानलाई छुट्टै लैजाने बताएको छ । यसबारेमा उनीसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन । अध्यक्ष भट्टराई नेतृत्वको समूहले गरेका हरेक निर्णय र सहमतिको विरुद्धमा प्रचण्ड पक्षीय उपाध्यक्ष दीपक भुषालले विरोध गर्दै विज्ञप्ति जारी गर्ने गरेका छन् ।
चितवनमा भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्धको आन्दोलन, नर्सिङ कलेजको आन्दोलन, निजी विद्यालयको शुल्कवृद्धिको आन्दोलनमा वैद्य पक्षीय क्रान्तिकारी संयुक्त विद्यार्थी संघर्ष समितिसँगै आन्दोलनमा देखिएको छ भने अन्य समूह एकलरुपमा अगाडि बढेका छन् ।
अखिल क्रान्तिकारीभित्रको यो विवाद अहिलेको भने होइन, यसको जिल्ला सम्मेलनदेखि विवादको आगो सल्किएको देखिन्छ । सम्मेलनताका सप्तगण्डकी बहुमुखी क्याम्पसमा भएको विवादले जिल्ला सम्मेलनसमेत प्रभाव पार्ने काम ग¥यो । विवाद सिद्धान्तमा नभएर नेतृत्वमा अल्झियो ।
सम्मेलनमा नै प्रमुख अतिथि भएर आएका केन्द्रीय अध्यक्ष हिमाल शर्माको विरुद्धमा नारा पनि लगाइयो । घटनाको छानविन गर्न भन्दै आएका उपाध्यक्ष जागृत रायमाझी, केन्द्रीय सचिवालय सदस्य रत्न ढकाल र मानुषी यमी भट्टराईको टोली छानविन टोलीमै सीमित भएको बाबुराम पक्षको नेतृत्व गरिरहेका जिल्ला सदस्य पौडेलको आरोप छ ।
समानान्तर कमिटीहरुको गठन नभए पनि एक पटक पनि पूर्ण बैठक बस्न नसकेको अर्का जिल्ला सदस्य दिलीप पौडेलले बताए । फरकफरक समूहका बैठक बसी फरकफरक कार्यक्रम लिएर जाने गरेका छन् उनीहरु । जसको परिणाम स्वरुप अखिल क्रान्तिकारीले आयोजना गरेको अन्तरकलेज फुटबल प्रतियोगितामा असहमति जनाउँदै प्रचण्ड पक्षीय तथा बाबुराम पक्षीय समूह सहभागी भएनन् ।
सोमबारमात्र मित्रमणि दिवसको कार्यक्रममा सहभागी हुन आएका संगठनका केन्द्रीय उपाध्यक्ष जागृत रायमाझीको कार्यक्रममा वैद्य पक्षीय विद्यार्थी सहभागी भएनन् । कार्यक्रम जिल्ला उपाध्यक्ष दीपक भुषालको अध्यक्षतामा सम्पन्न भएको थियो  ।
वैद्यपक्षीय जिल्ला नेतृत्वप्रति लक्षित गर्दै प्रचण्ड पक्षीय केन्द्रीय सदस्य सीता न्यौपानेले भनिन्, ‘उनीहरुले केन्द्रीय कार्यक्रमलाई बेवास्ता गर्दै हिँडेका छन् ।’
चितवनमा वैद्य पक्षीय जिल्ला अध्यक्ष भट्टराईलाई केन्द्रीय सचिवालय सदस्य लालबहादुर तामाङले साथ दिएका छन् भने प्रचण्ड पक्षीय उपाध्यक्ष भुषाललाई सचिवालय सदस्य नारायण आचार्य र केन्द्रीय सदस्य सीता न्यौपानेले साथ दिएका छन् । बाबुराम पक्षको साथमा केन्द्रीय नेतृत्व नभए पनि केन्द्रसँग सहकार्य गरेर अगाडि बढिरहेको बाबुराम पक्षीय पौडेलले बताए ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी