आफ्ना सन्तानको माया कसलाई हुँदैन र ? तर पनि यो सोच्नुभएको छ कि छैन, तपाईंका सन्तान तपाईंकै अभिभावकत्वको प्रेममा पुल्पुलिएर कतै गलत बाटो त समातिरहेका छैनन् ? तपाईंले उनीहरुका हरेक इच्छा र आकांक्षाहरु पूरा गर्दैमा तपाईंको दायित्व पूरा हुँदैन, न त ठहरिने छ । तपाईंले उसलाई पूर्ण प्रेम दिइरहनु भएको छ तर किशोरावस्थामा प्रवेश गरेका तपाईंका सन्तानहरु आफ्ना एक गल्ती छिपाउनका निम्ति अनेकाँै गल्ती त गर्दै हिँडिरहेका छैनन् ? यस्तै प्रश्नहरुको समाधान खोज्ने क्रममा भेटिएको उत्तर बन्न सक्छ, ‘सायद’ तपाईंका लागि ।
यही वैशाख २७ गतेबाट काठमाडौँका सिनेमा घरहरुमा प्रदर्शन भइरहेको चलचित्र ‘सायद’ यही २६ गते शुक्रबारबाट राजधानीबाहिरका सिनेमा घरहरुमा प्रदर्शन भइरहेको छ । नारायणगढका गणेश तथा जलमा चलचित्र भवनमा प्रदर्शन भइरहेको यो चलचित्रले भर्खरै किशोरावस्थामा प्रवेश गरेकाहरुको कथालाई बोकेको छ । स्कुले जीवनको बन्धनबाट भर्खरै कलेज जीवनमा प्रवेश गरेका किशोरकिशोरीहरु आफूलाई कलेज जीवनमा प्रवेश गर्दा पिँजडाको सुगा खुला आकासमा सयरका निम्ति निस्किएको ठान्दा आउने दुर्घटनालाई मार्मिक ढङ्गले प्रस्तुत गर्न सफल छ ‘सायद’ ।
यसले बोकेको अर्काे विषय भनेको पुस्तान्तरमा हुने भिन्नता पनि हो । आधुनिकताको नाममा लागूऔषध दुव्र्यसन संस्कृतिको रुपमा विकास भइरहेको अवस्थालाई पनि चित्रण गर्न सफल छ चलचित्र । एउटा असल विद्यार्थी कसरी कुलतमा फस्छ, सबैलाई असल बाटोमा डो¥याउने आफैँ कुबाटोमा कसरी फस्छ र कुलतमा फसेको व्यक्तिले कुन हदसम्मको नीच काम गर्न सक्छ भन्ने यथार्थलाई चित्रण गर्न सफल भएका छन् चलचित्रका निर्देशक सुरज सुब्बा ‘नाल्वो’ ।
काठमाडौँमा सफल बनिसकेको ‘सायद’ले फेरि पनि सुब्बालाई एक अब्बल दर्जाको निर्देशक, कथाकार तथा संवाद लेखकका रुपमा स्थापित गराउन सफल भएको छ । ‘बाटोमुनिको फूल’बाट चर्चा पाएका सुब्बालाई ‘सायद’ले थप उचाइमा पु¥याउन सफल भएको छ । उनलाई चलचित्रमा साथ दिएका छन् चलचित्रका छायाँकार सञ्जय लामाले । चलचित्रका दृश्यहरुलाई सुन्दर ढङ्गले कैद गरेका छन्, उनको कार्यमा खोट लगाउने ठाउँ भेट्टाउन सकिँदैन । चलचित्रलाई सम्पादकको कामले पनि न्याय गरेको छ । चलचित्रका सम्पादक विपीन मल्लले चलचित्रलाई प्राविधिक रुपमा सबल बनाउन भरमग्दुर प्रयास गरेका छन् । उनको कार्यमा पनि खोट लगाउन सकिँदैन ।
संवादका दृष्टिले पनि चलचित्र सबल छ । चलचित्रमा पात्रअनुरुपको संवादको प्रयोग भएको पाइन्छ । विल्सनविक्रम राईले चलचित्रमा निर्वाह गरेको भूमिकाले दर्शकलाई नहाँसिरहन दिँदैन । त्यस्तै, सुब्बाले चलचित्रमा संयम पुरीलाई दिएको ‘योदिन’को भूमिकालाई समेत संयमले न्याय गरेका छन् । चलचित्रमा पात्रको नामकरणमा केही पृथकता अपनाइएको पाइन्छ । ‘योदिन’ले आफैँमा तत्कालको अवस्थालाई जनाउँछ । चलचित्रमा पनि पात्रले अहिलेको किशोरावस्थाका व्यक्तिको बिम्बात्मक स्थितिलाई उचित ढङ्गले प्रस्तुत गर्ने काम गरेको छ । अभिभावकहरु आफ्नो सन्तानलाई पैसा र धनको सुःख दिएर संसारको सर्वाेत्कृष्ट प्रेम दिएको भ्रममा बाँचिरहेको तीतो यथार्थतालाई समेत चलचित्रले समावेश गरेको छ । त्यस्तै, ‘सायद’ले बोकेको अर्काे तीतो यथार्थ भनेको नेपाली शैक्षिक नीति र परीक्षा प्रणाली पनि हो ।
चलचित्रमा प्रयोग भएका गीत सान्र्दभिक भएता पनि यसमा समय–समयमा देखाइएको दि स्याडोजको उपस्थिति सान्दर्भिक छैन । खाली एउटा ब्यान्डको प्रमोट गर्न खोजेको भान हुन्छ चलचित्र हेर्नेहरुलाई । अर्काे कुरा, चलचित्रमा योगीले आफ्ना साथीहरुबाट विद्यालय बनाउन भनेर पैसा त लान्छ तर पनि विद्यालय कता गयो, निर्माण भयो कि भएन ? देखाउनुको सट्टा गीत बजाएर दर्शकलाई झुक्याउन खोजेको हो कि भन्ने भान हुन्छ तर पनि गीतले नेपाली स्वाद भने दिएको छ । चलचित्रमा गीत र संगीतको पक्षलाई हेर्ने हो भने आधुनिक र नेपाली लोकसंगीतको फ्युजन छ भन्दा अन्यथा नहोला । अर्काे कुरा, चलचित्रमा करिश्मा र बाबु बोगटीको जोडी नसुहाएको देखिन्छ ।
कथावस्तु ः
एउटा शिक्षित परिवारमा जन्मिएको ‘योदिन’ आफ्नो जिल्ला शिक्षा अधिकारी बाबुको मृत्युपछि एकमात्र अभिभावक दाजुको छत्रछायाँमा हुर्किएको हुन्छ । उसको दाजु निराग पनि असल तथा एक जेहेन्दार विद्यार्थीको रुपमा हुन्छ । आफ्ना हरेक इच्छाहरु दाजुबाट पूर्ति हुन्छन् ‘योदिन’का । प्रवेशिकापछिको खाली समयमा गोवा घुम्न जाँदा साथीको लहलहैमा कुलतमा फस्छ ऊ । यही कुलतको बाटोले निम्ताएका अनेक घटनाका श्रृङ्खलाहरु बोकेको छ कथावस्तुले । आफूले मन पराएकी केटीले आफूलाई वास्ता नगरेपछि त्यही युवती आफ्नी हुनेवाला भाउजूकी बहिनीको उसको प्रेमीसँग भएको समागमको अश्लील भिडियो उसले युट्युव र फेसबुकमा अपलोड गरिदिन्छ । यही कारण केटीले आत्महत्याको बाटो रोजेपछि उसलाई प्रहरीले अपराधीको रुपमा खोजी गरिरहेको हुन्छ । प्रहरीसँग भाग्दै हिँडेका उनीहरु पाल्देनको सहायतामा ‘बाजागाजा’ (पेस्तोल) भाडामा ल्याउँछन् । प्रहरीसँग उसको कोरियन फर्सी भनेर चिनिने विल्सनविक्रमको घरमा जान्छन्, जहाँ संयमले उसको बाबु र आफ्नै साथीको हत्या गर्छ । त्यसपछि आफ्नी हुनेवाला भाउजूलाई मुद्दा फिर्ता लिन दबाब दिँदै आक्रमण गर्छ योदिनले । त्यसपछि उसले प्रहरीबाट भाग्न आफ्ना दाजुलाई फोन गरेर गोरखपुरसम्म पु¥याइदिन धम्की दिन्छ, नत्र हुनेवाला भाउजूको हत्या गर्ने चेतावनी दिन्छ । के निराग आफ्नो भाइ योदिनले भनेजस्तै उसलाई गोरखपुर पु¥याउन जाला ? के योदिन प्रहरीको नियन्त्रणमा पर्ला ? के दाजुभाइको मिलन फेरि होला ? यी र यिनै प्रश्नको जवाफ पाउन एकपटक ‘सायद’ हेर्नैपर्दछ । त्यसका लागि नारायणगढको गणेश तथा जलमा चलचित्र भवन पुग्नैपर्ने हुन्छ ।
निष्कर्ष ः समयको माग भन्दै आधुनिकता र स्वतन्त्रताको गलत उपयोग तथा अभिभावकको प्रेमलाई कमजोरी ठान्दा जीवनमा भोग्नुपर्ने समस्याका बारेमा उद्धृत गर्दै जीवनमा स्वतन्त्रतालाई उपयोग गर्न जान्नुपर्दछ भन्ने सन्देश दिन चलचित्र सफल छ । त्यस्तै, अभिभावकले पनि आफ्ना सन्तानहरु के गर्दै छन्, कुन बाटोमा हिँडिरहेका छन्– त्यो बुझ्न जरूरी रहेको चलचित्रले देखाउँछ । ‘लुट’पछि यो चलचित्र नेपाली चलचित्रमा देखिएको स्तरीयतालाई निरन्तरता दिन सफल छ । सायद यो चलचित्र सोचेजति स्तरीय नभएको भए नेपाली चलचित्रलाई माया गर्ने दर्शकहरु पुनः हलमा पुगेर आफ्नो लगानी खेर जाँदा पछुताउनुबेगर केही पाउने थिएनन् ।
No comments:
Post a Comment
Thanx for your comment