काठमाडौं । मुख्य दलहरु आन्तरिक फुटको संघारमै पुगेको बेला मधेसी जनअधिकार फोरम लोकतान्त्रिकभित्र पनि यही रोग सल्किएको छ ।
संविधानसभा बिघटनसँगै उपेन्द्र यादवको बृहत मधेसी मोर्चातिर ढल्केका फोरम लोकतान्त्रिकका बरिष्ठ नेता शरत्सिँह भण्डारीलाई पार्टी अध्यक्ष विजयकुमार गच्छदारले पत्रिका मार्फत स्पष्टीकरण सोधेपछि झन् बढी खैलाबैला मच्चिएको छ । डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा उपप्रधानमन्त्री रहेका गच्छदारले भण्डारीलाई सरकार बिरुद्ध मोर्चाबन्दी गरेको भन्दै स्पष्टीकरण सोधेका हुन् ।
जवाफमा भण्डारीले पनि दैनिक पत्रिका मार्फत नै जवाफ दिँदै आफूलाई कार्वाही गरेर देखाउन चुनौति दिएका छन् । जेठ १९ गते गच्छदार अध्यक्ष रहेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको अनुशासन समितिले गोरखापत्र दैनिक मार्फत भण्डारीसित स्पष्टीकरण सोधेको छ । स्पष्टीकरणमा भण्डारीले पार्टीको उदेश्य, नीति, हित विपरीत क्रियाकलाप गरेको र त्यसले पार्टीको हित र छवीमा गम्भीर तथा नकारात्मक असर परेको उल्लेख छ । जवाफमा २२ गते भण्डारीले केही दैनिक पत्रिका मार्फत उस्तै शैलीमा जवाफ फर्काएका छन् ।
‘गोरखापत्रको माध्यमबाट मलाई सोधिएको स्पष्टीकरणको व्यहोरा थाहा पाउँदा पीडा र आश्चर्य दुवैथोक भएको छ । पार्टीभित्रका मतभिन्नता र समस्याहरुलाई अन्तर्पार्टी सोधखोज गरिने र पत्र नबुझेको खण्डमा मात्र सार्वजनिक गरिने सर्वस्वीकार्य परम्परा विपरीत मलाई सञ्चारमाध्यमबाट स्पष्टीकरण लिने दुष्प्रयत्न भएकोमा स्वाभाविक रुपमा क्षुब्ध भएको छु’ भण्डारीले उल्लेख गरेका छन् । केन्द्रीय समितिको निर्णय नभईकन अनुशासन समितिले सोधेको स्पष्टीकरण प्रक्रियागत दृष्टिले पनि त्रुटीपूर्ण रहेको उनले ठहर गरेका छन् । फोरम अध्यक्ष गच्छदारले तीनखण्डमा सोधेको स्पष्टीकरणमा भण्डारीले पनि तीन खण्डबाटै जवाफ पेश गरेका छन् ।
पहिलो खण्डमा गच्छदारले पर्सा, कपिलवस्तु, धनुषा, महोत्तरी, सुनसरी लगायतका जिल्लामा समानान्तर संगठन निर्माण गरेको भन्दै भण्डारीसँग स्पष्टीकरण सोधेका छन् । यसको जवाफ दिँदै भण्डारीले यो कुरा पूर्णतया असत्य भन्दै कुनै पनि ठाउँमा समानान्तर बोर्ड वा अन्य कुनै औपचारिक संरचना खडा भएको भए देखाउन चुनौति दिएका छन् । आचार संहिताको उल्लंघन आफूबाट नभएर स्वयं अध्यक्ष गच्छदारबाट नै भएको भण्डारीले उल्लेख गरेका छन् । आफू गच्छदार जस्तो तर्क रकारणबिना सत्तामा टाँसिएको व्यक्ति नभएको भन्दै भण्डारीले छेड समेत हानेका छन् ।
दोस्रो खण्डमा गच्छदारले बृहत्त मधेसी मोर्चामा संलग्नताबारे सोधेको स्पष्टीकरणमा भण्डारीले दलको विधान र नियमावली अनुसार नै आफूले काम गरेको जवाफ दिएका छन् । आफूले संघीयता बिरोधी कुनै पनि दलसँग साँठगाँठ नगरेको नभई प्रधानमन्त्रीको असंवैधानिक कदमको बिरोध मात्र जनाएको उल्लेख गरेका छन् । ‘अध्यक्षज्यू, मधेशी जनतासँग विश्वासघात गरी मधेशलाई पाँच टुक्रा पार्नेगरी ११ प्रदेशमा तपाईंले सहमति जनाएको कुरा मधेशी जनताले बिर्सेका छैनन् । यस्तो आत्मघाती र विश्वासघाती सहमति गरेकोमा तपाईंलाई अनुशासनको कार्वाही हुने कि नहुने ?’ भण्डारीले आफ्नो जवाफबाट गच्छदारलाई चुनौति दिएका छन् ।
तेस्रो खण्डमा गच्छदारले आफूलाई कार्वाही गर्नसक्ने चुनौति दिएपछि भण्डारीले पार्टी सिद्धान्तबाट आफू नभएर अध्यक्ष विचलित भएको बताएका छन् । संविधानसभा बिघटन गर्ने निर्णय पार्टीले नभएर गच्छदारले एकलौटी ढंगले गरेको उनको आरोप छ । ‘एमाओवादीको पिछलग्गु भएर सत्ताका लागि मधेशका सम्पूर्ण मागहरुलाई तिलाञ्जली दिइ सार्वभौम संविधानसभा बिघटन गराएकाले बरु अध्यक्षको हकमा कार्वाही हुने देखिन्छ’ भण्डारीले कार्वाही गर्न परे गच्छदारलाई नै गर्नुपर्ने बताएका छन् ।
अन्त्यमा भण्डारीले गलत मनसायले सञ्चारमाध्यममा विज्ञप्ती प्रकाशित गरी मागिएको स्पष्टीकरण त्रुटीपूर्ण र मानहानीको विषयसमेत भएकाले यसै अनुरुप कानूनी र राजनीतिक बाटो खोजिने बताएका छन् । गच्छदारले अनुशासन समिति मार्फत लिखित स्पष्टीकरण पार्टी कार्यालयमा तीन दिनभित्र पेश गर्न भनेपछि भण्डारीले कार्यालयमा नभई गच्छदारकै शैलीमा पत्रिकामार्फत स्पष्टीकरण पठाएका छन् ।
गच्छदारले कार्वाही गर्ने चुनौतिलाई भण्डारीले पनि त्यही शैलीमा अध्यक्षमाथि नै कार्वाही हुन सक्ने जवाफ फर्काएका छन् । अब यसपछि गच्छदारको कदम कस्तो हुन्छ भन्ने चाहिं हेर्न बाँकी छ । यसरी भित्रभित्र भूसको आगो झैं सल्किएको फोरम लोकतान्त्रिकभित्र पछिल्लो वक्तव्ययूद्धले ठूलै उथलपुथल ल्याउने सम्भावना बढेको छ । मधेसी जनअधिकार फोरमबाट लोकतान्त्रिक र गणतान्त्रिकमा विभाजन भैसकेको पार्टीमा अब अर्को समूह पनि देखा पर्ने भएको छ । जसको नेतृत्व शरत्सिंह भण्डारीले गर्ने पक्का छ ।
No comments:
Post a Comment
Thanx for your comment