Monday, August 27, 2012

‘डा.भट्टराई नेतृत्वको सरकार असफल सावित’

 सरकारको एक वर्ष     

 नारायणगढ । डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको छ । वर्तमान सरकारलाई विगतका सरकारभन्दा भिन्न भन्न नमिल्ने चितवनका स्थानीय व्यवसायी, बुद्धिजीवी तथा विभिन्न पेसाकर्मीले बताएका छन् ।
भट्टराई प्रधानमन्त्री भएपछि मुलुकले परिवर्तन पाउनेछ भन्ने धेरैले आशा गरेका थिए तर भट्टराईले नेतृत्व गरेको सरकारले एक वर्षको कार्यकाल पूरा गरिसक्दा पनि परिवर्तन नदेखिएको नमस्ते विहानीसँगको कुराकानीमा उनीहरुले बताएका हुन् ।
प्रचण्ड सरकारको पालामा अर्थमन्त्री हुँदा कमाएको ख्याति प्रधानमन्त्रीको नेतृत्व लिँदा गुमाउन पुग्नुभयो डा. भट्टराईले । सरकार गठन गर्दा लिएको उद्देश्य पूरा हुन नसकेको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले बताउनुभयो ।
‘सरकारको एक वर्षलाई सरसर्ती हेर्दा जुन उद्देश्य लिएर गठन भएको थियो, शान्ति निर्माण संविधान निर्माण र दिगो आर्थिक विकासको आधारशीला निर्माण ती पूरा हुन सकेनन्’, डा.भट्टराईले भन्नुभयो, ‘शान्ति प्रक्रियाले गति लिन सकेन, संविधान निर्माण संविधानसभाको अवसानसँगै सकियो र आर्थिक कामको पनि सुरूवात् भएन ।’
सरकारको कामलाई हेर्दा अरुभन्दा सफल र फरक भन्न नमिल्ने अध्यक्ष डा.भट्टराईको धारणा थियो ।
मुलुकमा सरकार नै नभएको प्रतिक्रिया छ पत्रकार महासंघ चितवनका अध्यक्ष जनक अर्यालको । ‘जनताले सरकार भएको अनुभव नै गर्न पाएका छैनन्, गुण्डाराज बेथिति व्याप्त छ’, उहाँले भन्नुभयो ।
यता, सरकारले संविधान निर्माण गर्न नसक्नु असफलता भएपनि काम गर्ने वातावरण नै नदिएको वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका पूर्वक्याम्पस प्रमुख एलबी क्षेत्रीले बताउनुभयो । ‘सरकारका राम्रा काम पनि छन्, संविधान बन्न सकेन, यो असफलता हो तर सरकारले काम गर्ने वातावरण नै पाएन’, उहाँले भन्नुभयो । राजीनामा मागेरमात्र समस्याको समाधान नहुने उहाँको धारणा छ ।
बाबुराम भट्टराई असल भएपनि असल काम गर्न नसकेको प्रतिक्रिया छ चितवन साहित्य परिषद्का पूर्वअध्यक्ष केदारनाथ खनालको । सरकारले कुनै पनि प्रतिबद्धता पूरा गर्न नसकेको उहाँको आरोप छ ।
सरकार राजनीतिक रुपमा असफल भएको साहित्यकार प्रेमविनोद नन्दनको भनाइ छ । ‘संविधान बन्न सकेन, जनभावनाअनुरुपको काम कुनै पनि हुन सकेनन्’, उहाँले भन्नुभयो, ‘गणतन्त्र शब्दको मात्र सिर्जना भयो ।’ यो सरकार अरु सरकारभन्दा असफल भएको उहाँको आरोप थियो ।
त्यस्तै सरकारले विपक्षीबाट सहयोग नपाएको सहप्राध्यापक कपिल अज्ञातले बताउनुभयो । सरकारले परम्पराको राम्रैसँग निर्वाह गरेको उहाँको व्यङ्ग्य थियो ।




No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी