Monday, August 27, 2012

मासुबाट रोग सर्नेबारे व्यवसायी नै अनभिज्ञ

नारायणगढ । आमउपभोक्ताले प्रयोग गर्ने मासुको स्वस्थतामा विक्रेताले ध्यान दिनुपर्ने सोमबार नारायणगढमा आयोजित एक कार्यक्रमका मासु विशेषज्ञहरुले बताएका छन् । सहर र गाउँका हरेकजसो चोकमा खोलिएका पसलहरुमा यसको सरसफाइ र शुद्धतामा ध्यान नदिइएको उनीहरुको भनाइ छ ।
कुखुरा मासु व्यवसायी संघ चितवनको प्रथम भेलामा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । सो अवसरमा तीन वर्ष लामो मासुको शुद्धताबारे अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै मासु विशेषज्ञ डा. हेमबहादुर बस्नेतले व्यवसायीहरुमा पशुपंक्षीको मासु खाँदा रोग सर्न सक्ने कुराको समेत ज्ञान नभएको बताउनुभयो ।
चितवनलगायत पाँच जिल्लामा गरिएको सर्वेक्षणमा चितवन जिल्लाका मासु व्यवसायीमध्ये ७१ दशमलव ७१ प्रतिशत व्यवसायीलाई यसबारेमा थाहा नै नभएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै काठमाडांैमा ९१ दशमलव ९२, मकवानपुरमा ८४ दशमलव ८५, रुपन्देहीमा ९४ र कास्कीमा ९१ प्रतिशत व्यवसायीलाई पशुपंक्षीको मासु खाँदा मानिसमा संक्रमण सर्न सक्ने भन्ने जानकारी नै नभएको तथ्याङ्कले देखाएको बस्नेतले बताउनुभयो ।
त्यसैगरी मासु पसलहरुमा झिँगा मार्नका लागि वेगन, नाभन, डेभिकोल र फिनायलको प्रयोग हुँदै आएको उहाँले बताउनुभयो । चितवन जिल्लामा ६१ प्रतिशत मासु पसलमा विषादीको प्रयोग हुँदै आएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै काठमाडांैमा ३४, मकवानपुरमा ५१ दशमलव ५२ रुपन्देहीमा ३९ दशमलव २३ र कास्कीमा २३ दशमलव २३ प्रतिशतले विषादी प्रयोग गर्ने गरेको तथ्याङ्कले देखाएको छ ।
आममानिसले प्रयोग गर्दै आएको मासुमध्ये रातो मासुभन्दा सेतो मासुको प्रयोग फाइदाजनक हुने अर्का मासुविज्ञ डा. रेवन्त भट्टराईले जानकारी दिनुभयो । रातो मासुमा मानिसलाई असर गर्ने कार्वोहाइडेटको मात्रा बढी हुने उहाँको भनाइ थियो । ‘देखिँदा रातो मासु राम्रो देखिए पनि खाँदा र स्वास्थ्यका दृष्टिले सेतो मासु फाइदाजनक छ ।
कार्यक्रममा बोल्दै नेपाल पंक्षी महासंघका अध्यक्ष गुणचन्द्र विष्टले आफ्नो पेसालाई मर्यादित बनाएर अगाडि लैजानुपर्ने बताउनुभयो । हाल चितवनमा दैनिक ४० गाडि कुखुरा उत्पादन हुने र २५ गाडी चितवनमा नै खपत हुने उहाँले जानकारी दिनुभयो ।
दैनिक ५० लाख रुपैयाँ बराबरको मासुको कारोबार चितवनमा हुने उहाँले बताउनुभयो । चितवनमा सुरक्षित पशु बधशाला नहुँदा स्वस्थ्यकर मासु उपभोक्ताको पहुचभन्दा बाहिर रहेको भन्दै उपभोक्तालाई स्वस्थ्यकर मासु उपलव्ध गराउन मासु व्यवसायीलाई आग्रह गर्नुभयो ।
जिल्ला पशुसेवा कार्यालयले मासु व्यवसायीलाई व्यवसाय सुधारका लागि सहयोग गर्दै आएको कार्यालयका प्रमुख विष्णुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष कृष्णप्रसाद अधिकारी, नेपाल ह्याचरी संघ चितवनका अध्यक्ष ऋषिराम पौडेल, मासु व्यवसायी संघ बुटवलका सचिव दीपक आचार्यलगायतले बोल्नुभएको थियो ।
कार्यक्रम संघका अध्यक्ष गणेशप्रसाद कँडेलको अध्यक्षतमा भएको थियो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी