Monday, August 20, 2012

लुम्बिनीमा एपेक फेरि सक्रिय

 लुम्बिनी / लुम्बिनी विकासमा ३ अर्ब अमेरिकी लडर लगानी गर्ने प्रस्तावसँगै चर्चामा आएको चिनियाँ गैरसरकारी संस्था एसिया प्यासेफिक एक्स्चेन्ज एन्ड कोअपरेसन फाउन्डेसन (एपेक) आफ्नो योजना अघि बढाउन फेरि सक्रिय भएको छ। एपेकका कार्यकारी उपाध्यक्ष सियाओ उनान एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई काठमाडौंमा भेटेर भारतीय नेताहरूसँग छलफलका लागि दिल्ली पुगेका छन्।
चिनियाँ उपविदेशमन्त्री फु यिङ नेपाल भ्रमणबाट बेइजिङ फर्केलगत्तै उपाध्यक्ष सियाओ उनानको नेतृत्वमा एपेकका अधिकारी र लगानीकर्ताहरू संलग्न प्रतिनिधिमण्डल काठमाडौं आएको हो। आइतबार काठमाडौं ओर्लेको प्रतिनिधिमण्डलले सोमबार अध्यक्ष दाहालसँग पार्टी मुख्यालय पेरिसडाँडामा भेटवार्ता गरेको थियो।

स्थायी समिति सदस्य कृष्णबहादुर महरा र र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीसमेत संलग्न भेटमा उनानले लुम्बिनी परियोजनामा फेरि पहल लिन दाहाललाई आग्रह गरेका थिए।

मन्त्री बोगटीका अनुसार दाहालले 'लुम्बिनी विकासमा राजनीतिक दलहरूसँग समझदारी गर्न पहल गर्ने' जवाफ दिएका छन्। काठमाडौंमा भेटवार्ता सकेर उपाध्यक्ष उनान सोमबार नै दिल्ली उडेका हुन्। अन्य सदस्य भने लुम्बिनी भ्रमणमा गएका छन्। अघिल्लो साता नेपाल भ्रमणका क्रममा लुम्बिनी पुगेकी उपमन्त्री फु यिङले 'लुम्बिनी विकासमा लगानी गर्न चीन इच्छुक रहेको' दोहोर्याेउँदै दक्षिण एसियाली राष्ट्रहरूको विकासमा चीनले भारतसँग साझेदारी गर्न चाहेको दाबी गरेकी थिइन्।

'काठमाडौं आएको एपेकको प्रतिनिधिमण्डलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र संस्कृति मन्त्रीसँग लुम्बिनी परियोजना कसरी अघि बढाउने भनेर छलफल गर्यो्,' लुम्बिनी योजनामा सुरुदेखि नै सक्रिय एपेकका उप-महासचिव नरेन्द्र उलकले फोनमा भने, 'काठमाडौंबाट कार्यकारी उपाध्यक्ष उनान दिल्ली गएका छन्, त्यहाँ भारतीय नेताहरूसँग लुम्बिनी परियोजनाबारे कुरा उठाउँछन्।'

बुद्ध जन्मस्थल लुम्बिनीलाई ३ अर्ब अमेरिकी डलर लगानीमा अन्तर्राष्ट्रिय बौद्ध केन्द्र बनाउने दाबीसहित एपेकले गत वर्ष विशेष विकास क्षेत्रको प्रस्ताव ल्याएको थियो। एपेकको प्रस्ताव विवादमा परेपछि प्रधानमन्त्री बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष दाहालको संयोजकत्वमा बृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति गठन गरेका थिए।

दाहालको नेतृत्वमा राष्ट्रसंघीय मुख्यालय न्यूयोर्क पुगेको समितिको प्रतिनिधिमण्डलले महासचिव बान कि मुनलाई लुम्बिनी विकासमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन आग्रह गरेको थियो। त्यसका लागि लुम्बिनीमै आयोजना गर्ने भनिएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शान्ति प्रक्रिया पूरा नहुँदासम्म स्थगित छ भने दाहालले लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति नगर बनाउन एपेकलगायत संस्थाबाट आर्थिक सहयोग जुटाउने बताउँदै आएका छन्।

लुम्बिनी विकासमा एपेकको संलग्नतालाई चीनको रणनीतिक चासोका रुपमा हेरिएका बेला दाहालले न्युयोर्कबाट फर्र्केपछि काठमाडौंमा भएको समितिको एउटा बैठकमा पहिलोपटक भारतीय र चिनियाँ राजदूतलाई आमन्त्रण गरेका थिए।

चिनियाँ संस्था एपेकले लुम्बिनी योजनाबारे भारतीय नेताहरूसँग छलफल गर्न लागेको सम्भवतः यो पहिलोपटक हो, तर उनानले दिल्लीमा कुन-कुन नेतासँग छलफल गर्छन् भन्ने स्पष्ट छैन। दाहालसहित अमेरिकी र पूर्वी एसियाका लगानीकर्ताहरू रहेको एपेकको १० सहअध्यक्षको सूचीमा एकजना पनि भारतीय छैनन्। कार्यकारी उपाध्यक्ष उनानले गत वर्ष हङकङमा नागरिकसँग कुराकानीका क्रममा लुम्बिनी परियोजना सहज रुपमा अगाडि बढाउन भारतीय लगानीकर्ता पनि एपेकमा राख्ने तयारी भइरहेको बताएका थिए।

नेपालबाट दाहालसँगै सहअध्यक्षमा राखिएका पूर्व युवराज पारस शाहलाई चर्को आलोचनापछि हटाइएको थियो। लगत्तै अफ्रिकी राष्ट्र जाम्बियाका ८८ वर्षीय पूर्व राष्ट्रपति केनेथ डेभिड कउन्दलाई एपेकले सहअध्यक्षमा मनोनीत गरेको थियो। जाम्बिया स्वतन्त्रता आन्दोलनको नेतृत्व गरेपछि केनेथ सन् १९६४ देखि १९९१ सम्म त्यहाँको राष्ट्रपति भएका थिए।

केनेथलाई सहअध्यक्ष बनाएसँगै अफ्रिकामा राष्ट्रसंघीय संस्थासँग मिलेर समुदायमा आधारित प्राकृतिक स्रोत व्यवस्थापन कार्यक्रम पनि सुरु गरेको एपेकले जनाएको छ। जाम्बियाको 'सेभ रुरल अफ्रिका फाउन्डेसन (सराफ) र राष्ट्रसंघीय संस्था वर्ल्ड वाइल्ड फन्ड फर नेचर (डब्लुडब्लुएफ) सँग मिलेर अफ्रिकामा सुरु गरिएको कार्यक्रमप्रति धेरैको चासो बढेको एपेकले दाबी गरेको छ।

vie : nagriknews 

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी