Friday, September 28, 2012

आफ्नै यथार्थलाई चिन्दै

कविता
विधुर ढकाल
यो गोधूलि साँझमा
‘म’ नियाल्दै छु यो दुनियाँ
यो जीर्ण नारायणीको पुलबाट
आफ्नो गन्तव्यतर्फ लम्किरहेका पाइलाहरु
हतारहतार छिचोलिरहेका छन् सडकहरु
कोही आफ्नो वासस्थानतर्फ लम्किरहेका छन्
कोही आफ्नो उद्देश्यतर्फ आफ्ना पाइलाहरु लम्काइरहेका छन्
सुनौलो रविकिरणबीच एकजोडी ढुकुर
नगरवनको आकाशमा कावा खेल्दै उडिरहेछन्
आफ्नो गुँडतर्फ ।

कल्पनामा हराउँछु
‘म’ पनि ती जोडीजस्तै उड्न पाए
साँझमा आफ्नो गुँड फर्कन पाए
मसँगै आकासमा कावा खेल्ने कोही जोडी भइदिए
मेरो सुखदुःखमा साथ दिने
कोही भइदिए
यो गोधूलि साँझ अझ रंगीन हुने थियो ।

पुलको अर्को छेउ
एकजोडी युवायुवती
प्रेममा लिप्त
एकअर्काको आलिङ्गनमा बाँधिएर
एकअर्काको ओठमा चुम्बन गर्दै गरेका
युवती आफ्नो प्रेमीको
कपाल मुसार्दै गरेकी
प्रेमी प्रेमिकाको गाला मुसार्दै गरेको ।

‘म’ पुनः कल्पनामा हराउँछु
मेरी पनि एक प्रेमिका भइदिएकी भए
यति बेला ‘म’ पनि उसकै आलिङ्गनमा हुन्थेँ होला
मैले उसलाई चुम्दै गरेको
उसले मलाई चुम्दै गरेकी
फेरि कल्पनामा हराउँछु
मैले पनि कसैलाई प्रेमिका बनाउन पाए
यसरी नै सधैँ आलिङ्गनमा बाँधिन पाए
यो गोधूलि साँझ अझै रंगीन हुने थियो ।

रात सन्नाटातर्फ प्रवेश गर्दैछ
हतारहतार लम्किँदै थिए
मलाई कुनै हतार थिएन
किनकि मेरो आफ्नो भन्ने कोही छैन
र मेरो आफ्नै गुँड पनि छैन
‘म’ निष्फिक्री यो सन्नाटामा रम्न सक्छु
बिस्तारै जारी रहेको हता हतार पनि सेलाउँदै छ
नगरवनमाथिका लालजोडी ढुकुर पनि गुँड पुगे होलान्
प्रेममा लिप्त लालजोडीहरु पनि पुगे होलान् आ–आफ्नै गुँड ।

यो एकान्तमा म लिप्त थिएँ
सुनसानबीच
गन्तव्यमा लम्किएका केही लामा गाडीहरु
शून्यतालाई भङ्ग गर्दै जान्छन्
र फेरि सन्नाटा फैलन्छ
पुल पर कोलाहल मच्चिन्छ, सेलाउँछ
केही क्षणमा साइरनसहितको एक गाडी
मेरो अगाडि टक्क अडिन्छ
ओइ, खाते साले !
कर्कस आवाज आउँछ
फेरि गाडी हुइँकिन्छ
त्यो शुन्यताबाट ‘म’ ब्युँझिन्छु
आफ्नो यथार्थलाई चिन्दै ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी