Friday, September 28, 2012

सीता एयर दुर्घटना, उन्नाइसको मृत्यु

भक्तपुर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार बिहान ६ बजेर १५ मिनेट जाँदा सोलुको लुक्लाका लागि उडेको सीता एयरको नाइन एनएएचए डोर्नियर विमान भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नं. १६ स्थित मनोहरा खोलानजिकै दुर्घटना भएको छ ।
दुर्घटनामा चालकदलका तीन सदस्यसहित नेपाली नागरिक सात जना, बेलायती नागरिक सात जना र चिनियाँ नागरिक पाँच जना गरी १९ जनाको मृत्यु भएको छ । उडेको चार मिनेटमै अर्थात् ६ बजेर १९ मिनेट जाँदा विमान दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर चालक चावहिल निवासी विजय तण्डुकार, सहचालक ललितपुर निवासी ताकोसिंह थापा र परिचालक काभ्रे बनेपा निवासी रुजा शाक्यको मृत्यु भएको छ । मृत्यु हुने अन्यमा नेपाली सेनाका अमलदार कुमार मस्र्याङ्दी मगर, एलएन शेर्पा, एमके तामाङ र डी राई रहेका छन् ।
त्यस्तै मृत्यु हुने चिनियाँ नागरिकमा क्विन निन्गोइन, हु लीन, याङ जीवा, वाई जेङ र हु हुई रहेको छन् भने बेलायती नागरिकमा ईगल ¥यामण्ड, सी डेभी, भी केली, डी जाभी, टी ओकास, एस होलिडङ र भी ओग्डन रहेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणका अनुसार बिहान ६ः१५ मा उडेको विमान आकाशमा उडेको चरासँग ठोक्किएपछि दुर्घटना भएको हो ।
प्राधिकरणका अनुसार चरासँग ठोक्किए लगत्तै ६ बजेर १८ मिनेट जाँदा चालक तण्डुकारले विमानस्थल एयर ट्राफिक कन्ट्रोललाई चरासँग ठोक्किएको जानकारी दिँदै विमानमा प्राविधिक समस्या आएकाले विमानस्थलमै फर्किन लागेको जानकारी दिएलगत्तै ६ बजेर १९ मिनेट जाँदा विमान दुर्घटना भएको हो ।
प्रत्यक्षदर्शीका अनुसार विमान हल्लिदै तलतल आएर खसेको केही बेरमै ठूलो आवाजसहित पड्किएको र आगो लाग्न सुरू भएको हो । आगो लागेपछि सुकुमबासी बस्तीका बासिन्दा र आसपासका मानिस आगो निभाउन गए पनि आगोको राप टाढासम्म पुगेकाले भाँडोमा पानी ल्याएर आगो निभाउन सक्ने अवस्था नभएको र विमानसँगै जिउँदा मानिस जलेको हेर्न बाध्य भएको बताएका छन् ।
विमान दुर्घटना भएको करिब १५ मिनेटपछि सानोठिमी प्रहरी प्रभागका प्रहरी सहायक निरीक्षक भगवान भण्डारीसहित आठ जनाको प्रहरी टोली र दमकल घटनास्थल पुगेको थियो ।
खोलापारि दमकल भएकाले पानीको फोहरा पुग्न नसकेका र दमकल पुगेको करिब ८ मिनेट पछिमात्र विमानमा लागेको आगो निभाउन थालेको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रहरी सहायक निरीक्षक भण्डारीले आठ जनाको प्रहरी टोलीले आगोको मुस्लो परसम्म पुगेकाले आगो नियन्त्रणमा लिन नसकेको र दमकल पनि खोलापारि भएकाले कहीबेरपछि मात्र पानी हालेर तीनवटा दमकलको सहायताले आगो नियन्त्रणमा लिएको बताउनुभयो ।
विमान दुर्घटना भएको करिब आधा घन्टापछि भने भक्तपुर, थिमी र काठमाडाँैका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको बृहत् टोली घटनास्थल पुगेको थियो ।
घटनास्थल पुगेको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले तत्कालै उद्धारकार्य सुरू गरेपनि जीवितै भने कसैको उद्धार हुन नसकेको महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले बताउनुभयो । स्थानीय जनताले भनेअनुसार तत्काल उद्धार गर्न सकिएको भए धेरैलाई बचाउन सकिने थियो ।
टोलीले जल्दै गरेका शवहरू निकाल्ने, यात्रुका अन्य सामान बटुल्ने र विमानका जलेको भागहरू पन्छाउने काम गरेको थियो । नागरिक उड्डयन तथा पर्यटनमन्त्री पोष्टबहादुर बोगटीले विमान दुर्घटनास्थलमा पुगेर स्थितिबारे जानकारी लिनुभएको थियो ।
घटनास्थल पुग्नु भएका त्रिभुवन विमानस्थलका महाप्रबन्धक सतिशचन्द्रलाल सुमनले विमान दुर्घटनाबारे छानबिन गरिने बताउँदै विमानमा समस्या आएलगत्तै फर्काएर विमानस्थल नै लैजान खोज्दा दुर्घटना भएको हुनसक्ने बताउनुभयो ।
मृतकहरूका शव आगोले जलेर पहिचान गर्न गाह्रो हुने अवस्थामा रहेको छ । विमानको ब्ल्याक बक्सलाई अनुसन्धानका लागि प्राधिकरणले लगेको छ । मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल लगिएको छ ।
नेपालमा अहिलेसम्म ७४ वटा विमान दुर्घटना भएका छन् । यसअघि भएका दुर्घटनाहरूमा मात्र ७०४ जनाको मृत्यु भएको थियो ।
यसैबीच प्रधानमन्त्री डा बाबुराम भट्टराईले काठमाडौँ–लुक्ला उडानमा रहेको सीता एयरको डोर्नियर विमान दुर्घटनामा परी ज्यान गुमाउनु भएकाहरूप्रति हार्दिक श्रद्धान्जलि व्यक्त गर्नुभएको छ ।
उहाँले सो घटनामा परी निधन भएका शोकसन्तप्त परिवारजनप्रति समवेदना समेत प्रकट गर्नुभएको छ । राष्ट्रिय फोटो पत्रकार समूहद्वारा शुक्रबार आयोजित समारोहमा प्रधानमन्त्री डा भट्टराईले भन्नुभयो, ‘यस्ता दुःखद घटना दोहोरिन नदिन तदारुकताकासाथ सरकारले आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

छानविन समिति गठन  

काठमाडौं । सरकारले सीता एयरको जहाज दुर्घटनाको सम्बन्धमा छानबिन गर्नका लागि पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।
तीन महिनाभित्र प्रतिवेदन बुझाउने समयसीमा तोकिएको सो छानविन समितिको संयोजकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे र सदस्यहरूमा अग्नि एयरका मेघेन्द्रकुमार श्रेष्ठ, तारा एयरका प्रशिक्षक पाइलट राजेश श्रेष्ठ, एभिएसन मेडिकल बोर्डका संयोजक रञ्जितसिंह बराल र मन्त्रालयका सहसचिव सुरेश आचार्य सदस्य रहनुभएको छ ।





No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी