Friday, September 28, 2012

भरतपुर मेला सुरू युवाहरु अर्थतन्त्रमा जोडिनु सुखद् ः राजकर्णिकार

भरतपुर । भरतपुर मेला २०६९ शुक्रबारबाट भरतपुरमा सुरू भएको छ । मेलाको एक कार्यक्रमकाबीच नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले उद्घाटन गर्नुभएको हो । मेलाको उद्घाटन गर्दै उहाँले युवाहरु अर्थतन्त्रसँग जोडिनु सुखद् भएको बताउनुभएको छ ।
‘युवाहरु विदेश पलायन भइरहेका बेला मुलुकको अर्थतन्त्रसँग जोडिने गरी मेला सञ्चालन हुन सुखद् पक्ष हो’, उहाँले भन्नुभयो, ‘आजभोलि नकारात्मक विचारले उत्प्रेरित भई युवाहरु बन्द र तोडफोडमा लागेको बेला यस्तो काम हुनु राम्रो हो ।’ दिनहँु १२ सयको हाराहारीमा नेपाली युवाहरु विदेशिने गरेको उहाँको भनाइ थियो ।
जुन देशले मानिस बेच्छ, त्यो देश कहिल्यै पनि धनी हुन नसक्ने उहाँले बताउनुभयो । ‘भलै हामीले अहिले केही राज्यको अर्थतन्त्र थेगेको मानौँला तर यो अन्तिम विकल्प होइन’, कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका सञ्चार उद्यमी राजकर्णिकारले भन्नुभयो । 
एकअर्काे प्रसंगमा देशको अर्थतन्त्र बलियो नभए प्राप्त भएका उपलव्धिहरु पनि गुम्दै जाने उहाँले दावी गर्नुभयो । ‘राजनितिक परिस्थिति जतिसुकै बिग्रियोस् अर्थतन्त्रलाई अगाडि बढ्न दिनुपर्छ’, उहाँले भन्नुभयो ।
महासंघले दुई अंकको आर्थिक वृद्धिदर चाहेको बताउँदै उहाँले विदेशी लगानीलाई नेपाल भित्र्याउनुपर्ने बताउनुभयो । ‘हामीले दुई अंकको आर्थिक वृद्धिदर चाहेका छौँ, त्यसका लागि विश्वको अर्थतन्त्र धानेका दुई ठूला देश भारत र चीनको लगानी भित्र्याउनु आवश्यक छ’, वरिष्ठ उपाध्यक्ष राजकर्णिकारले भन्नुभयो । त्यसको लागि वार्षिक चार लाख स्वरोजगारी निमार्णमा समेत उहाँको जोड थियो ।
भारतीय अर्थतन्त्रले धानेको देशमा भारतीय नम्बर प्लेटका गाडीमा रोक लगाउनु स्वाधीन अर्थतन्त्र निर्माण नहुने उहाँको भनाइ थियो । ‘आज उहाँहरुले भारतीय नम्बर प्लेटका साधनहरु रोक्दै हुनुहुन्छ, उहाँहरुकै कारण पूर्णरुपमा नेपाली लगानी भएको शिखर सुज बन्द अवस्थामा छ’, राजकर्णिकारले भन्नुभयो ।
चितवनमा ठूलो प्रदर्शनीस्थलको आवश्यक रहेको भन्दै चितवनवासीले पहल थाले महासंघले सहयोग गर्ने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको मेला व्यवस्थापन समितिका संयोजक कल्याणकृष्ण ताम्राकारले यस्ता मेलाले बेरोजगारी समस्या समाधान गर्न सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराई, उद्योग संघका केन्द्रीय सदस्य ताराप्रसाद पौडेललगायतले बोल्नुभएको थियो । कार्यक्रम युवा समाज भरतपुरका अध्यक्ष असिम भट्टराईको अध्यक्षतामा भएको थियो ।
असोज २२ गतेसम्म चल्ने मेलामा १२० वटा स्टल रहेका छन् । मेला अवधिभर राष्ट्रयस्तरका कलाकारहरुले सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी