Thursday, December 20, 2012

किन मार्ने ‘ध्रुवे’ हात्तीलाई ?

हरिप्रसाद पोखरेल चितवन पोष्टबाट
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रवरपरको मानवबस्तीमा आतंक मच्चाएर मान्छेको ज्यानै लिन थालेपछि ‘ध्रुवे’ नाम गरेको हात्ती यतिबेला जीवन–मरणको दोसाँधमा छ । थाहा छैन, ऊ कतिबेला मर्छ ! किनभने उसलाई मार्न जनस्तरबाट आवाज उठेको छ । चितवनको सुरक्षा निकाय उसलाई देख्नासाथ गोली हान्न राइफल काँधमा राखेर हिँडेको छ । हात्ती आतंकका विरूद्ध बुधबार चितवन आंशिक रुपमा बन्दसमेत भयो । माडीमा तनाव जारी छ । तनाव सल्केर सदरमुकाम आइसक्यो । हुँदाहुँदा चितवनका विद्यार्थीको एक जुलुसले ‘हात्ती मुर्दावाद’ भन्ने नारासमेत लगाए । माडीका जनताको भोट खानकै लागि भए पनि राजनीतिक दलले आफ्ना कार्यकर्तालाई चोक–चोकमा परिचालन ग¥यो । सबैका हातमा सबै पार्टीका झन्डा देख्दा साँच्चै सबै कुरो त यही ‘ध्रुवे हात्ती’ ले नै बिगारेको रहेछ भन्ने भान भयो । कता–कता ती झन्डा र नारा जंगली हात्तीका विरूद्ध नभई देश निर्माण र आमसहमतिका लागि भइदिएको भए कति जाती हुन्थ्यो भन्ने पनि लाग्यो !

यो पंक्ति लेखिरहँदा ध्रुवे हात्ती अझै मरेको छैन । हातमा राइफल हुनेदेखि राजनीति गर्नेसम्मका चितवनका समुदाय ‘ध्रुवे’विरूद्ध खनिएपछि पक्कै एक दिन ध्रुवे मर्छ–मर्छ । यो पंक्ति लेख्दालेख्दै मर्न पनि सक्छ । लेखिसकेपछि पनि मर्न सक्छ । ऊ मरेपछि फेरि अर्को यस्तै ‘ध्रुवे’ जन्मन पनि सक्छ । जंगलको कुरो हो, कसलाई के थाहा छ र ! जंगलमा कति जनावर बहुलाएका छन् भन्नेबारे न निकुञ्जलाई थाहा छ, न अन्य कसैलाई । यसैले ध्रुवेलाई मार्न हुन्न भन्ने लाग्छ । बरू निकुञ्जवरपरका बासिन्दालाई जंगली जनावरका आक्रमणबाट जोगाउन अन्य कुनै वैकल्पिक उपाय अपनाएर सोच्नुपर्छ । मानवबस्ती वनबाहिर रमाउन पाउनुपर्छ । जनावरहरुलाई वनमै रमाउन दिनुपर्छ । जनावरहरुलाई वनबाट मानवबस्तीमा आउन नदिनु त मानव समुदायको काम हो । निकुञ्ज प्रशासनको धर्म हो । ‘वनको काफल वनकै चरीलाई......’ भनेजस्तै । हात्ती, गैँडाजस्ता जनावरहरुलाई मानवबस्तीमा आक्रमण ग¥यो भन्दैमा ती जनावरका विरूद्ध खनिँदै जाने हो भने हामी कुनै बेला जंगली जनावरविनाको समुदाय बन्न बेर लाग्दैन । हाम्रा वन जनावरविहीन हुनेछन् ।

हुन त, हात्ती बहुलायो भने उसलाई गोली हानेर मार्न सकिने नियम राष्ट्रिय निकुञ्ज ऐनमा छ । तर हात्ती बहुलाएको भन्ने प्रमाण कसैसँग छैन । फेरि सबै मानव विनाश यही ध्रुवेका नाममा थोपर्ने आधार के छ ? हात्तीसँग जानकारहरु पोथी हात्तीको चाहनामा मात्रै हात्ती बढी मात्ने गर्छ । मान्छेले जिस्क्याएपछि मात्रै उसलाई आक्रमण गर्छ भनिन्छ । यदि यसो हो भने निकुञ्जमा ‘ध्रुवे’ जस्ता हात्तीलाई पोथी हात्तीको अभाव हुन दिन भएन । हात्तीका लागि आहारा निकुञ्जभित्रै व्यवस्थापन गर्न सक्नुप¥यो । निकुञ्जवरपरका मानवबस्ती खाली गर्नुप¥यो । उनीहरुलाई ‘पदमपुर स्थानान्तरण’ गरेजस्तै अन्त कतै पुनस्थार्पना गर्नुप¥यो । नदीको किनारमा लगाएको बिरूवा सप्रन पनि सक्छ । ठूलो बाढी आएर बगाइदिन पनि सक्छ । के नदीले बिरूपा बगायो भन्दैमा नदीको पानीसँग रिस पोखेर हुन्छ ? मानवअधिकारको आवाज उठाइरहँदा जीवजन्तु र जनावरको बाँच्न पाउने अधिकारको पनि ख्याल राख्नुपर्छ । जनावरहरुले बोल्ने भाषा मान्छेले नबुझ्दैमा उनीहरुको बाँच्न पाउने अधिकारलाई हामी बुझ्ने र बोल्ने मान्छेले हनन गर्नुहुँदैन । सबै मानवबस्ती ध्रुवेले नै सखाप गरेको र भएजति मरेका मान्छेको दोष यही धु्रवेलाई थोपरेर निकुञ्ज प्रशासन र सचेत मानव समुदाय उम्कन मिल्दैन ।

वन्यजन्तुको रक्षा गर्न राष्ट्रिय निकुञ्जको स्थापना भएको हो । चितवन राष्ट्रिय निकुञ्ज हात्ती, गैँडा र बाघका लागि प्रसिद्ध पनि छ । विश्वमा पाइने एक सिंगे गैँडा यहीँ छ । यिनै जनावरलाई हेर्न विश्वभरबाट पर्यटकहरु चितवन आउँछन्, जसले चितवनलाई चिनाएको छ । नेपालको पर्यटन उद्योग फस्टाएको छ । यी जंगली जनावरहरुको सुरक्षा गर्न सकिएन भने चितवन राष्ट्रिय निकुञ्जको हविगत के होला ? यो प्रश्न सबैले सोंच्नुपर्ने विषय हो । आवेगमा आएर हात्ती मार्ने निर्णय न्यायोचित छैन । अब मध्यवर्ती क्षेत्रका बासिन्दाको सुरक्षासँगसँगै जंगली जनावरको सुरक्षाका लागि सबै एकजुट हुुन आवश्यक छ । बरू निकुञ्जबाट जंगली जनावरहरु मानवबस्तीमा नपुगोस् भन्नका लागि सकेसम्म निकुञ्जभित्रै उसका लागि आहारविहार, मनोरञ्जन सबै कुराको व्यवस्थापन गर्न पाए सजिलो हुन्छ । संवेदनशील क्षेत्रहरुमा तारजाली र सकिन्छ भने हात्तीले नभत्काउने ठूला पर्खालको निर्माण गरेर भए पनि समस्या समाधान हुनेभए यसतर्फ सोंच्न जरूरी छ ।

हात्तीसँग जानकारहरु हात्तीलाई एक पटक जिस्क्याएपछि सधैँ डसिरहन्छ भन्छन् । ‘धु्रवे’ हात्तीलाई पनि यसअघि आफ्नो पोथी हात्तीसँग छुटाउने काम भयो । बीचमा विभिन्न वितन्डा मच्चाएका कारण निकुञ्ज सुरक्षा खटिएकाहरुले उसलाई गोलीसमेत हाने । अझै उसले आफ्नो शरीरमा ५–७ वटा गोली लिएर घाइते शरीर लिँदै हिँडेको छ । यसको पीडा उसलाई कति भयो होला ? यदि यो साँच्चै हो भने यो पीडा खप्न नसकेर मान्छेसँग अझ उसले सकेसम्म बदला लिन्छ । यसैले ‘ध्रुवे’लाई सुधारगृह बनाएर राख्ने एवम् नियन्त्रणमा लिएर कुनै चिडियाखानामा लान पनि सकिन्छ । मार्नै परे उसलाई आफ्नो कालगतिले मर्न दिनु नै मानवजातिको धर्म हो ।

मात्तिएको हात्ती समस्या होइन । हात्तीलाई यो अवस्थामा पु¥याउने राष्ट्रिय निकुञ्ज व्यवस्थापन हो । यसैले यो व्यवस्थापनमा सुधार र सच्चाइको खाँचो छ । सडकमा ‘हात्ती मुर्दावाद’ भन्दै नारा घन्काउँदैमा हात्तीले मार्न छाड्दैन । एउटा हात्ती मरिहाले पनि अरुले छाड्दैन । बन्द गरेर हात्ती मर्ने पनि होइन । मानवअधिकारको वकालत गर्नेहरुले पशुअधिकारको बारेमा पनि सोच्नुपर्छ । बन्द र हड्ताल गरेजस्तो सजिलो हुँदैन हात्ती मार्नलाई । भावी दिनमा जंगली जनावरहरुबाट हुनसक्ने क्षतितर्फ दृष्टिगत गरी बेलैमा यससँग सरोकारवालाहरुले निर्दोष जंगली जनावरका बारेमा घतलाग्दो निर्णय लिन जरूरी छ । यसैले सबैका माझमा यो सन्देश पुगोस् ।
 

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी