Thursday, December 20, 2012

बोट दम्पतीको पाँच दिनपछि दाहसंकार

–तत्काल प्रतिमृतक तीन लाख  –सात दिनभित्र माग पूरा  –आन्दोलन स्थगित
भरतपुर । मृत्यु भएको पाँच दिनपछि माडीको गर्दीका बोट दम्पतीको दाहसंस्कार गरिएको छ । हात्तीको आक्रमणबाट मृत्यु भएका बोट दम्पतीको शव उठाउने सहमति भएसँगै उनीहरुको दाहसंस्कार गरिएको हो ।

स्थानीय रिउखोलामा दाहसंस्कार गर्नुअघि सयौंको सहभागितामा शवयात्रा निकालिएको थियो । प्रशासनसँग सहमति भएसँगै माडीवासीले हालका लागि आन्दोलन स्थगित गरेका छन् । सात दिनभित्र माग पूरा गर्ने सर्तमा माडीवासीले प्रशासनसँग सहमति गरेका हुन् ।

बिहीबार एमाले पार्टी कार्यालय भरतपुरमा बसेको सर्वदलीय बैठकमा पीडितहरुका माग सम्बोधन हुने गरी सहमति भएको हो । पीडितहरुलाई तत्काल प्रति मृतक तीन लाख रुपैयाँ राहत स्वरुप दिने र बाँकी सात लाख रुपैयाँ उपलब्ध गराउन मन्त्रालयमा डेलिगेसन जाने, निकुञ्ज क्षेत्रको बाटो फराकिलो बनाउन सम्बन्धित पक्षलाई दबाब दिने, बस्तीमा पसेर आतंक मच्चाउने धु्रबे हात्तीलाई मार्ने, पीडित परिवारका एक जनालाई रोजगारी दिने सहमति भएको  संघर्ष समितिका जेनबहादुर बोटले जानकारी दिनुभयो ।

बैठकमा संघर्ष समितिका पदाधिकारीलगायत जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधि तथा प्रमुखहरुको सहभागिता रहेको थियो । यसअघि बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले पनि सो निर्णय गरे पनि निर्णय अस्पष्ट भएको भन्दै संघर्ष समितिको सहभागितामा पुनः बिहीबार बैठक बसेको हो ।

माडीको गर्दीमा आफ्नै घरमा बसिरहेका समयमा गत शनिबार राति निकुञ्जबाट निस्किएको हात्तीले गर्दी गाविस वडा नम्बर ९ का स्थानीय ६५ वर्षीय बुद्विराम बोट र उनकी श्रीमती जरिया बोटलाई आक्रमण गर्दा उनीहरुको मृत्यु भएको थियो ।

घाइते ध्रुबेको खोजि कार्य जारी


बिहीबार साँझ गोली हानिएको चितवन निकुञ्जको जंगली हाती ध्रुबेको खोजी कार्य जारी रहेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमक कार्कीले हात्ती निकुञ्जको पश्चिम सुखीभार क्षेत्रमा रहेको र रेडियो कलरका आधारमा पछ्याइरहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले पनि हात्तीलाई गोली लागेको पुष्टि गर्नुभएको छ । गोली लागे पनि हात्ती फेला पार्न सकिएको छैन । हात्ती मार्न खटिएका सेना, प्राविधिक, कर्मचारीको टोलीले दिनभर खेदेर साँझ करिब ६ बजे गोली चलाएको थियो ।
श्रोतका अनुसार धु्रबेलाई लक्षित गरेर गोली प्रहार गरिएको थियो । त्यस क्षेत्रमा रगतको दाग फेला परेको बताइएको छ । रेडियो कलरले दिने संकेतका आधारमा हात्तीलाई पिछा गरिएको छ । हात्ती मार्न ७० जनाको टोली आइतबारदेखि खटिएको छ ।

तोडफोड र आगजनीको भत्र्सना

मध्यवर्ती कार्यालयमा गरिएको तोडफोड र आगजनीको भत्र्सना गर्दै माडीका चारवटै उपभोक्ता समितीले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् ।

पाँचपाण्डव उपभोक्ता समिति गर्दीका अध्यक्ष यमकान्त भुसाल, बघौडा उपभोक्ता समिति अध्यक्ष प्रभु महतो, रेवा उपभोक्ता समिति कल्याणपुरका अध्यक्ष मुक्तराज लामिछाने र अयोध्यापुरी उपभोक्ता समितिका अध्यक्ष मथुराबहादुर भण्डारीद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा हात्ती आक्रमणबाट ज्यान गुमाएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै संघर्ष समितिको माग जायज रहेकोमा ऐक्यबद्धतासमेत जनाइएको छ ।

विज्ञप्तिमा आन्दोलन गर्ने निहँुमा संघर्ष समितिको योजनाविपरीत केही अराजक उच्छृंखल समूहको नेतृत्वले मंगलबार मध्यवर्ती कार्यालयमा गरिएको तोडफोड र आगजनीबाट करिब ५० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको उल्लेख छ । ‘सो अराजक क्रियाकलापको घोर भत्र्सना गर्दै घटनामा संलग्नलाई पहिचान गरी कडा कारबाहीका लागि प्रशासनसमक्ष जोडदार माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

मृतक बोट दम्पतीको शव दाहसंस्कार गर्ने सहमतिपछि स्थानीयबीच गर्दीमा सम्बोधन गर्दै एमाओवादीका नेता ठाकुर ढकाल ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी