Friday, January 18, 2013

महोत्सवमा करिब नौँ लाखको पुस्तक बिक्री, धेरैको रोजाइ सेतो धरती

विधुर ढकाल
नारायणगढ । नारायणी नदी किनारमा सम्पन्न भएको चितवन महोत्सव तथा मध्यमाञ्चल औद्योगिक एवम् व्यापार मेलामा करिब नौँ लाख रुपैयाँभन्दा बढीको पुस्तक बिक्री भएको छ ।

महोत्सवमा २०६८ सालको मदन पुरस्कार प्राप्त गरेको अमर न्यौपानेको सेतो धरती सबैभन्दा बढी ३०० प्रति बिक्री भएको छ । सो पुस्तक महोत्सवमा रहेको मास्के पुस्तक भण्डारबाटमात्र २०० प्रति बिक्री भएको मास्के पुस्तक भण्डारका लेखराम सापकोटाले जानकारी दिनुभयो ।


मास्के पुस्तक भण्डारबाट करिब डेढ लाख बराबरको अन्य पुस्तकहरु बिक्री भएको उहाँले बताउनुभयो । महोत्सवमा जगदिश घिमिरेको अन्तर्मनको यात्रा र सकस, झमककुमारी घिमिरेको जीवन काँडाकी फूल, शारदा शर्माको ताप, शरोजराज अधिकारीको चक्रव्यूहमा चन्द्र सूर्य, बुद्धिसागरको कर्णाली ब्लुज, पूण्य प्रसाईंको आइमाई मान्छेलगायतका पुस्तक बढी बिक्री भएको महोत्सवमा राखिएका स्टलहरुले जनाएका छन् ।

महोत्सवको अन्तिम दिन युवा पुस्ताका उपन्यासकार सुवीन भट्टराईलाई महोत्सवमा मास्के पुस्तक भण्डारले ल्याई पाठकसँग प्रत्यक्ष उहाँको नयाँ उपन्यास समर लवका बारेमा जानकारी गराएको थियो ।

यसका अलावा महोत्सवमा विदेशी लेखकहरुमा चेतन भगत र पावलो कोहेलोका पुस्तक तथा बाराक ओवामाको ‘चेञ्ज वी क्यान विलिभ इन्’ तथा शिव खेडाको ‘यू क्यान वीन’लगायतका पुस्तक बिक्री भएका छन् । बालबालिका पुस्तकसमेत महोत्सवमा बिक्री भएका छन् ।

महोत्सवमा हरेक प्रकारका पाठकहरुले किताब किनेको डिकुरा प्रकाशन काठमाडौंका व्यवस्थापक यम प्रसाईंले जानकारी दिनुभयो । विद्वत वर्गले बढी पुस्तक किनेको प्रसाईंको भनाइ छ । विद्यार्थीहरुको समेत पुस्तकमा रुचि बढेको उहाँले बताउनुभयो ।

विद्यार्थीहरुले बढी अंग्रेजी साहित्यका पुस्तक तथा सफल व्यक्तिका जीवनस्का पुस्तक किनेको उहाँले जानकारी दिुनभयो । महोत्सव अवधिमा सबैभन्दा बढी कारोवार डिकुरा प्रकाशनले गरेको छ । स्टलबाट करिब साढे चार लाख बराबरको कारोवार गरेको व्यवस्थापक प्रसाईँले चितवन पोष्टलाई जानकारी दिनुभयो ।

त्यस्तै साझा प्रकाशनले पनि महोत्सव अवधिभर दुई लाख रुपैयाँभन्दा बढीको कारोवार गरेको छ । साझा प्रकाशनले प्रकाशन गरेको बीपीका उपन्यासहरुको साझा संग्रह बढी बिक्री भएको वरिष्ठ सहायक कृष्ण पाण्डेले जानकारी दिनुभयो । त्यसपछि गौरव प्रसाईंको मेरा जीवनका कथाहरु बिक्री भएको उहाँले बताउनुभयो ।

महोत्सवमा झरी प्रकाशनको थोते जर्नेल पनि बिक्री भएको पुस्तक हो । यो प्रकाशनले करिब पचास हजार रुपैयाँभन्दा बढीको कारोवार गरेको जनाएको छ । यता, महोत्सवमा पचास हजार रुपैयाँभन्दा बढीका धार्मिक पुस्तकहरुसमेत बिक्री भएका छन् ।

महोत्सवमा रहेको धार्मिक पुस्तक भण्डारका नारायण काफ्लेका अनुसार युवायुवतीहरुले समेत धार्मिक पुस्तक किनेका छन् । सानो गीता, हनुमान चालिसा तथा मन्त्रसम्बन्धी पुस्तक महोत्सवमा बिक्री भएको उहाँले बताउनुभयो ।

महोत्सवमा श्रीस्वस्थानी ब्रतकथाको पुस्तक पनि बढी नै बिक्री भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै युवतीहरुले ब्रतसम्बन्धी पुस्तक किनेको काफ्लेले बताउनुभयो । 

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी