Monday, March 4, 2013

मतदाता नामावलीमा चितवनका करिब एक लाख छुट

भरतपुर । निर्वाचनको चर्चा चलिरहेका बेला चितवन जिल्लामा भने मतदानको उमेर पुगेका करिब एक लाख मतदाता मतदाता नामावली संकलनमा सहभागी नभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

२०६८ सालको जनगणना तथ्याङ्कअनुसार पाँच लाख ६९ हजार ९८४ जनसंख्या रहेको चितवनमा जनसंख्याको साठी प्रतिशत करिब तीन लाख ४१ हजार ८३९ जनसंख्या मतदानको लागि उमेर पुगेको अनुमान छ । जसमध्ये ९७ हजार ८३९ जना मतदाता नामावली संकलनमा सहभागी नभएका हुन् । हालसम्म दुई लाख ४४ हजारको मात्र मतदाता नामावली संकलन भएको कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।

करिब ८६ हजार ३०२ मतदाता रहेको भरतपुर नगरपालिकामा ५१ हजार १८६ जनाको मात्र मतदाता नामावली संकलन गरिएको छ । नगरपालिकामा कूल एक लाख ४३ हजार ८३६ जनसंख्या रहेको छ । यसरी हेर्दा भरतपुर नगरपालिकामा मात्र ३५ हजार ११६ जनाको नाम मतादाता नामावलीमा छुट भएको देखिन्छ ।

त्यस्तै जिल्लाको अर्काे नगरपालिका रत्ननगर नगरपालिकामा ६ हजार ४६७ को नाम मतदाता नामावलीमा छुट छ । रनपामा २७ हजार ८२० जना मतदानका लागि योग्य नागरिक रहेको अनुमान कार्यालयको छ ।

यता, सबैभन्दा बढी जनसंख्या भएको खैरहनी गाविसमा दुई हजार २९२ जनाको नाम नामावलीमा छुट छ । रोजगारीका लागि विदेशिएका नागरिक, नागरिकताको प्रमाणपत्र नभएका र राजनीतिक वितृष्णाका कारण पनि उनीहरुको नाम मतदाना नामावलीमा छुट भएको कार्यालय प्रमुख ढकालले बताउनुभयो ।

निर्वाचन आयोगको चितवन कार्यालयले निर्वाचनको तयारी स्वरुप मतदाता शिक्षासहितका कार्यक्रम सञ्चालन गर्न लागेको छ । कार्यालयले प्रत्येक गाविस तथा नगरपालिकाका वडा कार्यालयका सचिवहरुलाई तालिम दिने तयारीमा रहेको जिल्ला निर्वाचन आयुक्त ढकालले बताउनुभयो ।

त्यस्तै चैत्र ४ गतेबाट महिनाभर गाविस तथा नगरपालिकाका वडा कार्यालयहरुमा मतदाता नामावली अद्यावधिक गर्नका लागि कर्मचारी पुग्ने समेत उहाँले जानकारी दिनुभयो ।

 

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी