Tuesday, March 5, 2013

बूढा हजुरबा–आमालाई नै चिनेनन् प्रवासचोकले फोटो फिचर

हजुरबाले काखमा लिन खोज्दा तर्कदैँ प्रवाशचोक ।
कविलास । ‘बाबु सन्चै’, ८० वर्षीय मैतलाल चेपाङले नौ महिनापछि नाति प्रवासचोकलाई भेटेपछि खुसी हुँदै भने, ‘यो त यत्रो भएछ ।’ कालो मैलो कछाड र सेतो मैलो सर्टमा चाउरी परेका आफ्नै हजुरबुबालाई समेत नचिनेको जस्तो गरेका प्रवासले हेरेमात्रै केही बोलेनन् । हजुरबाले काख लिन खोज्दा प्रवास मानेनन् ।

छोए मैलो लाग्लाजस्तै गरी चिटिक्क अवस्थामा आएका आफ्नै नातिले समेत नचिनेको जस्तो गरेपछि मैतलालले भने, ‘बाबु चिनेनौं, म तिम्रो बाजे ।’ दुखेसो पोख्दै उनले चितवन पोष्टसँग भने, ‘नौ महिनामा त यसले हामीलाई नचिन्ने भएछ ।’ पूर्वप्रधानसेनापति छत्रमान गुरुङको परिवारले माया गरेपछि आफूहरुलाई बिर्सिएको हुनसक्ने उनले शंका गरे ।

मैतलालले गम्भीर हँुदै भने, ‘यसको बाबुआमाको मृत्यु भएको पनि आज नौ महिना भएछ ।’ नातिलाई मैतलालले फकाउँदै गर्दा उनीभन्दा सात वर्ष कान्छी श्रीमती ७३ वर्षीया सन्चरी चेपाङले आँशु वरर झार्दै रुन्चे स्वरमा भनिन्, ‘आफ्नै बाजेबज्यैलाई पनि चिन्दैनौं बाबु ।’

सँगै लिएर आएको अण्डा नातिलाई खुवाएपछि मात्रै प्रवासचोक बिस्तारै हजुरबुबा–आमासँग रत्तिँदै गए । हजुरआमाको काखमा पालैपालो बसेर उनीहरुले ल्याइदिएको कोकोनट बिस्कुट र अण्डा खाए ।

चेपाङ दम्पतीले सय रुपैयाँ खर्च गरी नातिलाई अण्डा ल्याएका हुन् । ‘नाति आउँछ भन्ने थाहा पाएपछि कुखुरा बेचेर बचेको पैसाले चारवटा अण्डा किने । ‘एउटा नातिलाई, अरु छत्रमानलाई दिने हो’, सन्चरीले भनिन् ।

गत जेठ ३१ गते विषालु च्याउ खाएर बिरामी परेका प्रवासचोकका ३५ वर्षीय बाबु बुद्धिबहादुर र ३० वर्षकी आमा सोमतीसहित पाँच जनाको परिवारका सदस्यको असार ५ गतेसम्ममा मृत्यु भएको थियो ।

बाबुआमाको मृत्युले टुहुरो बनेका साढे दुई वर्षीय प्रवासचोकलाई तत्कालीन प्रधानसेनापति छत्रमानसिंह गुरुङले उद्धार गरेर पाल्दै आउनुभएको छ । काठमाडांैमा हुर्कदै गरेका प्रवासचोक नौ महिनापछि मंगलबार आफ्नै गाउँमा हजुरबुबा–आमालाई भेट्न आउँदा केहीबेर अवस्था भावविह्वल बनेको थियो ।

स्थितिप्रति सान्तवना दिँदै पूर्वप्रधानसेनापति गुरुङले भने, ‘मैले लगेर पालेको पनि नौ महिना भयो । सुरूमा तीन दिन अस्पताल लगेर उपचार गरेँ । अहिले मैले आफ्नै सन्तान जसरी नै पालेको छु र बोर्डिङमा पनि पढाउन थालेको छु ।’

प्रवासचोकले नौ महिनामा आएर आफ्नो हजुरबा–आमालाई भेटेका हुन् । उनले आफूभन्दा डेढ वर्ष कान्छो भाइलाई माया गर्दै मिठाई पनि खुवाए । गुरुङ परिवारले चेपाङ परिवारलाई ल्याइदिएको खाद्यान्नका सामग्री पनि उनीहरुलाई दिने काम गरियो ।

करिव दुई घण्टाको पारिवारिक भेटघाट सफा र चिटिक्क भएको नातिलाई हेर्दै हजुरबुबा मैतलाल भन्छन्, ‘अब नाति ठूलो मान्छे भएको देख्न मन लागेको छ । गाउँ फर्कँदा ऊ सबैले मान्य भएर फर्कियोस् ।’
नातिलाई देखे पछि भावविह्वल हजुरबा ।



नातिलाई दिन भनेर ल्याएको अण्डा हातमा लिएकी हजुर आमा ।

नातिले अण्डा खाएको खुशीका साथ हेर्दै हजुर आमा
अण्डा दिए पछि हजुरआमाको काखमा आएका प्रवाशचोक ।



भावविवह्ल हजुरबा, हजुरआमाको साथमा प्रवाशचोक । तश्विरमा देखिन्छ नरुनुस हजुरबा, हजुरआमा भन्दैछन प्रवाशचोक ।
 समाचार साभार ः चितवन पोष्ट, फोटो सौजन्य ः बसन्त पराजुली

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी