Tuesday, April 10, 2012

आमालाई भनिदिनु कान्छो आजका मितिसम्म सकुसल नै छ ।


प्रेयषी सिर्जना,        
                     अमिट सम्झनाका तरेलीहरुमा एकपटक पुनः तिम्रो यादमा जलिरहेको यो मनलाई तिम्रो प्रेमका निम्ति समर्पित गर्न पठाउँदै छु यो पत्रको सहारामा तिम्रो बस्तीतिर स्वीकार ल..........................!
आराम रही आरामताको कामना गर्दछु । घरतिर सबै आरामै होलान् । सपनाको हाम्रो रहर फूलिरहेकै होला ? ती मेरी बूढी आमालाई पनि आरामै होला । कान्छाको ढोग छ रे भनेर सुनाइ दिनु । बिदा मिले चाँडै नै आउने छु । गाउँका साथीसंगीहरुको पनि हाल आरामै होला । मेरोतर्फ देखिको सम्झना र माया सुनाइदिनू, अनी तिमीलाई कस्तो छ ..........................?
सिर्जना, यो माहोलमा गाउँतिर नयाँ वर्षको माहोल छाइरहेको होला । साथीसंगीहरु नयाँ वर्षको उदीयमान दिनहरुको स्वागतका निम्ति हातमा पुष्प गुच्छाहरु लिएर पर्खिरहेका होलान् । यता सहरतिर पनि नववर्षको स्वागतका निम्ति सहरका गल्लीगल्ली र चोकहरु रंगीन थालेका छन् । नववर्षको नुतन बिहानीमा सबैले आफ्ना आफन्त प्रियजनको सम्झना र शुभकामनामा दिनहरु कटाइरहेका छन् । तरपनि आज यो मन भय र त्रासको बीचमा आतंकको कालो बादलबीच मडारिरहेको छ ।

तिमीले सहरका यी खबरहरु सुनिरहेकी अवस्य पनि हुन्छ्यौ होली । आज यो सहरबीच घट्ने घटनाहरुले पनि तिम्रा मन छुन्छन् होला .! आज नववर्षको शुभकामना दिनुपर्ने ठाउँमा म तिम्रासामु काँतर तरपनि यथार्थताको खाडलमाँझबाट पीडाका स्वरहरु सुनाइरहेको छु । सिर्जना तिमीले पक्कै पनि सुनी हौली बुधबार बिहानै एकजना पत्रकार यादव पौडेलको झापामा हत्या भयो । सायद निडर रुपले कलम चलाएकै आधारमा हत्या भएको हो । हत्याहरु बहादुर सिपाहीलाई कायरतापूर्वक हत्या गर्ने गर्दछन् भन्ने तिमीलाई थाहा नै छ, हो त्यस्तै तवरले हत्या गरियो पौडेलको । कस्तो विडम्बना समाचार लेखेकै भरमा हत्या गरिन्छ यहाँ पत्रकारको भने कसरी आफ्नो जीवन सुरक्षित भएको महसुस गर्ने आमसर्वसाधारणले ।

तिमीले यो खबर सुन्नासाथ मलाई फोन गर्ने प्रयास गरेकी रहिछौ तर म तिम्रो फोन उठाउन भने सकिन किनकि म त्यतिखेर शोकको घडिमा थिएँ । र हामी साथीहरु मिलेर हत्यारामाथि कारबाहीको माग राख्दै जुलुसमा निस्किदै थियौँ । कस्तो विडम्बना तिमीले गरको फोन मैले उठाउन पाइन, पछि मैले फोन गर्न खोज्दा तिमी फर्किसकेकी रहिछौ । मलाई पीसीओवाला दाइले भन्दैथिए, ‘उनी त फर्की सकिन्, एकदम निरास चिन्तित देखिन्थिन् खोई के भएको हो । भनिन् फोन आए चिठी कोर्न लगाइदिनु होला भनेर गइन् ।’ उनले यो पनि भनेका थिए भाइ, आमा पनि एकदम चिन्तित देखिन्थिन के भएको हो तिम्रोबारेमा सोधिरहेकी थिइन्, मैले घट्टमा भेट्टाएको थिएँ ।
यो सुनेर मलाई साह्रै नै ती बूढी आमाको याद आयो र तिमीलाई यो पत्र कोर्दै छु । आमालाई सुनाइदिनु ‘कान्छो आजका मितिसम्म आरामै र सकुशल नै छ’ । खाली आमाको आशीर्वादको खाँचो छ । तिमीले हिजो फोन गर्न हतारिएर आउनुको कारण पनि यही होला होइन ? झापाका पत्रकार यादव पौडेलको हत्या भएको खबरले तिमीलाई झस्कायो होला । यी यस्ता खबर आमालाई चाहिँ नसुनाउनु ल ..........................!
दमकी बिरामी आमा त्यसैमाथि यो खबरले झन् दम बल्झेला । अहिलेसम्म त मलाई त्यस्तो केही भएको छैन, हुने पनि छैन । चिन्ता पनि नलिनू ल । फेरि काम नै यस्तो रोजेको छु त सत्यको उजागर र असत्यको पर्दाफास गर्दा हत्याजस्तो अमानवीय व्यवहारको सिकार हामीजस्ता पत्रकार पर्दा सिर्जना तिम्रो मन आत्तिनु स्वभाविक नै हो तर पनि यसरी सानातिना घटनाले हामी नै अत्तालिएर पछाडि हटे झन् ती हत्यारालाई आफ्नो कर्तुतको कुनै पछताब नहोला नि होइन ? त्यसैले सिर्जना तिमी त केही बुझ्ने छौ नि, राम्रोसँग आमाको ख्याल राख्नु फेरि यस्तो बेलामा तिमीले मेरोभन्दा पनि आफ्नो चिन्ता लिनु पर्दछ ।

सुन्दर बिहानीको कल्पनामा हराउँदा पनि डरको महासमरमा किन हेलिनु छ र ? त्यसैले त सिर्जना आफूलाई सम्हाल्नू । समाज परिवर्तनको नवीन लक्ष्य बोकेर हिँडेको तिम्रो सिर्जन कहीँकतै दोबाटोमा हेलिन पुगे पनि तिमीले नै बाटो बिराएको मलाई सही बाटोमा डो¥याउनु पर्दछ । यो अवस्थामा तिमी एक निडर योद्धा बनेर मेरो साथमा रहनु पर्दछ । र रहने पनि छौ भन्ने मलाई पूर्ण विश्वास छ ।
यहाँ तिम्रो सिर्जनजस्ता अनेकौँ सिर्जन छन्, जसलाई उनीहरुका सिर्जनाले यसैगरी साथ दिइरहेका छन् । फेरि सबै सिर्जनाहरु आफ्नो सिर्जनको चिन्ता गरेर यो पथबाट नै पछाडि हटाउन चाहने हो भने सिर्जना, सोंच त हामीले कल्पना गरेको समाज कहाँ र कहिले प्राप्त होला । त्यसैले पनि त यो मार्गमा दगुरिरहेका अनेकाँै सिर्जनहरुलाई तिमीजस्ता सिर्जनाहरुले साहस जुटाइदिनु पर्दछ । उनीहरुको हौसला बढाइदिनु पर्दछ । सोच तिम्रा हरेक साहसले मेरा पाइलालाई यो मार्गमा निडर रुपमा अगाडि बढ्न प्रेरणा प्रदान गर्ने छन् । तिमीलाई थाहै होला नि यो सिर्जन तिम्रो साहसविना, तिम्रो प्रेरणाविना एक कदम पनि अगाडि बढ्न सक्दैन ।

सिर्जना, किनकिन आज मलाई पनि तिम्रो यादले सताएको छ । तर पनि त्यो यादलाई फेरि पत्रकार यादव पौडेलको हत्याको खबरले भुलाइ दिएको छ यतिखेर मनमा योमात्र कल्पना बाँकी छ कि पौडेलको हत्या गर्ने हत्यारालाई कारबाही हुनु पर्दछ । हामीले यो पहल गर्नुपर्ने अवस्था आएको छ । त्यसैले त तिमीले पनि हाम्रो यो अभियानमा साथ दिनु पर्दछ भनिरहेको छु म । फेरि तिमीे यतिबेला पौडेलकी शोकमा डुबेकी जीवनसंगिनीको आँशुलाई पुछ्न सक्नु पर्दछ । हुन त, तिमी कहाँ उनी कहाँ तर पनि तिम्रो साहसले उनका आँशुका बुँदहरुलाई पुछ्न सक्दछन् ।

सिर्जना यो अवस्थामा म र मेरा सबै प्रियजनहरु नै शोकमा डुब्दा तिमीले यो अवस्थामा हाम्रा हरेक आँशुका बुँदहरुलाई पुछ्ने छौ भन्ने आशा राख्दछु । प्रेयषी आजलाई यत्ति नै ल ! पुनः अर्काे पत्रमा अवश्य नै भेट हुनेछ । अन्त्यमा सिर्जना, नयाँ वर्ष २०६९ सालको उपलक्ष्यमा शुभकामना । सम्पूर्ण प्रियजनहरुलाई पनि नवीन बिहानीमा नुतन शव्द गुच्छाहरुसहित सफलताको कामना सुनाइदिनु ल .....................!
उही तिम्रो
प्रिय सिर्जन,
भरतपुर, चितवन ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी