Wednesday, April 11, 2012

हावाहुरीले डेढ करोडबढीको केराखेती नष्ट

विधुर ढकाल ठिमुरा । आइतबार राति गएको हावाहुरीका कारण भरतपुर—१, ठिमुराका कृषकहरुको चालिस बिघामा लगाएको केराखेती नष्ट भएको छ । हुरीले गर्दा कृषकहरुको करिब एक करोड ६२ लाख २० हजार बराबरको क्षति भएको जिल्ला कृषि कार्यालय चितवनले जनाएको छ । बुधबार कृषि कार्यालयका अधिकारी, कृषक तथा पत्रकारहरुको संयुक्त टोलीले ठिमुरा पुगी केराको क्षतिको अनुगमन गरेको थियो । कार्यालयका योजना अधिकृत सन्तोष पौडेलले दिएको जानकारीअनुसार ठिमुरामा ४० बिघा १० कठ्ठामा लगाइएको केराका बोटलाई हावाहुरी तथा असिनाले नष्ट पारेको हो । हावाहुरीले बारीमा भएको ६४ हजार ८८० बोटमध्ये ५१ हजार ९०४ बोटलाई क्षति पु¥याएको पौडेलले बताउनुभयो । प्रतिबोटले दिने उत्पादनका आधारमा क्षतिको मूल्याङ्कन गरिएको भन्दै उहाँले भन्नुभयो, ‘प्रतिबोटले दिने उत्पादनका आधारमा एक कोसा केरा बराबर दुई रुपैयाँ पचास पैसाका दरले हुन आउने एक करोड ६२ लाख २० हजार रुपैयाँ बराबरको क्षति पु¥याएको देखियो ।’ सरकारसँग क्षतिको विवरण पठाएर राहतका लागि पहल गर्ने उहाँको भनाइ थियो । तर किसानहरुले भने करिब चार करोडभन्दा बढीको क्षति भएको जनाएका छन् । किसान देवेन्द्र पौडेलले भन्नुभयो, ‘अहिले केराको बजार मूल्य प्रतिकोसा तीन रुपैयाँको दरले बिक्री भइरहेको छ, यसको आधारमा करिब साढे चार करोड बराबरको क्षति भएको छ ।’ हावाहुरीले पु¥याएको क्षतिको मूल्याङ्कन गरी उचित राहत दिएर सरकारले व्यवसायीको मनोबल गिर्नबाट बचाउनुपर्ने पौडेलले बताउनुभयो । ‘चार÷पाँच वर्ष विदेशमा बसेर नेपाल फर्किएपछि स्वदेशमा नै केही गर्नुपर्छ भनेर व्यावसायिक केराखेती थाले पनि सरकारले हामीलाई प्रोत्साहन गर्ने कुनै काम गरेको छैन’, उहाँले गुनासो गर्नुभयो । किसानहरुले पटकपटक दैविक प्रकोपबाट क्षति ब्यहोरे पनि सरकारबाट राहत भने नपाएको गुनासो गरेका छन् । सरकारले दिने राहतको कुनै आशा नभएको भन्दै केरा व्यवसायी संघ चितवनका उपाध्यक्ष यज्ञप्रसाद सुवेदीले भन्नुभयो, ‘हाम्रो क्षति करोडौँको हुन्छ तर सरकारले हजार पनि दिँदैन, अघिल्लो पटक क्षति हुँदा सरकारले प्रतिबोट एक रुपैयाँ पचास पैसाका दरले राहत दिएको थियो, जबकी हाम्रो क्षति प्रतिकोसा तीन रुपैयाँ पचास पैसा बराबरको क्षति हुन्छ ।’ हावाहुरीले सबैभन्दा बढी जयअम्बे मल्टी एग्रो फर्म प्रालिको ११ बिघामा लगाएको केराखेती नष्ट गरेको छ । त्यस्तै भरत भण्डारीको आठ बिघा, देवेन्द्र पौडेल र प्रेम पौडेलको नौ बिघालगायत १५ जना कृषकको केराखेती नष्ट गरेको हो । क्षतिको मूल्याङ्कन गरी कार्यालयले नै सिधै राहत दिन नमिल्ने कृषि कार्यालयले जनाएको छ । ‘हामीले मातहतको मन्त्रालय र जिल्ला विपद व्यवस्थापन समितिमा राहतका लागि सिफारिस गर्ने हो’, कार्यालयका वागवानी विकास अधिकृत खटकबहादुर थापाले भन्नुभयो । चितवनमा कार्यालयको प्रविधिक सहयोगमा २६० कृषकहरु व्यावसायिक केराखेतीमा संलग्न रहेको उहाँले बताउनुभयो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी