राजविराज । अदालतले मालपोत कार्यालयबाट रजिस्ट्रेसन पास भएको राजविराजको मुख्यचोकको करिब दुई करोड पर्ने जग्गाको रजिस्ट्रेसन बदर गरेको छ ।
सप्तरी जिल्ला अदालतले मालपोत कार्यालयबाट रजिस्ट्रेसन पास भएको विवादित जग्गाको रजिस्ट्रेसन नम्बर १४७१९ र १४७५७ को राजीनामा लिखतहरु बदर गरेको हो ।
जिल्ला अदालतका अतिरिक्त जिल्ला न्यायाधीश रितेन्द्र थापाको एकल इजलासले विन्देश्वरीका छोरीहरु सुनिताकुमारी दास र बबिताकुमारी दासको नाममा मालपोत कार्यालय सप्तरीले गरेको जग्गा दर्ता बदर गरी पूर्वअवस्थामा राख्न आदेश दिएको छ ।
अदालतको आदेशमा भनिएको छ, ‘विवादित जग्गा यथास्थितिमा रहन आवश्यक देखिन्छ । यसरी कार्यान्वयनको क्रममा रहेको जग्गा हक हस्तान्तरण भएको अवस्थालाई मान्यता दिने हो भने जिल्ला अदालत नियमावली, २०५२ को नियम ७८ ‘क’ को व्यवस्था हुनुको औचित्यसमेत समाप्त हुन्छ । तसर्थ विवादित रजिस्ट्रेसन नम्बर १४७१९ र १४७५७ को राजीनामा लिखतहरु बदर गरिएको छ ।’
राजविराज–४ बस्ने विन्देश्वरीप्रसाद दासको नाममा रहेको राजविराज–४ स्थित गजेन्द्रचोकका जग्गाहरु यथास्थानमा राख्न सप्तरी जिल्ला अदालतले दिएको निर्देशनविपरीत गत फागुन २६ गते मालपोत कार्यालयबाट पास भएको थियो ।
चार जना दाजुभाइबीच उत्पन्न अंशबन्डा विवाद अदालतमा पुग्दा जग्गा यथास्थितिमा राख्न सप्तरी जिल्ला अदालतले मालपोत र नगरपालिकाको कार्यालयलाई पत्र पठाए पनि मालपोत र नगरपालिकाका कर्मचारी मिलेर विन्देश्वरीका दुई छोरीका नाममा जग्गा पास गरिदिएका थिए ।
उक्त विवादित जग्गा निवेदकहरुको समेत बन्डा लाग्ने भई गत पुस २९ गते राजविराज नगरपालिकाको कार्यालयमा दाखिला खारेज पुर्जीसमेत जारी भएको थियो ।
मालपोत कार्यालय प्रमुख सरयुगलाल दासले अदालतको आदेशको अवज्ञा गर्दै राजविराज–४ स्थित गजेन्द्र चौकमा रहेको जग्गा प्लट नं.८÷२ को १९ धुर, वडा नं. ३ स्थित दर्जी लाइनको प्लट नं. ३÷२ को चार धुर, प्लट नं. ३७÷२ को चार धुर र प्लट नं २÷४ को साढे आठ धुर गरी एक कट्ठा साढे १५ धुर जग्गा विन्देश्वरी दासका छोरी बबिता र सुनिताको नाममा रजिस्ट्रेसन पास गरिदिएका थिए । विन्देश्वर दास नातामा सरयुग दासका ज्वाइँ पर्दछन् ।
जिल्ला प्रशासन कार्यालयको अनुसन्धानबाट अदालतको आदेश समेतको अवज्ञा गर्दै आर्थिक प्रलोभनमा परी मालपोत कार्यालयका तत्कालीन निमित्त कार्यालय प्रमुख दास, नायब सुब्बा जनार्दन देव, राजविराज नगरपालिकाका तत्कालीन निमित्त कार्यकारी अधिकृत हरिनारायण राम रौनियार, ओभरसियर केवल दास, नायब सुब्बा देवराम यादवलगायत नौजना कर्मचारी मिलेर जग्गा पास गरेको देखिएकाले कारबाहीका लागि सबुत कागजप्रमाण अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा दुई दिनअघि पठाइएको छ । रासस
No comments:
Post a Comment
Thanx for your comment