Thursday, May 17, 2012

वन तथा पशुपालन कार्यक्रमको अनुगमन

खोटाङ । जिल्ला वन कार्यालय खोटाङले गरिब तथा विपत्र वर्गको जीविकोपार्जनको लागि प्रदान गरेको कबुलियती वन तथा पशु विकास कार्यक्रमतर्फ नुनथला क्लस्टरमा रहेका दुई वटा कबुलियती वन समूहको संयुक्त अनुगमन गरेको छ । नुनथला गाविसका १० वटा समूहमध्ये नुनथला–५का मूलपानी कबुलियती वन उपभोक्ता समूह र नुनथला–४ मा रहेको पौवा बिसौनी कबुलियती वन उपभोक्ता समूहको संयुक्त अनुगमन गरिएको छ । कबुलियती वन समूहका सरोकारवाला निकाय, जिल्लास्थित सरकारी कार्र्यालय प्रमुख तथा प्रतिनिधि, पत्रकारलगायतको सहभागितामा गरिएको संयुक्त अनुगनमका क्रममा वन समूहमा हस्तान्तरण गरिएपछि कबुलियती वनको अवस्थामा सुधार आएको र उपभोक्ताको जीविकोपार्जनमा सहजता आएको पाइएको छ । पहाडी भेगमा गरिबीको रेखामुनि रहेका विपत्र परिवारको आर्थिक अवस्थामा सुधार ल्याई आयस्तर वृद्धि गर्ने उद्देश्यले खोटाङ जिल्लामा सञ्चालित कबुलियती वन तथा पशु विकास कार्यक्रम लोकप्रिय बन्दै गएको छ । नुनथला–५ स्थित मूलपानी कबुलियती वन समूहका अध्यक्ष भक्त चाम्लिङले वन कार्यालयसँग कबुलियती वन हस्तान्तरण गरिएपछि वनमा समूहले अम्रिसो, लाकुरी, निङ्गालो, नास्पाती, खनिउ, दुधिलो, घाँसखेती र पशुपालन व्यवसायबाट राम्रो आम्दानी गरेको बताउनुभयो । उहाँले सात वर्षअघि एक दशमलव सात हेक्टर वन जिल्ला वन कार्यालयसँगको सहकार्यमा समुदायमा हस्तान्तरण गरेपछि सामूहिक आयमूलकखेती गरेर त्यसबाट आएको र समूहका सदस्यले मासिकरूपमा जम्मा गरेको रकम अहिले कोषमा ८८ हजार ७७५ बचत गर्न सफल भएको जानकारी दिनुभयो । त्यस वन समूहबाट ११ घरपरिवार लाभान्वित भएका छन् । यस्तै, नुनथला– ४ मा छ घरमात्र उपभोक्ता रहेको पौवा बिसौनी कबुलियती वन उपभोक्ता समूहले पनि २० हजार ५०० समूहको कोषमा जम्मा गरेको समूहका अध्यक्ष मिनाकुमारी राईले बताउनुभयो । कबुलियती वनबाट हुने आम्दानीले विपत्र परिवारको आर्थिक वृद्धि गरिएको राईको भनाइ छ । उहाँका अनुसार कबुलियती वनमा सङ्गठित भएपछि आधुनिक कृषि प्रणालीका बारेमा समेत समूहका सबै सदस्यलाई जानकारी भएको अध्यक्ष राईले जानकारी दिनुभयो । अनुगमनका क्रममा टोलीसँग उपभोक्ताले जीविकोपार्जन योजना निर्माण र नेतृत्व विकास तथा क्षमता विकाससम्बन्धी तालिमको व्यवस्था गर्न माग पनि गरेका छन् । उपभोक्तासम्म पुगेर प्रत्यक्ष अन्तक्र्रियासमेत गरेको अनुगमन टोलीले कबुलियती वन समूहका उपभोक्ताको जीविकोपार्जनका लागि आ–आफ्ना क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । रासस

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी