Thursday, May 17, 2012

आगजनीबाट बच्न सफल विद्यार्थीहरुको उद्धार

भरतपुर । बन्दकर्ताले नवलपरासीमा गाडीबाट ओर्लनसमेत नदिई बसमै आगो लगाएपछि झ्यालका सिसा फोरेर बच्न सफल भएका विद्यार्थीहरुलाई उद्धार गरी चितवन ल्याइएको छ । मोरङको इन्द्रपुरमा रहेको सकुना बहुमुखी क्याम्पसबाट भ्रमणका लागि आएका विद्यार्थीहरु चढेको गाडीमा बुधबार दिउँसो २ः१५ बजेतिर नवलपरासीको तिलकपुरमा बन्दकर्ताले गाडीमा आगो लगाएका थिए । एकजना उपप्राध्यापकसहितका विद्यार्थीहरु भागेर बाँच्न सफल भएपनि एकसरो कपडाबाहेक उनीहरुका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । स्थानीयले उद्धार गरी मध्यरातमा सशस्त्र प्रहरीको ट्रकमा चढाएर उनीहरुलाई भरतपुर ल्याइएको थियो । भयभित मुद्रामा रहेका विद्यार्थीहरुले बिहीबार दिउँसो भरतपुरको एक होटलमा पत्रकारहरुसँग भने, ‘अहिले पनि हामीलाई सपनाजस्तो लागिरहेको छ ।’ दुवै कानबाट आगोले पोलेर पिप बगिरहेको अवस्थामा विद्यार्थी भूपेन्द्र मिश्रले भने, ‘सिसा नफुटेको भए म बाँच्ने थिइनँ ।’ उहाँसँगै रहेका तुलसी लम्सालले आफूहरु धेरैले गाडीको सिसा फोरेर हाम फालेको बताए । विद्यार्थी लिएर आएका कलेजका उपप्राध्यापक उमानाथ भट्टराईले २३ जना छात्रासहित ४६ जना विद्यार्थी लिएर वैशाख २९ गते आफू शैक्षिक भ्रमणमा आएको बताउनुभयो । घटनाका क्रममा विद्यार्थीको २५ थान क्यामरा, १० थान मोबाइल, ४० हजारभन्दा बढी नगद, नागरिकता एवम् प्रमाणपत्रहरु, विद्यार्थीका झोला, कपडालगायत सबै सामग्री जलेर नष्ट भएको उहाँले बताउनुभयो । घटनापछि स्थानीयले राति खाना खुवाएपछि सशस्त्र प्रहरीको सहयोगमा आफूहरुलाई भरतपुरसम्म ल्याइदिएको उपप्राध्यापक भट्टराईले बताउनुभयो । उनीहरुसँग खाना खाने पैैसासमेत नभएपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) चितवनका अध्यक्ष बेलबहादुर गुरुङले बिहीबार बिहानको खाना खुवाउनुभएको थियो । घटनामा दुईजना विद्यार्थी बेहोस भएका थिए भने केहीको शरीरको विभिन्न ठाउँमा पोलेको उनीहरुले बताए । बिहीबारै साँझ उनीहरुलाई उद्धार गरी गन्तव्यतर्फ पठाउने आश्वासन जिल्ला प्रहरी कार्यालय चितवनले दिएको उपप्राध्यापक भट्टराईले बताउनुभयो । कलेजको शिक्षा सङ्कायमा स्नातक तेस्रो वर्षमा अध्ययनरत् विद्यार्थीहरुलाई शैक्षिक भ्रमणको लागि यस क्षेत्रमा ल्याइएको थियो । सौराहा र देवघाटको भ्रमण गरी फर्कने लक्ष्य रहेको भए पनि अप्रिय घटनाले आफूहरु अझै त्रसित बनेको पत्रकारहरुमाझ उनीहरुले बताए । भ्रमणको गाडीसँगै अन्य दुई गाडीमा बन्दकर्ताहरुले आगो लगाएपछि प्रहरीले सो स्थलमा १० राउन्ड अश्रुग्यास प्रहार गरेको थियो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी