विधुर ढकाल
नारायणगढ । ६५ वर्षको उमेरमा शरीरले आराम र छोराबुहारीको साथ खोज्ने बेला जीविकोपार्जनकै लागि अर्काको लुगा धुनु परेको छ नारायणगढको आनन्दमार्गकी जयनुल खातुनलाई ।
छोराहरु जन्माएर बूढेसकालको साहरा बन्लान् भने आशा थियो उनलाई तरपनि उनको आशा आशमा नै सीमित रह्यो । भएको छोरो पनि बिहेपछि छुट्टिएर जाँदा आफ्नो गुजारा अर्काको लुगा धोएर गर्न थालेकी छन् उनले ।
सुरूमा आफ्ना श्रीमान्को साथमा काम गरेपनि पाँच महिनाअगाडि श्रीमान्को मृत्यु भएपछि भने उनलाई जीविकोपार्जनका लागि समस्या परेको छ । उनले भनिन्, ‘श्रीमान् हुँदासम्म त राम्रै आम्दानी थियो, उहाँको मृत्युपछि गुजरा चलाउन गाह्रो परेको छ ।’
आफ्नी एक टुहुरी नातिनीसँग बस्ने उनलाई जीविकोपार्जनसँगै नातिनीको बिहेदानको पिरलोले सताउने गरेको छ । उनले भनिन्, ‘यसको कोही छैन, यसलाई हुर्काएर बिहे दान गरिदिनु छ, सम्पत्ति छैन, कसरी गर्ने ।’
आर्थिक अभावका कारण विद्यालयसमेत जान नसकेकी आफ्नी नातिनी बबीलाई कसैले पनि बिहे नगर्ने हुन् कि भन्ने चिन्ताले सताइरहने उनले बताइन् । दैनिकको गुजारा चलाउनसमेत धौ—धौ परिरहेको बताउँदै उनले भनिन्, ‘श्रीमान्ले अलिअलि जम्मा गरेर बैंकमा जम्मा गरिदिएको पैसा पनि खाता रोकिएका कारण झिक्न पाएकी छैन ।’
खाता सञ्चालन गर्न दुई हजार ६०० लाग्ने बैंकले बताएपछि आफूसँगै उक्त रकम नभएको उनको भनाइ छ । बीस वर्षअगाडिदेखि लुगा धुन थालेको उनको परिवारले अहिलेसम्म आइपुग्दा महँगीले आकाश छुन लाग्दा परिश्रमको मूल्य भने नबढेको उनको गुनासो छ ।
खातुनले भनिन्, ‘हामीले काम सुरू गर्दा एक बोरा कोइलाको पचास रुपैयाँ पथ्र्यो, अहिले तेह्र सय पर्छ, साबुन र सर्फको पनि मूल्य बढेको छ तर हाम्रो ज्याला भने बढ्न सकेको छैन ।’ शरीरले समेत काममा साथ दिन छाडेको छ आजभोलि उनलाई ।
नातिनीले काममा सहयोग गर्ने गरेकीले सजिलो भएको उनको भनाइ छ । बेलाबेलामा श्रीमान्को यादले झस्काइरहने बताउने उनले चितवन पोष्टलाई रुँदै भनिन्, ‘पाल्नुपर्ने छोरा बुहारीले नै नहेर्दा श्रीमान्को यादले सताउँछ, अनि के गर्नु आँसु आइहाल्छ ।’
बूढेसकालले छुँदै जाँदा कपडा धुन ल्याउनेहरुमा पनि कमी आएकोले कमाइ पनि कम भएको उनको भनाइ छ । ‘झन्पछि झन् कमाइ कम हुँदै गएको छ, यो महँगीमा दुईवटा ज्यान कसरी पाल्ने हो’, धोएका कपडाहरु मिलाउँदै उनले भनिन् । कमाइ नै नहुँदा घरको भाडा र बिहान बेलुका छाक टार्न नै धौधौ हुँदै गएको उनको भनाइ छ ।
No comments:
Post a Comment
Thanx for your comment