Monday, May 21, 2012

प्रधानमन्त्रीद्वारा सुरक्षा संयन्त्रलाई निर्देशन

काठमाडौं । प्रधानमन्त्री डा बाबुराम भट्टराईले सुरक्षा संयन्त्रहरुलाई उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा प्रधानमन्त्री डा भट्टराईले जेठ १४ अघिपछि हुन सक्ने सम्भावित अप्रिय घटना रोक्न उच्च सतर्कता र संयमताका साथ काम गर्न निर्देशन दिनुभएको हो ।
जेठ १४ वरिपरि विभिन्न माग राखी आन्दोलन चर्काउन खोज्नु स्वभाविक भएको भन्दै प्रधानमन्त्रीले यसलाई राजनीतिक रुपमै हल गरिने भए पनि सुरक्षा निकायहरु सतर्क रहनुपर्ने बताउनुभएको प्रधानमन्त्रीका सहयोगी प्रशान्त लामिछानेले जानकारी दिनुभयो । 
उहाँले यतिबेला सुरक्षा शक्तिहरुले निष्पक्ष र दृढतापूर्वक आफ्नो कत्र्तव्य पालना गर्न निर्देशन दिनुभयो । आन्दोलनको नाममा तोडफोड र अराजक गतिविधि कोही कसैले गर्छ भने त्यसलाई कडाइपूर्वक रोक्न पनि उहाँले निर्देशन दिनुभयो ।
प्रेस, मानवअधिकारकर्मी, कूटनीतिक नियोगका सवारी तोडफोड र झडप भएको भन्दैै प्रधानमन्त्री भट्टराईले त्यसलाई गम्भीरतापूर्वक लिएर रोक्न र कारबाही गर्ने निर्देशन दिनुभएको थियो ।  आइतबार बन्दकर्ताहरुले प्रेसमाथि गरेको आक्रमण दुर्भाग्यपूर्ण भएको बताउँदै उहाँले सञ्चारकर्मीलाई पूर्ण सुरक्षा दिन निर्देशन दिनुभयो ।
बन्दको क्रममा दैनिकरुपमा अत्यावश्यक वस्तुको आपूर्तिमा कमी आउन सक्नेतर्फ पनि उहाँले सचेत गराउनुभएको छ ।
प्रधानमन्त्रीले प्रतिगामी शक्तिहरुले जातीय हिंसा भड्काएर संविधान निर्माण प्रक्रियालाई अवरुद्ध पार्ने, संविधानसभा विघटन गर्ने षड्यन्त्र गर्न सक्नेतर्फ ख्याल गर्दै त्यस्ता तत्वहरुको विरुद्धमा सरकार गम्भीर ढङ्गले लाग्ने पनि प्रधानमन्त्रीले बताउनुभयो ।
कुनै पनि बहानामा जातीय सद्भाव बिथोल्ने, शान्ति र संविधान निर्माणको प्रक्रियालाई अवरुद्ध गर्नेहरुका विरुद्ध सरकार कडाइपूर्वक प्रस्तुत हुने प्रधानमन्त्रीको भनाइ थियो ।
आफ्ना मागहरु राख्दा शान्ति र संविधान निर्माण प्रक्रियामा असर पुग्छ की भन्नेतर्फ पनि ध्यान दिन प्रधानमन्त्रीले आन्दोलनकर्ताहरुलाई आग्रह गर्नुभयो ।
बैठकमा गृहमन्त्री, मुख्य सचिव, गृहसचिव, रक्षा सचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाका प्रतिनिधिको सहभागिता रहेको थियो ।



No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी