भरतपुर । पुनर्उत्थानवादीको नेपालमा सधै आलोचनामात्रै हुने गरेको छ । तर यही नाम राखेर नयाँ पार्टीको जन्म भएको छ । बैशाख ८ गते सुनसरीमा पुनर्उत्थान नेपाल पार्टी गठन भएपछि बिहीबार चितवन कार्यसमितिको पनि घोषणा भएको छ ।
सो पार्टीको प्रमुख उद्देश्य पीडितहरुका पक्षमा कानुनमा भएको व्यवस्थालाई कार्यान्वयन गराएर उनीहरुलाई न्याय दिलाउनु रहेको छ । बन्द, हड्तालजस्ता सर्वसाधारणलाई असर पर्ने विरोधशैलीलाई निरुत्साहित गर्ने पार्टीले घोषणा गरेको छ ।
चितवनको तदर्थ समितिको अध्यक्षमा हेमराज कुमाल रहेका छन् । त्यस्तै उपाध्यक्षमा भरत गुरुङ र सचिवमा ध्रुब श्रीवास्तव चयन भएका छन् । सदस्यहरुमा बिमला कोइराला, देवीबहादुर क्षेत्री, कृष्ण विक र सुजन अधिकारी रहेका छन् ।
यसअघि सुनसरीमा गठन भएको केन्द्रीय समितिको अध्यक्षमा डिल्लीराम गुरागार्इं रहेका छन् । चितवनमा गठन भएको कार्यसमिति सो पार्टीको पहिलो जिल्ला समिति हो । पार्टीको केन्द्रीय कानुनी सल्लाहकार अधिवक्ता कोषराज काफ्ले हुन् ।
‘बाढीपीडित, शिक्षक कर्मचारीलगायत अन्य पेसाकर्मीका बारेमा कानुनमा भएको व्यवस्थासमेत कार्यान्वयन भएन । कार्यान्वयन गर्न अदालतमा मुद्दा दिएपछि पीडितको पक्षमा फैसला भए पनि पीडितले सो फैसला उपभोग गर्न नपाएको अवस्था छ’, अधिवक्ता काफ्लेले भने ।
नेपालको संविधान र कानुनमा भए गरेका व्यवस्था नै कार्यान्वयन गराउने उद्देश्यले गठन भएकाले आफ्नो पार्टीका बारेमा अन्यथा नसोच्न उनले आग्रह गरे । ‘पीडितका पक्षमा ठूला भनिने दलहरु नलागेकाले पार्टी गठन गरेका हौं’, काफ्लेको प्रष्टीकरण थियो ।
सरकारी र सार्वजनिक सेवामा समान्तको हकलाई मौलिक हकअन्तर्गत राख्न सो पार्टीले माग गरेको छ । पीडितलाई राहत दिन राज्यले वर्षमा २५ अरब रुपैयाँभन्दा बढी छुट्याए पनि पीडितसमक्ष सो रकम नआएको काफ्लेको भनाइ छ ।
No comments:
Post a Comment
Thanx for your comment