भरतपुर । चितवनमा रहेका प्रमुख चार विद्यार्थी संगठनले बिहीबार भरतपुरका तीनवटा निजी विद्यालय तोडफोड गरेका छन् । शुल्कवृद्धिको विरोधमा आन्दोलन गरिरहेका विद्यार्थी संगठनहरुले ती विद्यालयले आन्दोलनविपरीतका कार्य गरेको आरोप लगाउँदै सो तोडफोड गरेको जनाएका छन् ।
विद्यार्थीहरुले भरतपुरको अरोमा स्कुल, मृगस्थली र शरदपुरको सिद्धार्थ शिक्षा सदनमा तोडफोड गरेका हुन् । तोडफोडका कारण ती विद्यालयका कम्प्युटर कक्ष र प्रिन्सिपलको कार्यकक्षमा क्षति पुगेको छ ।
वृद्धि गरिएको शुल्क फिर्ता लिनुपर्ने र सबै पक्षको संयुक्त बैठक बसेर शुल्क निर्धारण गर्नुपर्ने माग गर्दै संयुक्त विद्यार्थी संघर्ष समिति आन्दोलनमा रहेको छ । आन्दोलनका क्रममा जिल्लाका सम्पूर्ण निजी विद्यालयका प्रिन्सिपलको कार्य कक्ष र लेखा शाखामा तालाबन्दीसमेत गरेका छन् ।
आफूहरु अनुगमनका क्रममा विद्यालयहरुमा जाँदा विद्यार्थी भर्ना कार्य चलिरहेको र केही विद्यालयमा ताला खोलेर काम भइरहेकोले भौतिक कारबाही गरिएको अनेरास्ववियु क्रान्तिकारी चितवनका अध्यक्ष रुद्र भट्टराईले जानकारी दिनुभयो ।
विद्यालयहरुले भने भर्नाका लागि आएका अभिभावकहरुसँग कुराकानी गरेको तर भर्ना गर्ने कार्य नभएको र ताला पनि नखोलिएको दावी गरेका छन् । निजी विद्यालयका शिक्षकहरुले तलबवृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएपछि प्याव्सन चितवनले यसै शैक्षिकसत्रदेखि करिब २३ प्रतिशत शुल्कवृद्धि गरेको छ ।
जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले समस्याको समाधान तोडफोडबाट नभइ वार्ताबाट गर्नुपर्ने बताउनु भएको छ । उहाँले तोडफोड र अराजक कार्य रोक्न विद्यार्थी संगठनहरुलाई आग्रह पनि गर्नुभयो ।
यसैबीच नेपाल इष्टु इलाका नं. २ चितवनले निजी विद्यालय तोडफोडको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष नारायणप्रसाद दवाडीद्वारा जारी विज्ञप्तिमा नेपाल इष्टुका सदस्य रोहित सुवेदी, गोपाल ढकाल र दिवाकर आचार्यमाथि भएको हातपातको विरोध गरिएको छ ।
वार्ताको माध्यमबाट समस्याको समाधान गर्न सबैमा अपिल गरिएको छ ।
No comments:
Post a Comment
Thanx for your comment