Wednesday, May 16, 2012

जातीय सद्भाव खल्बलिन नदिने प्रतिबद्धता

नारायणगढ । चितवनका जातीय संगठनका प्रमुखहरुले जातीय सद्भाव खल्बलिन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । पछिल्लो समयमा जातीय राज्यको पक्ष र विपक्षको माग गर्दै आन्दोलन चर्किरहेका बेला बुधबार नारायणगढमा आयोजित एक कार्यक्रममा जातीय संगठनका नेताहरुले हातमा हात र गलामा गला मिलाएर सद्भाव खलल् हुन नदिने प्रतिबद्धता गरेका हुन् । नेपाल प्रेस युनियन चितवन र उद्योग वाणिज्य संघ चितवनको संयुक्त आयोजनामा बुधबार नारायणगढमा जातीय सद्भावका लागि सर्वपक्षीय अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नेपाल जनजाति महासंघ चितवनका अध्यक्ष पदमबहादुर गुरुङ, जातीय सद्भावका लागि बनेको ब्राह्मण, क्षेत्री, ठकुरी, दसनामीलगायतको संयुक्त संघर्ष समितिका संयोजक धनबहादुर कार्की र थरुहट राज्य संघर्ष समितिका सदस्य एवम् थारु कल्याणकारिणी सभाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष भजुमनराम महतोले प्रतिनिधित्व रुपमा हातमा हात मिलाएका थिए । कार्यक्रममा चितवनमा रहेका विभिन्न जाति जनजातिका संगठन प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । जातीय संगठनका नेताहरुले आफूहरुको आन्दोलन जातीय द्वन्द्व भड्काउन नभई जातीय पहिचान स्थापित गर्न भएको खुलासासमेत गरेका थिए । कार्यक्रममा बोल्दै आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष पदमबहादुर गुरुङले देशको प्रगतिका लागि सबै मिल्नुको विकल्प नभएको बताउनुभयो । ‘सबै जातजाति र समुदाय मिल्नुको विकल्प छैन’, गुरुङले भन्नुभयो, ‘पहिचान सबैको माग हो । पहिचानका आधारमा राज्य पुनर्संरचना गरिनुपर्छ ।’ कार्यक्रममा संयुक्त संघर्ष समितिका संयोजक धनबहादुर कार्कीले राज्य पुनर्संरचनाका लागि जातीय पहिचानभन्दा पनि प्राकृतिक स्रोत साधन र संस्कृतिको पहिचान खोज्न जोड दिनुभयो । ‘जातीय राज्यले सद्भाव र सहिष्णुता देखाउँदैन’, कार्कीले भन्नुभयो, ‘राष्ट्रिय अखण्डता र सद्भावका लागि पनि जातजाति तथा धर्मावलम्बीहरुबीच मिल्नुको विकल्प छैन ।’ कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले देश भनेको भूगोलमात्र होइन, सबै जातजातिको कला साहित्य र संस्कृति भएको बताउनुभयो । उहाँले सन्तुलित र विकासका लागि सबै मिलेर बस्नु जरुरी रहेको पनि धारणा राख्नुभयो । ‘आफ्नो अधिकार स्थापित गर्ने नाममा अरुको अधिकार हनन् गर्नु हँुदैन’, संघका अध्यक्ष डा. भट्टराईले भन्नुभयो, ‘लामो समयदेखिको बन्द हडतालले उद्योग व्यवसायमा ठूलो प्रभाव परेको छ । सकिन्छ भने विरोधको स्वरुप परिवर्तन गर्नुहोला ।’ कार्यक्रममा बोल्दै एकीकृत नेकपा माओवादीका जिल्ला इन्चार्ज अनिल शर्मा ‘विरही’ले पहिचानसहितको संघीय व्यवस्था कायम नगर्ने हो भने उत्पीडित तथा सीमान्तकृत समुदायको विकास हुन नसक्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा नेकपा एमाले चितवनका अध्यक्ष कृष्णप्रसाद खनाल र नेपाली काँग्रेसका नेता जीतनाराण श्रेष्ठले जातीय पहिचानसहितको प्रदेश निर्माणले देशमा थप जटिलता थप्ने धारणा व्यक्त गरे । कार्यक्रममा नागरिक समाज चितवनका अध्यक्ष केदार मल्ल, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष जनक अर्याललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यस्तै सहप्राध्यापक डा. देवीप्रसाद कँडेलले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि अधिवक्ता नन्दु महतोले टिप्पणी गर्नुभएको थियो । युनियनका जिल्ला अध्यक्ष बसन्त पराजुलीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको चितवन गैँडाकोट रेडियो प्रसारक संघआबद्ध छवटा एफएम रेडियो र स्थानीय टेलिभिजन बेसो च्यानलले प्रत्यक्ष प्रसारण गरेको थियो ।
vie: echitwanpost.net

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी