Tuesday, May 8, 2012

बन्द संस्कृतिले सर्वसाधारण आजित

विधुर ढकाल
नारायणगढ । अभिव्यक्ति स्वतन्त्रता र राज्यविरुद्ध आन्दोलन गर्न पाउने हक सबैमा भएपनि आफ्नो अधिकारको प्रयोग गर्दा अरुको स्वतन्त्रता हनन् गर्न भने नागरिकको नैतिकताले नदिनु पर्ने हो तर अहिले नैतिकता हराउँदै गएकोे छ । आज भोलि हरेक दिनजसो हुने बन्द तथा चक्काजामका कारण कैयौं सर्वसाधारणको दैनिकीमा नै खलल् पुगेको छ । प्रायः हुने बन्द संस्कृतिले सर्वसाधारण आजित भएका छन् ।
२०६९ सालको सुरूकै महिना बैशाखको अन्तिम साता मंगलबारसम्ममा सात पटक बन्द तथा चक्काजाम भएको जिल्ला ट्राफिक कार्यालय भरतपुरले जनाएको छ । अघिल्लो वर्षको अन्त्यमा राष्ट्रिय जनमुक्ति पार्टीद्वारा घोषित बैशाख ३ गतेको बन्दले यस वर्ष पनि बन्द संस्कृतिको सुरूवात गरेको हो ।
राष्ट्रिय जनमुक्ति पार्टीले जातीय संघीयताको माग राख्दै बैशाख ३, ४ र ५ गते नेपालबन्दको आह्वान गरेको थियो । सरकारमा त्यो पार्टीका अध्यक्ष नै मन्त्री भएका बेला आह्वान गरिएको बन्द प्रधानमन्त्रीको चेतावनीपछि सो पार्टीले बन्द फिर्ता लिएको थियो ।
संविधान जारी हुने अन्तिम मिति आउन लाग्दा आफ्ना मागहरु संविधानमा समावेश गरिनुपर्ने भन्दै आजभोलि विभिन्न जातीय मोर्चा, साना पार्टी तथा संघसंगठनहरुले बन्दको आह्वान गर्नेक्रम बढेको छ । त्यसैको उदाहरण मंगलबार भएको तराइ बन्द हो ।
थारु संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दका कारण चितवनको जनजीवन त प्रभावित भयो नै उद्योगधन्दा कलकारखाना तथा शैक्षिक संस्था नै बन्द भए । लामो दूरी तथा छोटो दूरीका सवारीसाधन चल्न सकेनन् भने केहीमात्रमा चलेका मोटरसाइकल पनि चोकचोकमा बसेका बन्दकर्ताको अवरोधका कारण डो¥याएर जान बाध्य भए ।
यसरी पटकपटक भइरहने बन्दबाट दिक्क भएका सर्वसाधारण भने बन्दकर्तासँग बन्दको विकल्प खोज्न माग गर्दै थिए । बन्दका कारण आफ्नो गन्तव्य पैदल नै तय गरिरहेका यात्रु सुमन सेढार्इंले भने, ‘यसरी पटकपटक बन्द गरेर के प्रमाणित गर्न खोजेका हुन् खै ?’ सरकार नै कडा नभएको उनको आरोप थियो । ‘कानुन कार्यान्वयनमा सरकार नै कमोजर छ, हामीले के भन्ने र ?’, उनको प्रश्न थियो ।
यता, बन्दकर्ताहरु भने बन्द नगरी मागको सुनुवाइ नै नहुने हुँदा बन्द गर्न बाध्य भएको बताउँछन् । उनीहरुको साझा भनाइ छ, ‘सरकारले कान नै सुन्दैन ।’
जिल्ला ट्राफिक कार्यालय भरतपुरले दिएको तथ्याङ्कअनुसार यस वर्षको पहिलो महिनाको २६ गतेसम्म सात पटक विभिन्न दिन बन्द तथा चक्काजाम भएको छ । यस महिनाको बैशाख ३ गते सबैभन्दा धेरै ११ घण्टा सडक अवरुद्ध भएको थियो । सबैभन्दा थोरै २३ गते फुटपाथ व्यवसायीले पुलचोकदेखि सहिदचोकसम्म ३० मिनेट सडक अवरुद्ध पारेका थिए ।
यो वर्षको पहिलो महिनामा जम्मा ३२ घण्टा सडक अवरुद्ध भएको छ । अघिल्लो महिना ०६८ चैत्रमा २० घण्टा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आर्थिक वर्ष २०६८÷०६९ को १० महिनामा ६३ पटक करिब २३५ घण्टा बन्द तथा सडक अवरुद्ध भएको छ । अघिल्लो आर्थिक वर्ष ०६७÷०६८ मा ६० पटकमा २२० घण्टा १० मिनेट बन्दका कारण सडक अवरुद्ध भएको कार्यालयले जनाएको छ ।
यसैबीच थारु संयुक्त संघर्ष समितिले मंगलबार आयोजना गरेकोे बन्द साँझ ५ बजेबाट खुलेको थियो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी