Saturday, May 19, 2012

सेतीदेवी सामुदायिक वन ः पर्यटनको प्रचुर सम्भावना

२०६९ जेठ ५




मंगलपुर । ‘आहा ! आमने सामने गैँडा’, नारायणगढबाट घुमफिरका लागि मंगलपुर—९ शरणपुरस्थित सेतीदेवी सामुदायिक वन पुगेका केही युवाहरु आनन्द मानिरहेका थिए । उता, एक जोडी गैँडा आफ्नै सुरमा चरिरहेका थिए ।
पर्यटनको प्रचुर सम्भावना बोकेको सेतीदेवी सामुदायिक वन उपभोक्ता समितिअन्तर्गतको वन क्षेत्रमा यसरी आमनेसामने जतिखेर पनि गैँडा विचरण गरिरहेको देख्न पाइन्छ । २०५७ सालमा स्थापना भई २०६१ सालमा सामुदायिक वनको रुपमा दर्ता भएको यस वनले पर्यटकलाई आकर्षित गर्न र आन्तरिक रुपमा नै २०६३ सालबाट पञ्चवर्षीय योजना सञ्चालन गर्दै आएको वनका कार्यालय सचिव राम नेपालीले बताउनुभयो ।
गत आर्थिक वर्षमा पहिलो पञ्चवर्षीय योजना समाप्त भएर अहिले दोस्रो पञ्चवर्षीय योजना सञ्चालन गरेको समितिले गँैडालाई विचरण गर्नका लागि दुईवटा प्राकृतिक तालका छेउमा दुईवटा कृतिम तालसमेत निर्माण गरिदिएको छ । ‘वन्यजन्तु संरक्षण र पर्यटन विकासलाई जोड दिएर पञ्चवर्षीय योजना लागू गरिरहेका छौँ’, कार्यालय सचिव नेपालीले भन्नुभयो ।
यसका अलावा जडिबूटीखेतीसमेत गरी कुरिलो, सर्पगन्ध, घिउकुमारीलगायतका जडिबुटी लगाइएको उहाँको भनाइ छ । वनक्षेत्रमा गैँडाका अलवा मृग, बँदेल, जरायोलगायत पनि वन्यजन्तुहरु रहेका छन् ।
निःशुल्क प्रवेश गर्न पाइने वनक्षेत्रभित्र पुग्दानपुग्दै चरिरहेका गैँडा आमनेसामने देखिनु यस वनको विशेषता रहेको कार्यालय सचिव नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वनभित्र प्रवेश गर्ना साथै केही दूरीको पैदलयात्रामा नै गैँडा देख्न पाइन्छ, गैँडाको सम्भावित आक्रमणबाट बच्नको लागि भनेर समितिले रूख चढ्न सजिलो होस् भनेर रूखमा भ¥याङ् पनि हालिएको छ ।’
पर्यटनको विकाससँगै वनले स्थानीयको जीवनस्तर उकास्न तथा वन संरक्षणका निम्ति विपन्न परिवारलाई निःशुल्क गोबर ग्यास प्लाण्ट निर्माण गरिदिएको छ । अहिलेसम्म ४० घरपरिवारलाई गोबर ग्यास प्लाण्ट निर्माण गरिदिएको कार्यालय सचिव नेपालीले जानकारी दिनुभयो ।
तीस वर्षअगाडि टिम्वर कर्पाेरेसन नेपालको सहयोगमा स्थानीयले सिसौका रूख रोपी नेपाल सरकारलाई हस्तान्तरण गरेको यो वनलाई जिल्ला वन कार्यालयले समुदायलाई हस्तान्तरण गरेपछि स्थानीयको जीवनस्तर सुधारमा समेत सहयोग पुगेको नेपालीको भनाइ छ । स्थानीयले समेत यसको उपयोग गर्न पाएको वनमा गैँडा हेर्न आएका स्थानीय मनोज भट्टराईले बताउनुभयो ।
पहिला गैँडा हेर्न सौराहा जानुपर्ने भएपनि अहिले आफ्नै आगनमा गैँडा विचरण गर्न आउने भन्दै उहाँले भन्नुभयो, ‘मलाई याद छ, हामी गैँडा हेर्न भनेर सौराहामा हात्ती चढेर जङ्गल सफारी गएको तर यहाँ त हामीले पैदल नै हिँडेर हरपल गैँडा हेर्न पाउँछौं ।’ गैँडाले स्थानीयलाई खतरा भने नभएको होइन ।
गैँडाकोे आक्रमणबाट एक जनाको मृत्यु भइसकेको बताउँदै बस्तीमा गैँडा जान नपाओस् भनेर बस्तीको वरिपरि गँैडाले नाघ्न नसक्ने कुलो निर्माण गरेको जानकारी दिनुभयो । पर्यटकहरुको सुविधाको लागि भने वनको बीचमा भ्युटावर निर्माण कार्य भइरहेको छ ।
यस क्षेत्रका चारवटा सामुदायिक वनमा २३ वटा गँैडाको गणना गरिएको मा सेतीदेवी समुदायिक वनमा मात्र १२ वटा गँैडा रहेको कार्यालय सचिव नेपालीले बताउनुभयो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी