'सभासद्को पिटाई खान तयार थिएँ''
काठमाडौं । एकीकृत नेकपा माओवादीका पुष्पकमल दाहाल प्रचण्डले दलहरुवीचको सहमतिका आधारमा संबिधानसभा पुर्नस्थापना गरि नयाँ संबिधान जारी गर्न सकिने बताउनुभएको छ ।
मंगलबार राजधानीमा सरकार सम्बद्ध दलहरुले नागरिक समाजका प्रतिनिधिसित गरेको अन्तक्रिर्या कार्यक्रममा बोल्दै प्रचण्डले भन्नुभयो- ‘अहिले पुनस्र्थापनाको कुरा पनि उठिरहेको छ, सहमतिको लागि जुनसुकै विकल्पमा जान पनि तयार छौं ।’ नेपाली कांग्रेसका सभासद्हरुले संबिधानसभा पुर्नस्थापनाको माग गरिरहेका बेला प्रचण्डले राष्ट्रपतिलाई अघि सारेर पुर्नस्थापना गर्न सकिने बताउनुभयो ।
अहिले पनि सहमति बाहेक अरु विकल्प नभएको प्रचण्डको भनाई छ । राष्ट्रपति लगायत कांग्रेस-एमाले लगायतका दलहरुसित छलफलको तयारी भैरहेको प्रचण्डले जानकारी दिनुभयो ।
आफू र आफ्नो पार्टीले जोखिम उठाएर शान्ति प्रकृया टुंग्याएपनि कांग्रेस-एमाले लगायतका दलहरुको कारण संविधान बन्न नसकेको बताउनुभएको छ । ‘सहमतिको लागि हामीले हाम्रा कतिपय पुराना अडानलाई छोड्यौं, पूर्ण समानुपातिक चुनाव प्रणाली र शासकीय स्वरुप मिश्रति बनाउन तयार भयौं’ प्रचण्डले भन्नुभयो -’संविधान बनाउनैपर्छ भन्ने परिस्थितिमा हामीले एकल जातीय पहिचान छाडेर बहुपहिचानमा आधारित प्रदेश बनाउन लचक भएका थियौं, तर हाम्रो प्रयासबाट मात्र भएन ।’
१४ गते बिहानसम्म संविधान बन्छ भन्नेमा आफू निकै आशावादी रहेको, तर कांग्रेस र एमालेले धोका दिएकोले अन्तिममा संविधान बन्न नसकेको प्रचण्डको भनाई छ । ‘बिहानसम्म कांग्रेसका रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला तथा एमालेका झलनाथ खनाल र माधवकुमार नेपालसित भएको छलफलमा बहुपहिचानमा आधारित प्रदेश बनाउनेबारे सहमति भएको थियो’ प्रचण्डले भन्नुभयो -’तर पछि तिनै दल यस आधारमा पनि संघीयतामा जान तयार भएनन् ।’
पहिले माओवादीको सेना र हतियार थान्को लाग्ने बित्तिकै उतिखेरै संविधान बन्छ भन्ने कांग्रेस र एमाले नेताहरुले भन्ने गरेको, तर माओवादीले लचिलो भएर शान्ति प्रकृया टुंग्याएपनि अरु दल संविधान बनाउन तयार नभएको प्रचण्डको आरोप छ । ‘पार्टीभित्र असहमति भएपनि मैले जोखिम उठाएर शान्ति प्रकृया टुंग्याउने काम गरें, तर हामीले सोचेजस्तो हुन सकेन’ प्रचण्डले भन्नुभयो । संघीयतामा व्यवधान आउन सक्छ भन्ने शंका आफूहरुलाई पहिल्यै भएपनि ठूलो दलको हैसियतले लचक भएको प्रचण्डको भनाई थियो ।
कोट लाउन जाँदा अर्कै भएछ
१४ गते दिनभर बालुवाटारमा भएको छलफल सकारात्मक भएपछि बानेश्वरमै गएर थप छलफल गर्ने भनेर उठ्ने बित्तिकै एकाएक माहौल बदलिएको प्रचण्डको भनाई छ । ‘बालुवाटारको छलफलमा म अनौपचारिक पोशाकमा थिएँ, संविधानसभामा जाने भनेपछि त कोट लाउनुपर्यो । म कोट लाउन निवासतर्फ लागें । फर्केर नारायणहिटी आइपुग्दा त सभामुखको निवासमा छलफल भन्ने सुने । किन भनेर सोध्दा एमाले, कांग्रेस र सभामुखले यतै छलफल गर्ने भन्ने थाहा भयो । त्यहींबाट मलाई शंका लाग्यो, कांग्रेस र एमालेले फेरि कुरा बदले’ प्रचण्डले भन्नुभयो -’नभन्दै सभामुखको कार्यकक्षमा भएको छलफलमा कांग्रेस र एमाले संविधान बनाउनको लागि तयार भएनन् ।’
पिटाई खान पनि तयार थिएँ
१४ गते राति १२ बज्नु अघि संविधानसभा बैठक शुरु गरेर तीन दिनसम्म लम्ब्याएर भएपनि संविधान जारी गर्न आफू तयार भएको प्रचण्डले बताउनुभयो । ‘मैले यस अनुसार पहल गरें, तर कांग्रेस र एमालेले मानेनन्’ प्रचण्डले भन्नुभयो । ‘त्यो दिन सभासदहरुको आक्रोश मैले बुझेको थिएँ र महिला सभासदहरुले त खुर्सानीको धुलो आँखामा हाल्नेसम्मको कुरा पनि सुनियो । तर पिटाई खाए खाईन्छ, जाऔं बैठक शुरु गरौं भनें मैले त, तर हुन सकेन’ प्रचण्डले भन्नुभयो
No comments:
Post a Comment
Thanx for your comment