Tuesday, June 5, 2012

गच्छदारले भने- ‘कसले गर्ने संविधानसभा पुनर्स्थापना ?’


मोर्चा भन्दा माओवादीको बढी गुनगान गाए

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान पुनस्र्थापना गर्न सकिने बताए लगत्तै गठवन्धनकै एक नेता बिजयकुमार गच्छदारले त्यो संभव नभएको बताउनुभएको छ ।

सरकारमा सहभागी दलको गठवन्धनले मंगलबार आयोजना गरेको अन्तरक्रिायमा गच्छदारले भन्नुभयो-’कसले र कसरी गर्न सक्छ पुनस्र्थापना ?’पहिले राजामा कार्यकारी अधिकार भएका कारण संसद पुर्नस्थापना भएपनि अहिले त्यो अबस्था नभएको गच्छदारको भनाई थियो । नयाँ चुनाव नै एकमात्र विकल्प भएको भन्दै उहाँले भन्नुभयो -’कांग्रेस, एमाले लगायतका दलहरु किन चुनावमा जान डराइरहेका छन् ? लोकतान्त्रिक पद्दति मान्ने हो भने चुनावको लागि तयार हुनुपर्छ ।’

सबै चुनावमुखी भएका कारण अहिले बन्द, हडताल लगाएतका कार्यक्रम बन्द भएको गच्छदारको दावी छ । ‘अहिले सबैले चुनाव चाहेका छन्’ गच्छदारले भन्नुभयो -’मधेसी, जनजाति, दलित लगायतका पिछडिएका वर्गले आफ्नो अधिकार अब हुने नयाँ चुनावबाट मात्र सम्भव हुने देखेका छन् ।’

कांग्रेस-एमालेले संविधान नबन्नुको दोष माओवादीलाई लगाएर आफू चोखिन खोजेको बताउनुभएको छ । अन्तक्रिर्या कार्यक्रममा माओवादीका शीर्ष नेताहरुसँगै हार मिलाएर बसेका गच्छदारले मोर्चाको भन्दा पनि माओवादीको बढी बचाउ गरे । प्रचण्डपछि बोलेका गच्छदारले संविधानसभा चुनावबाट माओवादी सबैभन्दा ठूलो दल भएपछि कांग्रेस-एमाले आत्तिएको बताउनुभयो । ‘संविधानसभा चुनावले कांग्रेस र एमालेको आकार खुम्च्यायो, त्योबेलादेखि नै उनीहरु अत्तालिएका थिए’ गच्छदारले भन्नुभयो ।

संविधानसभामा बहुमतीय प्रकृयामा जान आफूहरु तयार भएपनि पिटापिट हुन्छ र रगत बग्छ भनेर कांग्रेस-एमालेले भनेका र त्यही कारण जान नसकिएको बताउनुभयो । ‘सहमतिको विकल्प छैन भन्ने तर आफ्नो अडानबाट पछि नहट्ने कांग्रेस-एमालेको प्रवृत्तिले संविधान बन्न सकेन’ गच्छदारले भन्नुभयो ।

अर्को विकल्प नभएकाले आफूहरुले चुनाव घोषणा गर्नु बाहेक अर्को विकल्प नभएको पनि गच्छदारले बताउनुभयो । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले बैठक बसाउन सहयोग नगरेको गच्छेदारको आरोप छ । ‘प्रचण्ड जीहरु तयार हुँदा पनि सभाध्यक्ष नेम्वाङ तयार हुनुभएन, संवैधानिक समिति बैठक बसाउन पनि सभापति निलाम्बर आचार्य तयार हुनुभएन’ गच्छदारले भन्नुभयो -’नेम्वाङ र आचार्यले पहल नगर्दा पनि संविधानसभा अवशान हुने अवस्थामा पुग्यो ।

भाषण गर्ने क्रममा गच्छदारले माओवादीको बचाउ गर्दागर्दै पनि धेरैपटक चिप्लिनुभयो । कांग्रेस र एमालेका कारण संविधान बनेन भन्न खोज्दा उहाँले कतिपटक एमाले र माओवादी तथा कांग्रेस र माओवादीका कारण यस्तो भयो भन्नुभयो । उहाँ चिप्लिएको थाहा पाएर सँगै रहेका प्रचण्ड मुसुमुसु हाँस्दै हुनुहुन्थ्यो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी