Friday, June 1, 2012

बन्दुक उठाउने बैद्य पक्षको चेतावनी


 काठमाडौं । एकीकृत नेकपा माओवादीको बैद्य पक्षले नयाँ पार्टी गठनको प्रक्रिया सुरु भएको बताएको छ । केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष बैद्यले नयाँ कम्युनिष्ट पार्टी निर्माणको प्रक्रिया सुरु भएको बताउनु भएको हो ।
‘अहिले नै, आजैबाट अलग भएका हैनौं’ बैद्यले भन्नुभयो- ‘हामी फुटबादी हैनौं, जुन पक्षले सिद्धान्त, राजनीतिक कार्यदिशा छाडेको छ, उनीहरु नै फुटबादी हुन् । हामी फुटको पक्षमा छैनौं । गलत चिन्तनहरु विरुद्ध विद्रोह गछौं ।’
स्थिति गम्भीर मोडमा पुगेकाले सांगठनिक तथा राजनीतिक निर्णय गर्न असार १ गते राष्ट्रिय भेला बोलाएको भन्दै उहाँले त्यहीबाट आवश्यक निर्णय लिने बताउनु भयो ।
‘नयाँ ढंगले पार्टी निर्माण गर्न सन्दर्भमा भेला आहृवान गरेका हौं’ बैद्यले भन्नुभयो-’विचार मिल्नेहरुसँग एकतावद्ध हुन्छौं ।’ फुटबादी हैनौं भन्नुको अर्थ अध्यक्ष प्रचण्डमाथि कारबाही गर्ने हो भन्ने प्रश्नमा उहाँले राष्ट्रिय भेलापछि जवाफ दिने भन्दै थप केही बताउन चाहनु भएन । विश्वको इतिहास बन्दुकको भरमा नै बनेको भन्दै बैद्यले शान्तिपूर्ण बाटाहरुमा अवरोध गरे बन्दुक उठाउने चेतावनी दिनुभयो । आफूहरु मुर्दा शान्तिको नभई बास्तविक शान्तिको पक्षमा रहेको भन्दै बैद्यले भन्नुभयो-’यदि शान्तिपूर्ण बाटोहरुमा अवरोध खडा गरियो भने बदुक उठाइन्छ । तर अन्तिम लक्ष भनेको शान्ति नै हो ।’
पार्टी नेतृत्वप्रति लक्षित गर्दै बैद्यले सत्तामा नपुगेसम्म बन्दुकको कुरा गर्ने र सत्तामा पुगेपछि बिर्सिने प्रबृत्ति नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको बताउनु भयो । प्रचण्ड पथको नीति लिनु गलत थियो भन्ने निष्कर्ष हो भन्ने प्रश्नमा बैद्यले हाललाई प्रचण्डपथ स्थगित गरिएको र नयाँ ढंगले अघि बढ्न सेना, आधार इलाका निर्माण लगायथका त्यसका सकारात्मक कुराहरुलाई आत्मासाथ गरेर अघि बढ्ने बताउनु भयो । पार्टी अध्यक्ष प्रचण्डले सबै कुरा हुन्छ भन्ने तर व्यवहारका कार्यान्वयन नगर्ने गरेकाले विश्वास गर्न नसकिएको बताउनु भयो ।
बैद्य पक्षले सरकारले घोषणा गरेको संविधानसभाको निर्वाचनलाई असंवैधानिक र नौटंकी मात्र भनेको छ । संविधानसभा निर्वाचन गर्दैमा समस्या समाधान नहुने भन्दै बैद्य पक्षले सर्वपक्षीय गोलमेच सभा गरेर सहमतीय सरकार र संविधान बनाउनु पर्ने बताएको छ । अहिले संविधानसभा निर्वाचनमा जाँदैमा समस्या समाधान हुँदैन, ज्यूँ का त्युँ रहन्छ’ बैद्यले भन्नुभयो-’सबैपक्षीय सम्मेलनबाट समाधान खोज्नुपर्छ । यो सरकार खारेज गरेर नयाँ सरकार बनाउनु पर्छ र गोलमेच सभाबाटै सविधान बनाउनु पर्छ ।’
onlinekhabar

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी