Sunday, August 26, 2012

सरकार र भूमिगत मोर्चाबीच पाँचबँुदे सहमति

भैरहवा । विसं २०६१ देखि तराईमा सशस्त्र युद्ध गर्दै आएको संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा र नेपाल सरकारबीच लुम्बिनीमा वार्ता भई पाँचबुँदे सहमति भएको छ ।
आइतबार अपराह्न १ बजेदेखि सुरु भएको वार्तामा नेपाल सरकारका तर्फबाट शान्ति तथा पुनःनिर्माणमन्त्री टोपबहादुर रायमाझीको नेतृत्वमा मन्त्रालयका सचिव धुव्रप्रसाद शर्मा र सहसचिव दीपेन्द्रनाथ शर्मा तथा मोर्चाका तर्फबाट मोर्चाका संयोजक सञ्जयकुमार गुप्ता (कौटिल्य शर्मा)को नेतृत्वमा रविदत्त मिश्र(राजगुरु) र सत्यनारायण साह सहभागी थिए ।
दुई घन्टासम्म चलेको वार्ताबाट पाँचबुँदे सहमति भएको मन्त्री रायमाझीले जानकारी गराउनुभयो ।
सहमतिअनुसार नेपाल सरकारलाई मोर्चासँग रहेको हातहतियार बुझाइने भएको छ । त्यसैगरी सरकारले मोर्चाका संयोजक तथा सदस्यलाई भरपर्दो सुरक्षा प्रदान गर्ने, मोर्चाका थुनुवा तथा बन्दी एवम् मुद्दा चलेका कार्यकर्ताको अध्यावधिक विवरण मोर्चाका तर्फबाट मन्त्रालयमा बुझाउने, यसअघि भएका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएको छ । आगामी वार्ता आवश्यकताअनुसार आपसी सहमतिमा तय गर्ने सहमति भएको छ ।
सहमतिपत्रमा सरकारका तर्फबाट मन्त्री रायमाझी र मोर्चाका तर्फबाट संयोजक गुप्ताले हस्ताक्षर गर्नुभएको छ ।
सरकार र मोर्चाबीच यसअघि दुई चरणको वार्ता भएको थियो । पहिलो वार्ता २०६८ असार ३० मा हेटौँडामा र दोस्रो वार्ता सोही साल पुस १६ मा वीरगन्जमा भएको थियो । सरकारसँग मोर्चाको यो तेस्रो चरणको वार्ता हो । मोर्चाका सदस्य भारतीय गाडीमा वार्तास्थलमा आएका थिए ।




No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी