विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित
विधुर ढकालभरतपुर । सामुदायिक क्याम्पसहरुको लहरमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पस राजनीतिक खिजातानी र नेतृत्वको जुँगाको लडाइँका कारण पटकपटक विवादमा आउने गरेको छ ।
विद्यार्थी संंगठनहरुले आफ्नो अस्तित्व स्थापित गर्न गर्ने पटकपटकका आन्दोलन र राजनीतिक दलहरुले आफ्नो नेतृत्वका लागि गर्ने हानथापका कारण शैक्षिक गुणस्तरमा कमी आउँदै गएको छ । क्याम्पसमा हुने विभिन्न चरणका तोडफोड तालाबन्दी र विवादले विद्यार्थीको स्वस्थ वातावरणमा पढ्न पाउने अधिकारलाई पनि कुण्ठित गरेको छ ।
पछिल्लो समयमा क्याम्पसले दुई वर्षयता विद्यार्थीहरुको छात्रवृत्तिको परीक्षा लिन नसकेको भन्दैै विभिन्न विद्यार्थी संगठनहरुले आन्दोलन गर्दै आएका छन् । उनीहरुले आन्दोलनका क्रममा क्याम्पस प्रमुख तथा सञ्चालक समिति अध्यक्षको राजीनामा माग्दै आएका छन् । विगत दुई वर्षसम्म क्याम्पसले छात्रवृत्ति वितरण नगर्दा क्याम्पसमा अध्ययनरत गरिब तथा विपन्न विद्यार्थीहरुलाई मर्का परेको गुनासो पीडित विद्यार्थीहरुको छ ।
विद्यार्थीहरुको दबाबपछि गत वैशाख ६ गते क्याम्पसले रमाकान्त सापकोटाको संयोजकत्वमा सहायक क्याम्पस प्रमुख नन्दलाल पौडेल र लेखा प्रमुख तोयानाथ भट्टराई रहेको छात्रवृत्ति आयोग गठन गरेको थियो । उक्त आयोगले समेत तीन महिनासम्म केही गर्न सकेन । त्यो आयोग पनि अहिले आएर विवादमा तानिएको छ ।
गत बुधबार साँझ ४ बजे क्याम्पस बन्द भएको अवस्थामा विद्यार्थीहरुसँग अन्तरवार्ता र परीक्षा नै नलिई छात्रवृत्तिको नतिजा प्रकाशित गरेपछि विवादमा तानिएको हो । आयोगले विद्यार्थी संगठनहरुको सुझावलाई समेत ध्यान नदिएको विद्यार्थी संगठनका नेताहरु आरोप लगाउँछन् ।
‘अहिले आएर क्याम्पसले विद्यार्थीहरुको परीक्षा नै नलिई नतिजा प्रकाशित गरेर छात्रवृत्तिको रकम दामासायीले बाँड्न खोजेको छ’, क्याम्पसका अनेरास्ववियु प्रारम्भिक कमिटी अध्यक्ष प्रकाश आचार्यले भन्नुभयो, ‘पाउनुपर्ने विद्यार्थीहरुले पाएका छैनन्, जसले नपाउनुपर्ने हो त्यसले पाएका छन् ।’ छात्रवृत्ति वितरण गर्दा आवश्यकतालाई हेर्नुपर्ने उहाँको भनाइ छ ।
यता, क्याम्पस प्रमुख रामप्रकाश अधिकारी भने विद्यार्थी संगठनले लगाएको आरोप स्वीकार गर्नुहुन्न । ‘सञ्चालक समितिले गठन गरेको आयोगले न्यायोचित तवरले वितरण गर्ने निर्णय गरेको छ’, उहाँले भन्नुभयो । विद्यार्थीहरुको माग सञ्चालक समितिसमक्ष पु¥याएको उहाँको भनाइ छ ।
क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु भने राजनीतिक खिचातानीका कारण छात्रवृत्ति वितरणमा ढिलाइ भएको बताउँछन् । ‘आ–आफ्ना संगठनका विद्यार्थीलाई छात्रवृत्ति नपारेको वहानामा आन्दोलन हुन्छ, यहाँ जसले पाउनुपर्ने हो त्यसले पाएन भने उनीहरु चुप लाग्छन्’, बीए तेस्रो वर्षका विद्यार्थी नवराज पाण्डेले भने ।
बीए प्रथम वर्षमा संकाय प्रथम भएका विद्यार्थी पाण्डेलाई आयोगले प्रकाशित गरेको नतिजामा दुई महिनाको छात्रवृत्ति परेको छ । त्यही संकायमा फेल भएका विद्यार्थीहरुलाई समेत जेहन्दार विद्यार्थीको कोटामा दुई महिनाकै छात्रवृत्ति दिएको उनको आरोप छ ।
यसैबीच छात्रवृत्तिको विषयलाई लिएर अनेरास्ववियु सप्तगण्डकी बहुमुखी क्याम्पसले क्याम्पसको लेखा शाखामा तालाबन्दी गरेको छ । क्याम्पस प्रमुख तथा सञ्चालक समितिको राजीनामाको माग गर्नुका साथै संगठनले छात्रवृत्तिको अन्तरवार्ता लिएरमात्र प्रकाशित गर्न माग गरेको छ ।
तत्काल शैक्षिक क्यालेण्डर प्रकाशन गर्दै विभिन्न नाममा विद्यार्थीहरुबाट लिइएको शुल्क फिर्तालगायतका सातबुँदे मागपत्र पेश गर्दै संगठनले ताला लगाएको हो ।
त्यस्तै अनेरास्ववियु क्रान्तिकारीले पनि छात्रवृत्ति नतिजा प्रकाशनको विरोध गरेको छ । संगठनका इकाइ अध्यक्ष दिलिप पौडेलले विज्ञप्ति जारी गर्दै क्याम्पस बिदाको मौका पारी गैरजिम्मेवार तरिकाले नतिजा प्रकाशित भएको भन्दै तत्काल नतिजा खारेज गरी अन्तरवार्ता लिन माग गरेको छ । विद्यार्थीहरुको मागलाई ध्यान नदिए आन्दोलनमा उत्रने पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
रामपुरमा पनि तालाबन्दी
आफूहरुको मागका सम्बन्धमा ध्यानाकर्षण गराउन सिटी जुलुससहित क्याम्पस प्रमुखको कार्यकक्षमा गएका समयमा क्याम्पस प्रमुख श्यामसुन्दर पन्तले आफ्ना कार्यकर्तामाथि हातपात गरेको भन्दै क्रान्तिकारीले क्याम्पस प्रमुखको कार्यकक्षमा शुक्रबार एक दिनका लागि तालाबन्दी गरेको हो ।
क्याम्पस प्रमुख पन्तले भने विद्यार्थीहरुको मागको सम्बोधनका लागि पहल भइरहेका समयमा अभद्र तरिकाले आफ्नो कार्यकक्षमा आई सिटी फुकेको र आफूले उनीहरुमाथि हातपात नभई बाहिर जानमात्र आग्रह गरेको बताउनुभयो ।
विद्यार्थीहरुले कलेजमा शैक्षिक सुधारको माग गर्दै तीन दिनअघि क्याम्पस प्र्रशासनसमक्ष मागपत्र पेश गरेको र सोही मागका विषयमा ध्यानाकर्षण गराउन शुक्रबार क्याम्पसमा सिटी जुलुस निकालेको क्रान्तिकारीका क्याम्पस इकाइ अध्यक्ष सुशील न्यौपानेले जानकारी दिनुभयो ।
No comments:
Post a Comment
Thanx for your comment