Wednesday, August 1, 2012

बीस वर्ष पुराना गाडी नचलाऊ ः सर्वाेच्च


भरतपुर । सर्वोच्च अदालतले चितवनमा २० वर्ष पुराना गाडीहरु सञ्चालनमा रोक लगाउन अन्तरिम आदेश जारी गरेको छ । पुराना गाडीले सर्वसाधारणको स्वास्थ्य र वातावरणमा समेत नकारात्मक असर पर्ने तथा यात्रा सुरक्षित नहुने भन्दै दायर भएको रिटमा सर्वोच्चले अन्तिम फैसला नभइन्जेलसम्मका लागि पुराना गाडीहरु चितवनमा नचलाउन आदेश दिएको हो ।
अन्तरिम संविधानको धारा ३२ को १ सय ७ (२) अनुसार पश्चिम चितवन मंगलपुरका मधुसुदन न्यौपानेले २० वर्ष पुराना ट्याक्सीहरु सञ्चालनमा रोक लगाउन माग गर्दै सर्वोच्चमा साउन १० गते रिट निवेदन दायर गरेका थिए ।
प्रधानमन्त्री, मन्त्रिपरिषद्को कार्यालय, यातायात व्यवस्था मन्त्रालय, वातावरण विज्ञान तथा प्रविधि मन्त्रालय, यातायात व्यवस्था विभाग र नारायणी अञ्चल यातायात व्यवस्था कार्यालयलाई विपक्षी बनाई रिट दायर गरिएको थियो ।
२० वर्ष पुराना ट्याक्सीलाई काठमाडौंबाट विस्थापित गरी अन्य जिल्लामा लैजाने निर्णय २०६० सालमा तत्कालीन श्री ५ को सरकारले गरेको थियो । सो निर्णयसँगै नारायणी अञ्चलभित्रका जिल्लामा त्यस्ता पुराना ट्याक्सीहरुले सञ्चालनको अनुमति पाएका थिए ।
निवेदकका तर्फबाट बुधबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा पुराना गाडी हटाउने अभियानमा सहयोग गर्न न्यौपानेले चितवनवासीलाई अपील गरेका छन् । कार्यक्रममा चित्रवन ट्याक्सी व्यवसायी संघका अध्यक्ष खड्कबहादुर गुरुङले हालसम्म दुई सयभन्दा बढी पुराना साधन चितवनमा आइसकेको र त्यसलाई रोक्न नसके आगामी दिनमा अवस्था झन् विकराल बन्दै जाने भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी