Wednesday, August 1, 2012

संविधानसभा एक हप्ता ब्यूताउनु पर्छ ः लेखी


भरतपुर । राष्ट्रिय सहमति गरी एक हप्ताका लागि संविधानसभा ब्यूँताएर नयाँ संविधान जारी गर्नुपर्ने नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले बताउनुभएको छ । बुधबार भरतपुरमा आदिवासी जनजाति पत्रकार संघ (अनिज) चितवनले गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो भन्नुभएको हो ।
‘सहमतिको विकल्प छैन, सर्वदलीय सर्वपक्षीय गोलमेच सम्मेलनबाट सहमतिको खोजी गरी एक हप्ताका लागि संविधान सभा ब्यूँताउनु पर्छ’, उहाँले भन्नुभयो, ‘संविधानसभाले चार वर्षसम्म गरेका उपलब्धिहरुलाई संविधानको रुप दिई ताजा जनादेशका लागि निर्वाचनमा जानुको विकल्प छैन ।’
मुलुकलाई राजनीतिक संकटबाट निकास दिनका लागि सर्वदलीय, सर्वपक्षीय गोलमेच सम्मेलन आवश्यक रहेको अध्यक्ष लेखीले बताउनुभयो । ब्यूँतिएको संविधानसभाका सदस्यहरुले तलब भत्ता लिन नहुने उहाँको भनाइ थियो । अब बन्ने सरकार चार दलको मात्र नभई सबै दल सबै भाषाभाषी र जातिको सहभागिता रहेको हुनुपर्ने उहाँले बताउनुभयो ।
प्रमुख दलका नेताहरुले संविधान जारी गर्न नचाहेको अध्यक्ष लेखीको आरोप थियो । ‘ठूला दलका नेताहरु संविधानसभाबाट संविधान जारी गर्ने पक्षमा छैनन्, फेरिपनि राजा रजौटाले जस्तै दस÷बीस जनाको आयोग बनाएर संविधान जारी गर्ने कसरतमा लागिपरेका छन्’, उहाँले भन्नुभयो ।
पहिलेकै जस्तै आयोगबाट आउने संविधान मान्य नहुने उहाँले चेतावनी दिनुभयो । ‘आफूलाई प्रभावशाली भन्ने नेताहरुको कमजोरीका कारण संविधान भङ्ग भएको हो’, उनीहरुका विरुद्ध जनताले बहिष्कारको आन्दोलन थालिसकेका छन्’, लेखीले भन्नुभयो, ‘त्यहि भएर पनि आफूलाई सभ्रान्त ठान्नेहरु निर्वाचनमा जान डराइरहेका छन् ।’
संघीयता साधन नभई साध्यमात्र भएको भन्दै उहाँले भन्नुभयो, ‘सिंहदरबारको सबै अधिकार उपयोग गर्न चाहनेहरुले संघीयताको बिरोध गरिरहेका छन्, उनीहरुको ब्राह्मणवादी चिन्तन हावी भएका कारण यस्तो भएको हो ।’
एक अर्काे प्रसंगमा नेपाल नागरिक दलका अध्यक्षसमेत रहेका लेखीले तीन दलले राज्यलाई निकास दिन नसकेका कारण नयाँ राजनीतिक शक्ति निर्माण अपरिहार्य भएको बताउनुभएको छ । उहाँले प्रमुख दलले देशलाई बिखण्डनतिर मात्रै धकलेको कारणले अब नयाँ शक्ति जन्मने ठोकुवा  गर्नुभयो । त्यसमा नेपाल नागरिक दलको पनि सहभागिता रहने उहाँको भनाइ थियो ।
‘अब बन्ने पार्टी मूलधारको हुनेछ, सबै जात, धर्म र भाषीहरुलाई समेटेर राज्यको अधिकारबाट वञ्चितहरुको सहभागितामा नयाँ पार्टी जन्मने छ’, लेखीले भन्नुभयो ।
असार २० र २१ गते महासंघको सम्पन्न राष्ट्रिय भेलाले यसको आवश्यकता रहेको निर्णय गरेअनुरुप सबै काम अगाडि बढेको उहाँले जानकारी दिनुभयो । ‘यही २५ गते जनजातिहरुको ऐतिहासिक दिनका अवसरमा नयाँ पार्टी घोषणा हुने सम्भावना बढी छ’, अध्यक्ष लेखीले भन्नुभयो ।
जनजाति आन्दोलनमा विदेशी गैरसरकारी संस्थाको सहयोगमा जातीय आन्दोलन अगाडि बढाएको आरोप लागिरहेका बेला यदि त्यस्तो भए प्रमाणित गरेर देखाउन उहाँले चुनौती दिनुभएको छ ।
पत्रकार सम्मेलन अनिज चितवनका अध्यक्ष सन्तकुमार चौधरीको अध्यक्षतामा भएको थियो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी