Wednesday, August 29, 2012

काँग्रेस सभापतिमा आठ जनाको उम्मेद्वारी दर्ता

 सचिवमा चार र कोषाध्यक्षमा तीन जनाको उम्मेद्वारी
नारायणगढ । नेपाली काँग्रेस चितवनको नयाँ नेतृत्वका लागि बुधबार उम्मेद्वारी दर्ता भएकोे छ । बुधबारै अन्तिम नामावलीसमेत सार्वजनिक भएको छ ।  
सभापतिका लागि आठ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । टेकप्रसाद गुरुङ, विकास कोइराला, भीमबहादुर श्रेष्ठ, विजयराज शर्मा भुषाल, दिनेश कोइराला, तीर्थ भुषाल, कमल आचार्य र जगन्नाथ पौडेलले उम्मेद्वारी दर्ता गराउनुभएको छ  ।
यस्तै सचिवमा जीतनारायण श्रेष्ठ, उत्तम आचार्य, देवेन्द्र गुरुङ र शम्भु अर्यालको उम्मेद्वारी परेको छ । यसैगरी कोषाध्यक्षमा शुरवीर पोख्रेल, अनिता मैनाली र पार्वती शाहले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।
सदस्यका लागि भने क्षेत्र नम्बर १ बाट, खुलातर्फ चार जना सदस्यका लागि १३ जना र एक महिला सदस्यका लागि दुई जनाको उम्मेद्वारी परेको छ । यस्तै क्षेत्र नम्बर २ बाट सदस्यमा ११ जना र महिला सदस्यमा दुई जनाले उम्मेद्वारी दिएका छन् । क्षेत्र नम्बर ३ बाट सदस्यमा १० जना र महिला सदस्यमा तीन जनाको उम्मेद्वारी परेको छ ।
यसैगरी क्षेत्र नम्बर ४ बाट सदस्यमा १२ जना र महिला सदस्यमा चार जनाको उम्मेद्वारी परेको छ भने क्षेत्र नम्बर ५ बाट सदस्यमा ११ जना र महिलातर्फ चार जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।
काँग्रेसको पार्टी कार्यालय नारायणगढमा उम्मेद्वारी दर्ताका लागि बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्मको समय तय गरिएको थियो । उम्मेद्वारी फिर्ताको समय भने बिहीबार दिउँसो ३ बजेसम्म रहेको छ । नेपाली काँग्रेस चितवनको नयाँ कार्यसमिति चयनका लागि १५ गते बिहान ८ बजेदेखि १२ बजेसम्म मतदान हुनेछ ।
कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत नल्याएमा १५ गते नै पुनः दोश्रो चरणको निर्वाचन गरिने निर्वाचन समितिले जनाएको छ । काँग्रेसले ठाकुर प्रसाद न्यौपाने, सीताराम केसी, धु्रबप्रसाद भट्टराई रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरी निर्वाचन प्रक्रिया अगाडि बढाएको छ ।
तत्कालीन तरुण दल चितवन अध्यक्ष शिव पौडेल हत्या प्रकरणपछि काँग्रेसको केन्द्रीय समितिले विकास कोइराला नेतृत्वको जिल्ला समिति विघटन गरी तदर्थ समिति गठन गरेको थियो । निर्वाचन समितिले निष्पक्ष र धाँधलीरहित तरिकाले निर्वाचन सम्पन्न गर्न सहयोगका लागि सबैलाई आग्रह गरेको छ ।
नेपाली काँग्रेस चितवनको नयाँ कार्यसमितिका लागि उम्मेद्वारी दर्ताको काम सकिएलगत्तै उम्मेदवारहरु आ–आफ्नो पक्षमा मत बटुल्न व्यस्त भएका छन् । योसँगै काँग्रेस चितवनको नयाँ कार्यसमितिलाई निर्विरोध बनाउने पहल पनि जारी रहेको छ ।
सभापतिका उम्मेद्वार विकास कोइराला र भीमबहादुर श्रेष्ठले बुधबारबार छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी आफूलाई जिताउन सहयोगका लागि सबैलाई आग्रह गर्नुभएको छ ।
पत्रकार सम्मेलनमा दुबै उम्मेद्वारले आफ्नो उम्मेद्वारी लोकतन्त्र र प्रजातन्त्रका लागि भएको बताउनुभएको छ । कोइराला र श्रेष्ठले आफ्नो जितको दावी पनि गर्नुभएको छ । पत्रकार सम्मेलनमा कोइरालाले पार्टीमा आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनका लागि आफूले उम्मेद्वारी दिएको बताउनुभयो ।
केन्द्रीय समितिमा आफूविरुद्ध उजुरी दिने र आफू नेतृत्वको जिल्ला कमिटीलाई विघटन गराउन दबाब दिनेहरुले आत्मसमीक्षा गरे निर्विरोध सभापति चयन हुन सक्ने संकेत पनि कोइरालाले गर्नुभयो ।
उता श्रेष्ठले निर्विरोधका लागि सहमति भएमा आफूले उम्मेद्वारी फिर्ता लिने बताउनुभएको छ । श्रेष्ठले पार्टीभित्र आफू मध्यमार्गी भएको उल्लेख गर्दै पार्टीलाई मिलाएर लैजान आफू सक्षम भएको बताउनुभएको थियो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी