Sunday, August 5, 2012

फूटपाथ व्यवसायी पुनः आन्दोलित

भरतपुर । भरतपुर नगरपालिकाले सडक बिस्तारका क्रममा सडकपेटीमा व्यवसाय सञ्चालन गरेका फूटपाथ व्यवसायीहरु पुनः आन्दोलनमा उत्रिएका छन् । आन्दोलनअन्तर्गत फूटपाथ व्यवसायीहरुले आइतबार ¥याली निकाले थिए । उनीहरुको ¥यालीले नगर परिक्रमा गर्दै भरतपुर नगरपालिकाको कार्यालयमा  ज्ञापानपत्र बुझाएको छ ।
स्वरोजगार सिर्जना गरेको व्यवसायलाई विनाविकल्प हटाएको भन्दै विकल्पको मागसहित पुनः आन्दोलमा उत्रिनु परेको भरतपुर स्वरोजगार फुटपाथ व्यवसायी संयुक्त संघर्ष समितिका संयोजक टीकाबहादुर पौडेलले बताउनुभयो । भरतपुर नगरपालिकाले वैकल्पिक व्यवस्था गर्नका लागि समिति बनाएपछि आन्दोलन रोकेका उनीहरुले विकल्प नपाएपछि आन्दोलन थालेको बताएका छन् ।
उनीहरुले आन्दोलनका क्रममा नगर प्रहरीको आक्रमणबाट व्यवसायी सीता पाठक र मीना ढकाल घाइते भएकाले उपचार तथा क्षतिपूर्तिको मागसमेत गरेका छन् । काउन्टरसहितको मिनी मार्केट नहुँदासम्म फलफूल व्यवसायलाई चौतारामा राख्न दिने पूर्व सहमति कार्यान्वयन गर्न समेत उनीहरुको माग छ ।
त्यस्तै फूटपाथ व्यवसायीहरुले २४ गतेसम्म नगरपालिकामा १२ बजेदेखि चार बजेसम्म धर्ना दिने तथा २८ गते पुनः व्यवसाय सञ्चालन गर्ने जनाएका छन् ।
सञ्चालनमा आएका व्यवसायमाथि धरपकड गरे नगरपालिकाको कार्यालयमा अनिश्चितकालका लागि तालावन्दी गर्ने संयोजक पौडेलले जानकारी दिनुभयो । यता व्यवसायीको माग बमोजिम तत्काल नगरपालिकाले विकल्प दिन नसक्ने भरतपुर नगरपालिकाका निमित्त कार्यकारी अधिकृत टीकाराम कँडेलले बताउनुभयो । ‘सडकपेटीमा व्यवसाय सञ्चालन गर्न नपाउने विश्वव्यापी नियम हो’, उहाँले भन्नुभयो, ‘त्यसलाई कार्यान्वयन गर्ने प्रयास नगरपालिकाले गरेको हो ।’ चाहेर पनि फुटपाथ व्यवसायीलाई विकल्प दिन नसकेको कँडेलको भनाइ छ ।
‘हामीले विकल्प दिनका लागि कार्यदल बनाएर खाली जग्गा खोज्ने काम गरेका छाँै’, विकल्प दिनका लागि गठित कार्यदलका संयोजकसमेत रहेका कँडेलले भन्नुभयो, ‘पुलचोकदेखि लायन्स चोकको बीचमा खाली जग्गा नै पाइएको छैन, एक ठाँउमा कुरा भइरहको छ ।’ निजी व्यक्तिसँग छलफल चलिरहे पनि निर्णय नभइसकेको उहाँको भनाइ छ ।



No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी