Saturday, September 29, 2012

सञ्चारमाध्यममा अवरोधप्रति आपत्ति

भरतपुर । नेकपा–माओवादीनिकट राष्ट्रिय जनस्वयमसेवक तामसालिङ राज्य समितिले चितवनका विद्युतिय सञ्चारमाध्यमहरुमा पुगेर हिन्दी भाषाका सम्पूर्ण कार्यक्रम प्रशारणमा रोक लगाएकोप्रति चितवनका पत्रकार संघसंस्थाहरुले विरोध जनाएका छन् ।
शनिबार नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष जनक अर्याल, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष सुरेशचन्द्र अधिकारी, प्रेस चौतारी चितवनका अध्यक्ष शालिग्राम नेपाल, प्रेस युनियनका उपाध्यक्ष नारायण अधिकारी र स्वतन्त्र पत्रकार संघका उपाध्यक्ष विनोदबाबु रिजालद्वारा जारी गरिएको विज्ञप्तिमा कार्यक्रम प्रशारणमा रोक लगाउन पत्र पठाएको तथा टेलिफोनमार्फत धम्की दिएको भन्दै ध्यानाकर्षण भएको जनाएका हुन् ।
‘नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक हो’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानले सूचनाको हकलाई ग्यारेटी गरेको सन्दर्भमा नेकपा–माओवादीको पछिल्लो निर्णयले संविधानले दिएको अधिकार कुण्ठित गरेको हाम्रो ठहर छ ।’
साथै कसैको अनुचित दबाबमा नपर्न सञ्चारमाध्यमलाई आग्रह गर्नुका साथै अनुचित दबाब नदिन विज्ञप्तिमा सबैलाई आग्रह गरिएको छ । नेकपा–माओवादीले गत १० गतेदेखि चितवनका विभिन्न सञ्चार संस्थाहरुलाई हिन्दी गीत तथा कार्यक्रम प्रस्तुन नगर्न दबाब दिनुका साथै स्थानीय केबललाई हिन्दी च्यानल प्रशारणमा रोक लगाएको छ ।



No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी