Friday, September 28, 2012

शान्ति समाजको १५औं राष्ट्रिय परिषद् चितवनमा हुने

भरतपुर । मानवअधिकार तथा शान्ति समाजको १५औं राष्ट्रिय परिषद् बैठक चितवनमा हुनेभएको छ ।
स्वतन्त्रता हाम्रो प्राण हो, अहिंसा जीवनको आधार हो भन्ने मूलनाराका साथ आगामी मंसिर २९ र ३० गते चितवनमा परिषद् बैठक गर्न लागिएको समाजले शुक्रबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
बैठकमा ४५ जिल्लाबाट दुई सयभन्दा बढी समाजका प्रतिनिधि सहभागी हुने छन् । कार्यक्रममा मादकपदार्थ तथा सुर्तीजन्य पदार्थको भने निषेध गरिने बताइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै समाजका केन्द्रीय अध्यक्ष होमकान्त चौलागार्इंले समाजको १५ औं राष्ट्रिय परिषद् बैठक लोकतन्त्रको संस्थागत गर्दै मुलुकलाई दिशा दिनेखालका प्रस्तावहरु लगिने बताउनुभयो । अबको आफूहरुको आन्दोलन भनेको स्वतन्त्रताको रक्षा अभियानमा केन्द्रित हुने उहाँको भनाइ थियो । 
उहाँले संवैधानिक रिक्तता भएको समयमा देश फेरि द्वन्द्वमा फस्ने खतरा बढेको बताउनुभयो । जनताले आशा र भरोसा गरेका राजनीतिक दलले मानवअधिकार सम्मत् संविधान दिन नसकेको भन्दै उहाँले यसको मुख्य दोषी प्रमुख तीन दल र प्रधानमन्त्री डा.बाबुराम भट्टराई भएको आरोप लगाउनुभयो ।
समाजका जिल्ला अध्यक्ष राजेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय पूर्वउपसभापति उद्धव लोहोनीलगायतले बोल्नुभएको थियो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी