Monday, November 5, 2012

प्रजिअको आदेशमा विनाटेण्डर ठेक्का



कभर्डलमा पार्केटिङको काम गर्दै एक कामदार
 कभर्डहल विवाद
भरतपुर । चितवनका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा विनाटेण्डर भरतपुरको कभर्डहलमा थालिएको पार्केटिङको काम थप विवादमा परेको छ । खेलाडीलाई चिसोबाट बच्नका लागि पार्केटिङ गरिन्छ ।

विवाद देखिएपछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाको निर्देशनमा इन्जिनियर किशोर शाही कभर्डहलको वास्तविकता थाहा पाउन सोमबार चितवन आइपुग्नुभएको छ ।

सरकारी नियम अनुसा सार्वजनिक रुपमा टेण्डर आह्वान गरिनुपर्छ । सरकारको वजेट खर्च गर्ने काममा ५ लाख वढीको काम भए खुला प्रतिस्पार्धामा जानुपर्ने व्यवस्था छ । पार्केटिङको काम नियमसंगत नदेखिएपछि हालसम्म खर्च भएको आठ लाख पनि बेरुजु देखिने भएको छ । कुल २१ लाख ५३ हजारको लागतमा पार्केटिङको काम सुरू भएको हो ।

गुणस्तरीय पार्केटिङका लागि २५ एमएम मोटाई चाहिने भएपनि जम्मा आठ एमएमको पार्केटिङ गरिएको छ । पार्केटिङको काम आधाजसो सम्पन्न हुन लाग्दा विवाद देखिएपछि खेलकुदसँग आबद्ध संघसंस्था भने चिन्तित देखिएका छन् ।

स्टिमेट, स्वीकृत, कोटेशन र अन्तमा टेण्डर आह्वान हुनुपर्ने सरकारी नियम नै मिचेर लाखौंको काम बोलीको भरमा ठेक्का दिएपछि विवाद सुरू भएको हो । कुनै पनि जिल्ला र क्षेत्रका खेल भवनहरुमा पार्केटिङ नगरिएको इन्जिनियर शाहीको भनाइ छ ।

कोटेसनकै आधारमा ठेक्का पाएको ः ठेकेदार

पार्केटिङको जिम्मा पाएका ठेकेदार सुरेश श्रेष्ठले भने आफूहरुले कोटेशन दिएको र त्यसकै आधारमा काम थालिएको बताउनुभयो । ‘तपाइको कोटेशन नै कम मूल्यको पाइयो काम थाल्नुहोस भनेपछि काम थालँे,’ ठेकेदार श्रेष्ठले भन्नुभयो ।

पार्केटिङको काम हेर्ने र सम्पन्न गर्ने जिम्मा पाएको जिल्ला खेलकुद विकास समितिका पदाधिकारीहरु यस विषयमा बेखबर रहेको बताउँछन् । ‘पार्केटिङको काम सुरू भएपछिमात्र हामीले थाहा पाएका हौं’, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष उत्तम गुरुङले भन्नुभयो ।
खेलकुदका जानकारहरु भने पार्केटिङभन्दा म्याट नै उपयुक्त र प्रभावकारी हुने बताउँछन् । जिल्लामा भइरहेको खेलकुद गतिविधिबारे खेलकुद परिषद्मा जानकारी हुनुपर्नेमा त्यसो नभएको इञ्जिनियर शाहीले बताउनुभयो ।

स्थानीय लगानीलाई टेण्डर खोल्नु पर्दैन ः प्रजिअ

यता, प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले भने स्थानीय लगानी भएका कारण सहमतिमा ठेक्का दिइएको बताउनुभएको छ । ‘यो कुनै सरकारी लगानी होइन । त्यस्तो भएको भए टेण्डर खुलाउनु पथ्र्याे होला’, उहाँले भन्नुभयो, ‘स्थानीय लगानी भएकोले सहमतिका आधारमा ठेक्का दिइएको हो ।’

उहाँले आफूले कुनै निजी स्वार्थका कारण यस्तो नगरेको बताउनुभयो । ‘मैले सामान्य चिनजानका आधारमा ठकेदारलाई भेटाइदिएको हुँ, उहाँहरुले नै गएर सहमति गर्नुभएको हो’, उहाँले भन्नुभयो ।

आफूले जिल्लामा केही चिज राम्रो होस् भन्ने आसयले गरेको अग्रसरता लिएको उहाँको भनाइ थियो । राम्रो काम गर्दा दोष आउँछ भने मलाई कुनै आपत्ति छैन उहाँले भन्नुभयो ।

पार्केटिङमा पानी परेमा कामै नलाग्ने गरी बिग्रिने भए पनि कभर्डहलको छानाबाट पानी चुहिन्छ । पार्केटिङ गरिएको ठाउँमा भलिबल, बास्केटबल, ब्याडमिन्टन खेल्दा घुँडा र गोलीगाँठामा प्रत्यक्ष असर पर्छ । जसले गर्दा यी खेलका लागि पार्केटिङ उपयुक्त छैन ।

खेलकुद विकास समितिको नगरपाािलकामा रहेको सो रकम यस वर्ष पार्केटिङमा खर्च गर्ने गरी यसअघि निर्णय भएको थियो । जिल्ला प्रशासन, जिल्ला विकास समिति, भरतपुर नगरपालिका, जिल्ला प्रहरी कार्यालय र खेलकुद समितिले  यस्तो निर्णय गरेका हुन् ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी