Sunday, December 16, 2012

अन्ततः मारिने भयो ध्रुबे !

माडी । पछिल्लो समय माडीमा जनधनको आतंक मच्चाउँदै आएको धु्रबे हात्ती अन्ततः मारिने भएको छ । हात्ती मार्नका लागि टोली आइतबार बेलुकी सम्बन्धित क्षेत्रमा खटिसकेको निकुञ्ज प्रशासनले जनाएको छ ।

ध्रुबे हात्ती मारिने निर्णयसँगै हात्तीलाई शान्त अवस्थामा ल्याउन यसअघि पटकपटक भएका प्रयासहरु असफल भएका छन् । हात्ती नियन्त्रण गर्न अपनाइएको रेडियो कलर प्रविधि र विद्युतीय तारबार दुबै खर्चिलो मानिए पनि परिणाम निष्फल देखिएको छ ।

चितवन निकुञ्ज प्रशासन कसरामा आइतबार प्रमुख जिल्ला अधिकारीसहितको सर्वपक्षीय बैठकले सो हात्तीलाई मार्ने निर्णय गरेको हो । पटकपटक बस्ती प्रवेश गरेर ठूलो क्षति पु¥याउँदै आएको हात्तीलाई मार्नु नै उत्तम विकल्प ठहरिएपछि निकुञ्ज प्रशासन, राजनैतिक दलका प्रतिनिधि, मध्यवर्ती क्षेत्रका प्रतिनिधिले यस्तो निर्णय लिन बाध्य भएका हुन् ।

यसअघि नै प्राविधिकले ध्रुबे हात्तीलाई बहुलाएको भनी निक्र्यौल गरिसकेकाले बहुलाएको हात्ती मार्न कानुनी अड्चन नभएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमकबहादुर कार्कीले बताउनुभयो ।

स्थानीय शनिबार राति भएको घटनाका मृतकको लाशसहित आइतबार बेलुकीदेखि गर्दी गाविस कार्यालय अगाडि बसेका छन् । आक्रमणमा संलग्न ध्रुबे हात्ती नमारेसम्म लाश नउठाउने पाँच पाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष यमकान्त भुषालले बताउनुभयो ।

समाचार संकलनका लागि घटनास्थल पुगेका पत्रकारहरुकाअनुसार यस हात्ती आइतबार साँझ जंगल छेउमा देखापरेको छ । त्रसित अवस्थामा रहेका गाउँलेहरु बेलुकीदेखि नै ठाउँठाउँमा आगो बालेर बसेका छन् ।

ध्रुबे नामको सो हात्तीको आक्रमणबाट मर्नेको संख्या १५ पुगिसकेको स्थानीयको भनाइ छ । तर निकुञ्ज प्रमुख कार्कीले भने, ‘१५ नै त म पनि भन्न सक्दिनँ, तर ८ जना जतिको ज्यान चाहिँ लिएको हो भन्ने दावी छ ।’

यसअघि हात्तीकै आक्रमणबाट माडीमै ५ जना, पर्सामा २ जना र बारामा ६ जनाको मृत्यु भइसकेको छ । माडीमा बारम्बार हात्तीको आक्रमण बढ्न थालेपछि स्थानीय त्रसित भएका छन् ।

आइतबार भएको छलफलअनुसार मृतकका परिवारलाई १० लाख सहयोगका लागि सम्बन्धित मन्त्रालयमा माग गर्ने र मृतकका परिवारलाई रोजगार दिने निर्णय भएको छलफलमा सहभागी एमाले चितवनका नेता अरुणपीडित भण्डारीले बताउनुभयो ।

गत मंसिर १ गते बसेको बैठकमा नै धु्रबे हात्तीलाई मार्ने निर्णय भएपनि मंसिर ६ गते रेडियो कलर जोडेर आतंकपूर्ण गतिविधि नियन्त्रण गर्ने भन्दै निकुञ्ज प्रशासनले यस हात्तीलाई  कलर जडान गरेको थियो । 

दम्पत्तीको मृत्यु
माडीको गर्दीमा आफ्नै घरमा बसिरहेका समयमा शनिबार राति करिब ११ बजे निकुञ्जबाट निस्किएको हात्तीले आक्रमण गरेपछि बोट दम्पत्तीको मृत्यु भएको हो । हात्तीको आक्रमणबाट माडी गर्दी ९ का  स्थानीय ६५ वर्षीय बुद्विराम बोट र उनकी श्रीमती जरिया बोटको मृत्यु भएको हो ।

हात्तीले आक्रमण गरेपछि बुद्धिरामको घटनास्थलमै र गम्भीर घाइते जरीयाको उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा आइतबार बिहान मृत्यु भएको हो ।

स्थानीयका अनुसार केही समयअघि निकुञ्जले दाह्रा काटेर छाडेको धु्रबे हात्तीले नै यो आक्रमण गरेको हो । सो हात्ती गाउँमा आएर मानवीय क्षति गर्न थालेपछि निकुञ्जले केही समय अघि हात्तीको दाह्रा काटेर छाडेको थियो । हात्तीले बोटको घर भत्काउनुका साथै अन्नसमेत नष्ट गरिदिएको बताइएको छ ।

जंगली हात्तीले एक दम्पत्तीको हत्या गरेपछि माडीका स्थानीयबासिन्दा संघर्ष समिति नै गठन गरेर आन्दोलनमा उत्रिएका छन् । संघर्ष समितिले प्रथम चरणमा मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ ।

उनीहरुले निकुञ्ज क्षेत्रको बाटो फराकिलो गर्नुपर्ने र बनकट्टादेखि बगईसम्मको क्षेत्रमा निकुञ्ज वरपर जाली लगाउनुपर्ने मागसमेत गरेका छन् ।

स्थानीयको मागका विषयमा संघर्ष समिति र स्थानीय राजनीतिक दलका प्रतिनिधिबीच बनकट्टामा छलफलसमेत भएको छ । बनकट्टामा आइतबार माडी क्षेत्रका सैयौँ सर्वसाधारणहरुको उपस्थिति रहेको थियो भने संघर्ष समितिको मागलाई पूरा गराउन दबाब दिँदै नाराबाजी समेत भएको थियो ।

गत मंसिर ६ गते प्राविधिकले यस हात्तीलाई लठ्याएर दाह्रा काट्नुका साथै रेडियो कलर जडान गरेका थिए । रेडियो कलरले हात्तीको गतिविधि नियाल्न सजिलो हुने दावी निकुञ्ज प्रशासनले गरेपनि त्यो दावीमै सीमित भएको छ ।

यस हात्तीले कात्तिक १७ गते गर्दी १ अमेलियाका ६५ वर्षीय अमरबहादुर थापाको ज्यान लिएको थियो । त्यस्तै कात्तिक २९ गते गर्दी ४ का ३० वर्षीय बुद्धि अधिकारीको पनि ज्यान लिएको थियो ।

भदौदेखि यस क्षेत्रमा देखापरेको हात्तीले सय विघा बढी जमिनमा लगाइएको धानबालीसमेत नष्ट गरेको स्थानीयको भनाइ छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी