Sunday, December 30, 2012

नारायणी नदी संरक्षणमा २५ करोडको गुुरूयोजना


बाल उद्यानसहित लभपार्क र धार्मिक पार्कको परिकल्पना
नारायणगढ । नारायणी नदी किनारलाई धार्मिक तथा पर्यटकीय स्थल बनाउनका लागि करिब २५ करोड रूपैयाँ बराबरको प्रारम्भिक गुरुयोजना प्रस्ताव गरिएको छ । शनिबार नारायणगढमा आयोजित ‘नारायणी संरक्षण तथा विकासको अवधारणा’ विषयक कार्यशाला गोष्ठीमा यस्तो गुरुयोजनाको प्रस्ताव अघि सारिएको हो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सहरी योजनाकार सरोज बस्नेतले नारायणी नदीलाई संरक्षण गरेर धार्मिक, स्वास्थ्य तथा मनोरञ्जन पर्यटनको विकास गर्न सकिने बताउनुभयो । ‘संसारका जुनसुकै सहरहरु ठूला नदी किनारमा छन्’, बस्नेतले थप्नुभयो, ‘किनारका नदीको संरक्षण र विकास गरेर नै उनीहरुले विकासको फड्को मारेका हुन् ।’


योजनाकार बस्नेतले प्रस्तुत गरेको नारायणी नदी संरक्षण गुरूयोजना प्रस्तावमा नारायणी नदी किनारको नारायणी नदी पुलदेखि उत्तरको एक किलोमिटर उत्तर गौरेश्वर मन्दिरसम्मको क्षेत्रलाई समेटिएको छ । गुरूयोजना प्रस्तावमा उक्त क्षेत्रको करिब १२० रोपनी क्षेत्रलाई चार भागमा विभाजन गरेर विकास गरिने उल्लेख छ ।

जसअन्तर्गत पुल किनारको क्षेत्रलाई बाल उद्यान, त्यसपछिको क्षेत्रलाई युवायुवतीहरुको लागि लभपार्क, त्यस्तै लभपार्कपछिको स्थानमा वयस्कहरुको लागि तथा बहुउद्देश्यीय स्थानको रुपमा विकास गरिने उल्लेख छ । गौरेश्वर मन्दिरनजिक वृद्धवृद्धाहरुको लागि धार्मिक पार्कको रुपमा विकास गरिने जनाइएको छ ।

उद्योग वाणिज्य संघले गर्दै आएको महोत्सव तथा अन्य कार्यक्रमहरु बहुउद्देश्यीय स्थानमा गर्ने प्रस्तावनामा उल्लेख गरिएको छ । योजनाकार बस्नेतले प्रस्तावना मानव जीवनका चारै काललाई समेटेर तयार पारिएको बताउनुभयो ।

जगिङ् र साइक्लिङ ट्रेकको पनि व्यवस्था हुने

बहुउद्देश्यीय स्थानलाई राजनीतिक सभा सम्मेलनको लागि प्रयोग गर्न नहुने सहरी योजनाकार बस्नेतको भनाइ थियो । प्रस्ताव गरिएको गुरूयोजना अनुरुपमा कार्य सम्पन्न भए पार्कभित्र जगिङ ट्रेक, साइक्लिङ ट्रेक, पार्क बेञ्चहरु, विभिन्न प्रकारका मूर्तिहरु रहने छन् ।

त्यस्तै पार्कमा घाँसे मैदान, नारायणीबाट पानी तानेर पार्कमा फोहोराहरुसमेत निकालिने छ । पार्कमा मनोरञ्जनका लागि छुट्टै स्थान र फूड स्टलसमेत राखिने छ । पार्कमा छुट्टै सूचना केन्द्र, सुरक्षाका लागि सामुदायिक प्रहरी एवम् सार्वजनिक शौचालयसमेत बनाइने छ ।

‘जो कोही पनि पार्कमा छिरिसकेपछि रातमा समेत निर्धक्क हिँड्न सकोस् भन्ने कल्पना गरिएको हो’, बस्नेतले भन्नुभयो, ‘त्यसका लागि सामुदायिक प्रहरीको परिचालन गरिने छ र पार्क बनाउँदा सुरक्षाका लागि संवेदनशील मानिने र अवैध कार्य हुन सक्ने खोंचहरु रहेन छैनन् ।’ पार्कमा घुम्न आउने पर्यटकहरुलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइनुपर्ने समेत उहाँको भनाइ थियो ।

यती गर्न सके नारायणी नदीलाई पर्यटकको मुख्य गन्तव्य बनाउन सकिने उहाँले बताउनुभयो । नारायणी नदीमा वर्षा याममा आउने बाढीलाई मध्येनजर राख्दै संरचना निर्माण गरिने उहाँको प्रस्ताव छ ।
नारायणी नदी संरक्षणका लागि प्रस्ताव गरिएको गुरूयोजना । 
गुरूयोजनाअनुसार नारायणी नदी छेउको पार्क
 ः तस्बिर सौजन्य ः सरोज बस्नेत ।

बनेका संरचनाहरु तीनदेखि चार महिनासम्म पानीले ढाकिए पनि असर नपर्ने खालको संरचना निर्माण आवश्यक रहेको उहाँको भनाइ छ । एकै पटक उक्त योजना सम्पन्न गर्न नसकिने भएकोले क्षेत्रगत रुपमा योजनालाई क्रमिक रुपमा विकास गरिनुपर्ने उहाँले बताउनुभयो ।

नारायणी नदी संरक्षण तथा विकास समिति भरतपुरको आयोजनामा सम्पन्न गोष्ठीमा प्रस्तुत गरिएको अवधारणामाथि बुद्धिजीवी शरदरञ्जन श्रेष्ठ, केदार खनाल र गोविन्दराज विनोदीले टिप्पणी गर्नुभएको थियो । कार्यक्रम समितिका संयोजक रामप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी