Sunday, December 30, 2012

धु्रवे अझै नियन्त्रणबाहिर

कसरा । माडी क्षेत्रमा ठूलो जनधनको क्षति गरेको धु्रवे हात्तीलाई चितवन राष्ट्रिय निकुञ्जले अझै पनि नियन्त्रणमा लिन सकेको छैन । ध्रवेलाई नियन्त्रणमा लिन हेलिकप्टरको समेत प्रयोग गरिएको दावी गरिएको छ ।

विगत १५ दिनदेखि हात्तीलाई मार्न वा नियन्त्रणमा लिन खटिएका नेपाली सेना र निकुञ्जका प्राविधिकहरुले अझै धु्रवेलाई नियन्त्रणमा लिन सकेका छैनन् । धु्रवेलाई नियन्त्रणमा लिनका लागि निकुञ्जले थप जनशक्ति परिचालन गरेको छ ।

अहिले धु्रवे माडीको अयोध्यापुरी गाविसको बगई क्षेत्रमा रहेको निकुञ्ज स्रोतले बताएको छ । हात्ती नियन्त्रणमा लिने प्रयासका बारेमा जानकारी लिन शनिबार चितवन आइपुगेका वन मन्त्रालयका सचिव डाक्टर कृष्णचन्द्र पौडेल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मेघबहादुर पाण्डे आइतबार पनि दिनभर चितवन राष्ट्रिय निकुञ्जमा नै सक्रिय हुनुभयो । उहाँहरुले अहिलेसम्म भए गरेका कामहरुका बारेमा अनुगमन गरी जानकारी लिनुभएको छ ।

वन मन्त्रालयका सचिव पौडेलले जुनसुकै विकल्प प्रयोग गरेर भएपनि धु्रवेलाई नियन्त्रणमा लिएर छोड्ने प्रतिबद्धता जनाउनु भएको छ । निकुञ्जको धु्रवे हात्ती नियन्त्रण अभियानमा भएका गतिविधिको स्थलगत अवलोकनपछि निकुञ्ज कार्यालयमा भएको सर्वपक्षीय छलफलमा उहाँले यस्तो प्रतिबद्धता जनाउनु भएको हो ।

हात्तीलाई नियन्त्रणमा लिनका लागि आवश्यक जनशक्ति परिचालन गर्न सैनिक हेलिकप्टरको समेत प्रयोग गरिएको निकुञ्ज स्रोतले बताएको छ । हेलिकप्टरबाट आइतबार मात्रै सैनिकको एक टोलीलाई बगई क्षेत्रमा लगेर छोडिएको छ । तर निकुञ्ज सुरक्षाका लागि तैनाथ नन्दा बक्स गणका गणपति कर्णेल चक्रबहादुर शाहले भने धु्रवेलाई नियन्त्रणमा लिनका लागि हेलिकप्टर प्रयोग नगरिएको दावी गर्नुभयो । आन्तरिक कार्यका लागि सैनिक हेलिकप्टर कसरा आएको पनि उहाँले स्पष्ट पार्नु भयो ।

यस्तै माडी क्षेत्रमा धु्रवेले आतंक मच्चाउने क्रम जारी राखेपछि स्थानीयलाई सुरक्षा दिनका लागि सशस्त्र प्रहरीलाई समेत परिचालन गरिएको छ । सशस्त्र प्रहरीको २० जनाको एक टोली अहिले माडीको बरुवामा रहेर स्थानीयको सुरक्षा गरिरहेको छ । 
 
ध्रुवेसँग सम्वन्धित अन्य समाचार पढ्न तल क्लिक गर्नुहोस ।  
 

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी