Tuesday, December 18, 2012

माडीमा हात्ती आतङ्क, आन्दोलन आक्रामक, अश्रुग्यास प्रहार

भरतपुर । जंगली हात्तीबाट जिउधनको सुरक्षाका लागि आन्दोलित स्थानीय बासिन्दाहरुले मंगलबार आगजनी र तोडफोड गरेका छन् ।

स्थानीयले चारवटै गाविसका मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा आगजनी गर्नुका साथै इलाका प्रहरी कार्यालयसमेत तोडफोड गरेका छन् । उनीहरुले कार्यालयका सम्पूर्ण कागजपत्रसमेत जलाएर नष्ट गरिदिएका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाले स्थिति तनावपूर्ण भएपछि तीन सेल अश्रुग्यास हानिएको बताउनुभयो । तर आन्दोलनरत स्थानीय बासिन्दाहरुले भने प्रहरीले आफूहरुमाथि दमन गरेको बताउँछन् । उनीहरु माडीमा आतङ्क फैलाइरहेको धुब्रे नामको जंगली हात्ती नमारेसम्म आफ्नो आन्दोलन जारी रहने पनि बताए ।

माडीको गर्दी गाविसमा शनिबार राति जंगली हात्तीको आक्रमणमा परी एक दम्पतीको मृत्यु भएपछि हात्तीको आतङ्कविरुद्ध माडीका बासिन्दा आन्दोलित भएका हुन् । उनीहरुको आन्दोलनलाई चितवनमा रहेका राजनैतिक दलहरुको पनि समर्थन रहेको छ ।

चितवनका क्रियाशील आठ राजनीतिक दलहरुले ध्रुबेलाई मंगलबार रातिसम्ममा नमारे बुधबार कडा आन्दोलन गर्ने बताएका छन् । उनीहरुले ध्रुबेको हत्या र पीडितलाई क्षतिपूर्तिको मागसहित मंगलबार भरतपुरको चौबीसकोठीमा साढे ३ बजेदेखि आधा घण्टा धर्ना दिएका थिए ।

एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी, नेकपा माले, राष्ट्रिय जनमोर्चा, राप्रपा र राप्रपा चितवनका प्रमुखहरुको मंगलबार बसेको संयुक्त बैठकले ध्रुबे नमारिए चितवन बन्द गर्नेसम्मको चेतावनी दिएका छन् । बैठक नेकपा एमाले जिल्ला कार्यालयमा बसेको थियो ।

माडीको गर्दीमा आफ्नै घरमा बसिरहेको समयमा शनिबार राति करिब ११ बजे निकुञ्जबाट निस्किएको हात्तीले गर्दी गाविस–९ का स्थानीय ६५ वर्षीय बुद्विराम बोट र उनकी श्रीमती जरिया बोटलाई आक्रमण गरी मारेको थियो । क्षतिपूर्तिसहितका माग पूरा नभएसम्म शव नउठाउने अडान स्थानीयको छ ।

गाविस कार्यलयमा राखिएको बोट दम्पतीको शव अझै उठाइएको छैन । आफूहरुको माग पूरा नभए आन्दोलनलाई भरतपुर केन्द्रित गरिने संघर्ष समितिले चेतावनी दिएको छ ।

माडी क्षेत्रमा आतङ्क फैलाइरहेको सो हात्तीलाई मार्न सातवटा टोली खटाइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीलाई उदृत गर्दै छुट्टाछुट्टै सातवटा टोलीलाई हात्ती मार्न खटाइएको एकीकृत नेकपा माओवादी चितवनका इन्चार्ज घनश्याम दाहाल अविनाशले जानकारी दिनुभयो ।

माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेका जिल्ला प्रमुखहरुले मंगलबार बिहान प्रमुख जिल्ला अधिकारी दवाडीलाई भेटी हात्ती मार्न ढिला सुस्ती भएको भन्दै गुनासो गरेका थिए । यसैबीच जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गरी चितवन राष्ट्रिय निकुञ्जभित्र आवतजावत नगर्न नगराउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

निकुञ्जभित्रको धु्रबे नामको हात्ती मार्नका लागि नेपाली सेना र निकुञ्जका कर्मचारीहरु खटिएकाले सुरक्षाका दृष्टिले निकुञ्जभित्र आवतजावतमा रोक लगाइएको सुचनामा उल्लेख छ । यसैबीच, जंगली हात्तीले सोमबार राति पनि माडीको गर्दी गाविसका दुई घरमा क्षति पु¥याएको छ ।

हात्ती नियन्त्रणका लागि कसराबाट खटिएको नेपाली सेनाको टोलीले दुबै स्थानमा पुगी पाँच राउण्ड हवाई फायर गरेकाले हात्ती जंगलतिर भागेको र थप क्षति हुन नपाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । यसैबीच राप्रपाका सह महामन्त्री विक्रम पाण्डेले राष्ट्रिय निकुञ्जले तत्काल उक्त ज्यानमारा हात्तीलाई नियन्त्रणमा लिई मानवको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्न माग गर्नुभएको छ । उहाँले पीडितलाई तत्काल उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गर्नुभयो ।

त्यस्तै मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति चितवन राष्ट्रिय निकुञ्जले हात्ती आतंकविरुद्ध माडीवासीले गरेको आन्दालनप्रति ऐक्यबद्धता जनाएको छ । समितिले विज्ञप्ति जारी गरी संघर्ष समितिले राखेका मागहरु छिटोभन्दा छिटो पूरा गर्न आग्रह गरेको हो ।

त्यस्तै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले पनि एक विज्ञप्ति जारी गरी गत आइतबार निकुञ्जमा भएको सर्वपक्षीय बैठकको निर्णय कार्यान्वयनको लागि सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको छ ।

त्यस्तै विज्ञप्तिमा बौलाहा हात्तीलाई अविलम्ब बध गर्न वा स्थायी नियन्त्रणमा राख्ने व्यवस्था मिलाउन निकुञ्ज प्रशासनसँग माग गरिएको छ ।


हात्ती मार्ने अनुकुल समय पर्खदै निकुञ्ज   

कसरा । ध्रुबे नामको जंगली हात्ती मार्न निकुञ्ज प्रशासनले चासो नदिएको भनेर जनआक्रोश बढेका बेला ध्रुबे मार्न जंगल गएका प्राविधिकहरु भने हात्तीलाई गोली हान्नु सोचेजस्तो सहज नभएको बताउँछन् ।

ध्रुबेको पिछा गर्दै चितवन निकुञ्जका नौवटा घरेलु हात्ती र ३० भन्दा बढी कर्मचारी सुरक्षाकर्मी आइतबारदेखि जंगलमै छन् । तर ध्रुबे आँखाअगाडि निकै कम देखा परेको छ । रेडियोकलरको संकेतका आधारमा पिछा गर्नुपरेको छ ।

‘रातको समयमा गाउँमा आसपासमा देखिन्छ । गोली हानी हाल्न गाह्रो छ’, हात्ती मार्न जंगलमा खटेका निकुञ्जका रेञ्जर विष्णु थपलियाले भन्नुभयो । ध्रुबे दिउँसो जंगलमा हुन्छ । जंगलमा झाडी र ठूला रुख बाक्लै भएकाले आँखाअगाडि देख्न सकिएको छैन भन्नुहुन्छ उहाँ ।

यसअघि सर्लाहीमा जंगली हात्तीलाई गोली हानेर मारिएको थियो । त्यो बेलामा नौ पटक गोली हान्न परेको थपलियाले बताउनुभयो । धेरै पटक गोली हान्नु पर्ने भएकाले बस्तीनजिक गोली हान्न नमिल्ने उहाँको भनाइ छ ।

‘हात्ती निकै आक्रामक र सक्रिय भएको देखिएको छ । एक पटक गोली हान्दैमा मर्दैन । पटकपटक गोली हान्नु पर्छ । बस्तीनजिक गोली हान्दा झनै आक्रामक भएर वितण्डा मच्चाउने सम्भावना हुन्छ’, थपलियाले भन्नुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता कमलजंग कुवँरका अनुसार कुनै बेला यस्तो हात्ती मार्न २० पटकसम्म गोली हान्नु परेको छ । त्यसैले गोली चलाइहाल्न नमिलेको उहाँले प्रष्ट्याउनुभयो ।

‘हामी हात्ती मार्ने आदेश नै लिएर आएका छौं । हात्ती मार्ने नै हो । तर उपयुक्त ठाउँ नभइकन गोली चलाउन मिलेन’, थपलियाले भन्नुभयो । जंगली हात्ती बहुलाएमा मान्छे मारेमा मार्न सकिने व्यवस्था राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा उल्लेख छ ।

शनिबार मध्यरातमा गर्दी वडा नं. ९ द्रोपतीनगरका वृद्ध दम्पतीको ज्यान लिएपछि कसरामा बसेको जिल्ला प्रशासन कार्यालय, निकुञ्ज, दल र मध्यवर्तीका प्रतिनिधिको बैठकले हात्ती मार्ने निर्णय गरेको थियो । हात्ती नमार्दासम्म लाश पनि सतगत नगर्ने अडानमा स्थानीय बसेका छन् ।

आइतबार दिनभर गाउँलेहरुले दम्पतीको लाश माडी वनकट्टामा राखेर प्रदर्शन गरेका थिए । त्यसपछि लाशलाई उनीहरुले गर्दी गाविसको कार्यालय भवनअगाडि राखेर आन्दोलन गर्दै आएका छन् । हात्ती मार्न प्रशासनले आलटाल गरेको स्थानीयको आरोप छ ।

ध्रुवेसँग सम्वन्धित अन्य समाचार पढ्न तल क्लिक गर्नुहोस ।
अन्ततः मारिने भयो ध्रुबे !
हात्ति मार्न १० बजे सम्मको अल्टिमेटम, संयमित रहनु निकुञ्जको अनुरोध गएराति फेरी दुई घरमा क्षति
टीयूटरमा ध्रवेको चर्चा, मलाई बचाउ:ध्रुवे  

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी