Tuesday, December 18, 2012

सदरमुकामकै विद्यार्थी बीचैमा पढाइ छाड्छन्

विधुर ढकाल
भरतपुर । भरतपुर नगर क्षेत्रभित्र विद्यार्थीहरुबीचैमा विद्यालय छाड्ने समस्या देखिएको छ । जिल्ला शिक्षा कार्यालयअन्तर्गतको लंकू श्रोत केन्द्रले दिएको तथ्याङ्कअनुसार यस्तो समस्या देखिएको हो ।

श्रोत केन्द्रका श्रोत व्यक्ति रामेश्वर न्यौपानेका अनुसार यस क्षेत्रका विद्यालयमा भर्ना भएका विद्यार्थीहरुमध्ये ११ दशमलब ७ प्रतिशतले बीचैमा विद्यालय छाड्ने गरेका छन् । लंकू श्रोत केन्द्रअन्तर्गतका ३४ सामुदायिक तथा ४९ संस्थागत गरी ८३ विद्यालयबाट उक्त संख्यामा विद्यार्थीहरुले विद्यालय छाड्ने गरेका हुन् ।

गत शैक्षिकसत्र २०६८ मा संस्थागततर्फ २६ हजार ६१४ र सामुदायिक विद्यालयमा १३ हजार ६९९ विद्याथीहरु भर्ना भएका थिए । बीचैमा विद्यालय छाडेर जाने विद्यार्थीहरु कहाँ गए भन्ने कुरा न त विद्यालयलाई नै जानकारी छ, न यसको तथ्याङ्क जिल्ला शिक्षा कार्यालयले नै राखेको छ ।

यस्तो समस्या नगर क्षेत्रमा बढी भएको श्रोत व्यक्ति न्यौपानेले बताउनुभयो । ‘यो समस्या भरतपुर नगरभित्रका विद्यालयहरुमा बढी छ, बीचैमा विद्यालय छाडेर जाने विद्यार्थीहरु कहाँ जान्छन् यसको जानकारी हामीलाई हुँदैन’, उहाँले भन्नुभयो । कहाँ जान्छन् भनेर कार्यालयले जानकारी राख्नुपर्ने भए पनि नसकिएको उहाँको भनाइ छ ।

‘नगर क्षेत्रका ८३ वटा विद्यालयहरुलाई निरीक्षण गर्नुपर्ने व्यक्ति एक जनामात्र छ, एक्लैले यसको तथ्याङ्क राख्न सकिएनँ’, श्रोत व्यक्ति न्यौपानेले भन्नुभयो, ‘जनशक्ति अभावका कारण तथ्याङ्क राख्न सकिएको छैन । विद्यालयलाई अब कहाँ जान्छ भनेर तथ्याङ्क राख्न भन्छौँ ।’

सहरी क्षेत्रमा धेरै विद्यार्थीका अभिभावकहरु डेरा गरेर बस्ने र बीचैमा छाड्ने कारणले पनि यो समस्या देखिएको न्यौपानेले बताउनुभयो । ‘धेरै बच्चाका अभिभावकहरु डेरा गरेर बसेका छन् । उनीहरुले अनुकुल हेरेर डेरा सरिदिँदा यो समस्या आएको हो’, उहाँले भन्नुभयो ।

यता, मंगलबार नै लंकू श्रोत केन्द्रमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको संयुक्त बैठक लक्ष्मी उच्च माविमा बसेको छ । बैठकमा जिल्ला शिक्षा कार्यालयले विद्यालयहरुलाई सार्वजनिक बिदाबाहेकका दिन बन्द नगर्न निर्देशन दिएको छ ।

बैठकमा बोल्दै जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले बिदा दिनै पर्ने अवस्था आए विद्यालय व्यवस्थापन समितिको निर्णय गराएरमात्र दिन निर्देशन दिनुभयो । उहाँले विद्यालयले परीक्षा तयारी बिदा पनि दिन नपाउने बताउनुभयो ।

साथै सबै विद्यालयलाई चैत्र १० भन्दाअगाडि कुनै पनि अन्तिम परीक्षा सञ्चालन नगर्न उहाँले निर्देशन दिनुभएको छ । कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी शर्माले विद्यालयका प्रअ शिक्षक तथा सरोकारवाला सबैले आफ्नो परिवारका निरक्षर सदस्यहरुलाई साक्षर बनाउन निर्देशन दिनुभएको छ ।

बैठकले जिल्ला शिक्षा कार्यालयले दिएको निर्देशनलाई पालाना गरेर अगाडि बढ्ने निर्णय गरेको छ । कार्यक्रम लक्ष्मी उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष शुस्मा सापकोटाको अध्यक्षतामा भएको थियो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी