Thursday, December 6, 2012

तालाबन्दीपछि प्रवेश परीक्षा स्थगित

नारायणगढ । कृषि तथा पशु विज्ञान अध्ययन सस्थान रामपुर डिनको कार्यालयमा तालाबन्दी भएपछि त्रिभुवन विश्वविद्यालयले २२ र २४ गते सञ्चालन गर्न लागेको कृषि र पशु चिकित्सासम्बन्धी प्रवेश परीक्षा स्थगित भएको छ । 

रामपुर, रुपन्देहीको पक्लिहवा र लमजुङको बेशीसहरका लागि त्रिविले प्रवेश परीक्षा लिने तयारी गरिरहेका बेला कृषि तथा पशु विज्ञान अध्ययन संस्थान डिनको कार्यालयमा तालाबन्दी भएको थियो । स्वामित्व हस्तान्तरणको विषयलाई लिएर चितवनका राजनीतिक दल र नागरिक समाजको सहयोगमा विद्यार्थी संगठनहरुले सो तालाबन्दी गरेका हुन् ।

ताला खोलेर प्रवेश परीक्षा लिने वातावरण बनाउन त्रिविबाट खटी आएको तीन सदस्यीय टोलीले बिहीबार कृषि तथा वन विश्वविद्यालय दबाब समूहको वार्तापछि प्रवेश परीक्षा स्थगित गरिएको डिन प्रा. नरेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो ।

केन्द्रबाट त्रिवि शिक्षाध्यक्षका सल्लाहकार सीताराम विष्टको नेतृत्वमा तीन सदस्यीय टोली चितवन आएको थियो । टोलीले विभिन्न पक्षसँग छलफल गरेको थियो । बिहीबार दबाब समूहको आयोजनामा नारायणगढमा बैठक सम्पन्न भएको थियो ।

राजनैतिक दलका प्रमुखहरुको सहभागिता रहेको सो बैठकमा त्रिविका प्रतिनिधिहरुले प्रवेश परीक्षा लिने वातवरण बनाइदिन आग्रह गरेका थिए । तर राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले त्रिविले कृषि तथा वन विश्व विद्यालयलाई स्वामित्व हस्तान्तरण नगरेसम्म आन्दोलन नरोक्ने चेतावनी दिए ।

राजनैतिक दलका प्रमुखहरुले त्रिविले अटेर गरेर स्वामित्व हस्तान्तरण नगरे डिनको कार्यालय हटाएर कृषि तथा वन विश्वविद्यालयको बोर्ड चितवनवासीले राख्ने चेतावनी पनि दिए ।

दबाब समूहका संयोजक रमेशकुमार पियाको अध्यक्षतामा सम्पन्न सो बैठकमा एकीकृत नेकपा माओवादीका चितवन संयोजक घनश्याम दाहाल, काँग्रेस चितवनका सचिव जीतनारायण श्रेष्ठ, एमाले अध्यक्ष जगन्नाथ थपलिया, नेकपा माओवादी इन्चार्ज शोभा कट्टेल, राप्रपा नेपालका अध्यक्ष बद्री तिमिल्सिना, राष्ट्रिय जनमोर्चाका अध्यक्ष मोहनमणि ढकाल, रामपुर क्याम्पस एल्मुनाइका अध्यक्ष मित्रराज दवाडीलगायतले प्रवेश परीक्षा रोकेर हस्तान्तरण प्रक्रियालाई सहज बनाउन माग गरेका थिए ।

त्रिविका प्रतिनिधिका रुपमा बैठकमा त्रिवि शिक्षाध्यक्षका सल्लाहकार सीताराम भट्ट, सहप्रध्यापक उदय सिलवाल र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक गंगाबहादुर थापा सहभागी हुनुहुन्थ्यो ।
प्रवेश परीक्षा स्थगित भएसँगै थुप्रै विद्यार्थीहरु अन्यौलमा परेका छन् ।
 

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी