Wednesday, January 2, 2013

माडीमा हात्ती आतङ्क कायमै, आज तीन घर भत्कायो

भरतपुर । चितवनको माडीमा आज बिहीबार बिहान फेरि जङ्गली हात्तीको आतङ्क फैलिएको छ । हात्तीले माडी अयोध्यापुरीस्थित प्याउली भन्ने स्थानमा आज बिहान तीन घर भत्काउनुका साथै घरमा भएको अन्न नष्ट गरेको स्थानीयवासीले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार  हात्तीले माडी प्याउलीका सावित्री सापकोटा, किरण सापकोटा र कुमार तामाङको घर राति २ बजेको समयमा भत्काएको हो । क्षतिको एकिन जानकारी भइनसकेको प्रहरीले जनाएको छ ।     दुई वर्षअघि पनि हात्तीले आक्रमण गर्दा माडीको सोही गाउँमा एकजनाको ज्यान गएको थियो भने तीनजना घाइते भएका थिए । उनीहरुमध्ये एकजना घाइते अझै उपचाररत नै छन् ।

अहिले सो क्षेत्रमा जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । बिहान भने हात्ती जङ्गल पसेको र कुनै पनि बेला हात्ती आउनसक्ने भन्दै स्थानीय त्रसित भएका छन् ।

यसअघि अयोध्यापुरीमै हिजो र अस्ति गरी हात्तीले चार घर भत्काएको थियो । माडी क्षेत्रमा दैनिकजसो हात्ती आतङ्क फैलिरहेको भन्दै स्थानीयवासीले हात्ती नियन्त्रण गर्न चितवन निकुञ्जसँग माग गर्दैआएका छन् । निकुञ्जमा रहेको ध्रुवे नामको हात्तीले आतङ्क मच्चाइरहेका बेला अन्य हात्ती पनि पटकपटक बस्तीमा पसेर घर भत्काउँदै आएका छन् ।

हात्ती आतङ्क बढेपछि गत सातादेखि माडीमा २० जना सशस्त्र प्रहरीसमेत परिचालन गरिएको छ । यता निकुञ्जले भने ध्रुवे हात्तीको खोजी जारी रहेको जनाएको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी